शुक्रबार, बैशाख १४, २०८१

अग्रगमनको पक्षधरबाट मध्य मधेश प्रस्ताव हुनु प्रतिगामी सोचको उपज

-चन्द्र भुषण साह-

प्रदेश नं . २ को नामकरण मधेश राष्ट्रिय मुक्तिको आधारका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको भूगोललाई आधार मानेर मध्य मधेश राख्नु तत्कालीन राजा श्री ५ महेन्द्र शाह भन्दा पनि संकीर्ण र प्रतिगामी रहेको पाईन्छ ।   तत्कालीन राजा महेन्द्रको समयमा पाँच विकास क्षेत्रको परिकल्पना गर्दा षडयन्त्र पूर्वक जसरी पूर्वमा एउटा मात्र पूर्वाञ्चल विकास क्षेत्र र पश्चिममा सुदूरपश्चिम, मध्य पश्चिम र पश्चिम गरि तिन ओटा विकास क्षेत्रको अवधारणा अगाडी सारेर काठमाडौंलाई केन्द्र बिन्दु बनाउन मध्य पूर्वी विकास क्षेत्र हुनुपर्ने स्थानलाई सोझै मध्यमाञ्चल बिकाश क्षेत्र घोषणा गरिएको थियो ।

जसको परिणाम पश्चिम नेपालको बन्धुमा  देशको सरकारले मात्र नभई सूर्य समेत पश्चिममा ढिलो उदाउने गर्छ् भन्ने आशयको दुखद एवं निरसावादी मनोविज्ञान स्तापित हुन् पुगेको तथ्य कसैबाट लुकेको छैन ।  फलस्वरुप काठमाडौं सरकारी प्रशासन र अन्य सबै किसिमको सेवा सुबिधाको सहज उपलब्धताले पावरमाण्डतथा शासकको केन्द्रको रुपमा स्तापित हुन् पुग्यो भने अन्य क्षेत्र तुलनात्मक रुपमा उपेक्षामा रहन बाध्य भए । यस किसिमको भौगोलिक एवम् राजनितिक विभेदको अन्त्यको निम्ति देशमा भएको जनविद्रोहको परिणाम बिकेन्द्रिकृत शासन प्रणाली, संघीयता, पहिचान र गणतन्त्रको स्थापना भएको छ । यद्यपि चाटुकार शासकको मनोविज्ञानमा खासै परिवर्तन नदेखिनु दुखद हो ।

विशेष गरि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना अघि समग्र तराई- मधेशको भूगोल र स्थापना पश्चात मूलतः दुई नं. प्रदेश नेपाली राजनीतिक तरंगको केन्द्र विन्दुमा रहेको पाइन्छ । पछिल्लो समयमा केहि सामाजिक एवम् राजनीतिक अभियानी, राजनीतिकर्मी, स्वतन्त्र युवा, नागरिक समाज, बुद्दिजिबि तथा पत्रकार माझ प्रदेशको नामकरण एकदमै चर्चा र चासोको बिषय बन्न पुगेको छ । प्रदेश नं.दुईका केही व्यक्ति तथा समूहले प्रदेशको नामकरण भाषा, सांस्कृति र एतिहासिक धरोहरको नाममा (मिथिला, बज्जी, भोजपुरा, विदेह, जनक, मिथिला, भोजपुरा) हुनुपर्नेमा जोड दिईरहेका छन् भने केहीले यो उपलब्धि मधेश विद्रोहको जगमा भएकोले गर्दा सम्पूर्ण सहिदहरूको सम्मान र सपना संग जोडेर समग्र मधेश राष्ट्रिय मुक्ति र संघर्षको भबिस्यको निम्ति मधेश र मध्य मधेश जस्ता विकल्पहरुमा विशेष जोड़ दिईरहेको पाईन्छ ।

माथि उल्लेखित सबै नामको आ-आफ्नो विशेष गरिमा र स्वामित्व रहेको कुरालाई नकार्न सकिन्न ।  यद्यपि पछिल्लो समय विशेष चर्चा र बहसमा रहेको नाम  मध्य मधेश  जानेर होश अथवा नजानेर महेन्द्रीय सोच भन्दा थप प्रतिगामी रहेको कुरालाई नकार्न कदापी मिल्दैन । किनभने  मध्य मधेश नामको वकालत गर्ने व्यक्ति तथा समूह समग्र मधेशको राष्ट्रिय पहिचान-मधेशी, थारु, मुस्लिम, पहाडी  सहिदको सपना र सम्मान तथा मधेशको भाबी राजनितिक विमर्श जीवितै राख्नुको साथै पुर्वान्चलको झापादेखि सुदूरपश्चिमान्चलको कैलालीसम्मको साझा स्वामित्वलाई स्वीकार गर्ने तर्क प्रस्तुत गर्ने गरेको पाईन्छ ।  तर विडम्बना राजा महेन्द्रको षड्यन्त्रकारी संरचनाको पूर्वान्चलका केहि जिल्लाहरु समेत सम्मिलित प्रदेश नं. दुईको नाम केहि प्रगतिशील परिवर्तनमा विश्वास गर्ने अग्रगमनको पक्षधर व्यक्ति तथा समूहबाट मध्य मधेश प्रस्ताव हुनु चेतनाको अभाव हो । जानीजानी नयाँ षड्यन्त्र जे भएपनि यो एउटा समानतामा विश्वास गर्ने सचेत व्यक्ति तथा समूहको लागि दुखद दुर्भाग्यको बिषय बन्न पुगेको छ । बरु यसको सट्टा मध्य पूर्वी मधेश नामाकरण गर्न सकेको खण्डमा माथि उल्लेखित उपलब्धिको साथसाथै पुर्व मेचीदेखि पश्चिममहाकाली सम्मको मधेश र मधेशी पहिचान पक्षधर प्रति सहि सम्मान र न्याय हुनसक्छ ।  अन्यायपूर्ण तथा आ-आफ्नो निजि स्वार्थ सिद्ध गर्ने मनसायबाट अभिप्रेरित निर्णय लादनु भन्दा पहिले सम्पूर्ण सरोकारवाला व्यक्ति तथा संस्थालाई थप जिम्मेवारीका साथ यस प्रस्तावित निर्णयप्रति गम्भीरताका साथ चिन्तन मनन र बहस आवश्यक देखिन्छ ।  ईश्वरपुर-२,सर्लाही (हाल काठमाडौं)  

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।