शनिबार, बैशाख १५, २०८१

महेन्द्र र विपी जस्तो राष्ट्रिय सपुतको खाँचो

-एल डि खड्का-

दृढ संकल्प भए एक ब्यक्तिले नै इतिहास निर्माण गर्न सक्छ । खै भिजनरी नेता?  नेपाललाइ नेपाल बनाउँने हो भने महेन्द्र र विपी जस्तो देश प्रति उच्च सम्मान, भाव भएका सपुतको राष्ट्रलाई खाँचो छ।

राम शाह पछिका शाह वंशीय राजामा सत्र बर्ष राज्यको बागडोर सम्हालेका राजा महेन्द्र न्यायप्रेमी,बिकासप्रेमी राजामा अब्बल ठहरिए। म मरे पनि मेरो देश बाचि रहोस् भन्ने उक्ति यथार्थमा सार्थक भएको पाइन्छ। बेथिति र बिसङतिलाई चिरेर नेपाललाई उन्नति र विकास पथमा अग्रसर बनाउने राजा महेन्द्रको बिनम्रता र शालिनताले स्वदेश तथा बिदेशमा ख्याती कमाएको थियो। मातृभूमिप्रति प्रेम अनि सेवाभाव रहेको थियो।

देशको स्वतन्त्रता ,राष्ट्रियता र प्रजातन्त्र कुनै ब्यक्ति या दलको पेवा हैन, यो नेपाली मात्रको पुँजी हो अत प्रजातन्त्रको फाइदा सबै नेपालीले पाउन पर्छ।बिश्वास तथा डर रहित र बिस्वास तथा सद्भावना साथ असल छिमेकी भै सहिष्णुता अपनाई बस्नु हो भन्नु पन्चशिल वा सहअस्तित्वका पाँच सिद्धान्तको सार पनि यहि हो। असंलग्न नितिले कुनै शक्ति गुट्को पक्ष लिने प्रश्न नै उठ्दैन भन्ने दर्शन, सिधान्त र आदर्शको मार्ग राजा महेन्द्रमा थियो।

नेपाललाई सयुक्त राष्ट्र संघको सदस्य बनाए। चीन, अमेरिका,बेलायत लगायत बिभिन्न मुलुक संग दौत्य सम्बन्ध स्थापना गरे। महेन्द्रको अदम्य साहस र कार्यले गर्दा आज हामी नेपालका नेपाली भनेर चिनिएका छौ,अन्यथा तिब्बत र सिक्किम बनिसकेको हुन्थ्यो। शिक्षा ,स्वास्थ्य ,सञ्चार ,यातायातका अलावा सनातन,बौद्ध र प्राचीन धर्मको संरक्षण मात्रै होइन कि कलासाहित्य र संगितको उत्थानका लागि प्रबासी नेपालीलाई बोलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ,सास्कृतिक संस्थान ,ललितकला क्याम्पस आदि निर्माण गरेर अतुलनिय योगदान दिए। सनातन धर्म, बौद्ध र प्राचीन धर्मको संरक्षक सरकार हो। बिडम्बना भन्नू पर्छ ८२ प्रतिशत जनता सनातन धर्म मान्छन तर पनि बिश्वको एक मात्र हिन्दु राष्ट्र भएको मुलुक आज धर्म निरपेक्ष छ।

त्यस्तै मुलुकमा सरकार निर्माण र विघटन बिदेशीले गर्छन भनेर दलीय नेतालेनै दिने गरेको अभिव्यक्तिका कारण गणतन्त्रमाथि ग्रहण लाग्दै आइरहेको छ । जनमत विरुद्ध पश्चिमाको पैसामा बिकेका एकाध नेताका कारण मुलुकमा बढ्दो बिदेशीको हस्तक्षेपसंगै ६५ भन्दा बढी स्थानमा विद्यमान सिमा विवाद बैज्ञानिक सिमा नक्साङकन , रेखांकन गरि विबाद वार्ताको माध्यमबाट सुल्झाउन पर्ने कुरा सम्म गर्न सक्दैनन हाम्रा नेताहरु ।  राष्ट्रियता ,राष्ट्रिय स्वाभिमान ,बिकास,शान्ति,एकता र राष्ट्रको अस्तित्व रक्षाका लागि राजा महेन्द्रको योगदनबट प्रेरणा लिएर अघि बढ्न सकेको भए नेपाल समृद्ध हुनेथियो।

एउटा कुशल चिकित्सकले हजारौं बिरामीको उपचार गर्ला, इन्जिनियरले गुणस्तरीय पूर्बाधार निर्माण गर्ला तर एउटा सक्षम नेताले सिङ्गो राष्ट्रलाई एउटै धागोमा उन्न सक्छ साथै बिश्व राजनीतिमा प्रभाब जमाउन सक्छ। उदाहरणका लागि मण्डेला,महाथिर,लि क्वान यु,गान्धी,केनडी,माओ,पृथ्वीनारायण,महेन्द्र,मोदी जस्ले इतिहासमा स्वर्ण अक्षरले नाम लेखाईसकेका छन। संस्था र ब्यक्ति फरक पाटो हो। महान भनिएका ब्यक्तिहरु पनि सर्बगुण सम्पन्न हुदैनन् ।

माथी उल्लेख गरिएका हस्तीहरुको पनि कमि कमजोरी थिए। जुद्ध शम्शेर कै समयमा मृत्यु दण्ड कानुनबाट निषेध भइसकेको अवस्थामा समेत उनैले १९९७ मा धर्मभक्त, गङ्गालाल, दशरथचन्द र शुक्रराज शास्त्रीलाई फाँसी दिए। राजा महेन्द्रले पनि दुर्गानन्द झा लाई मृत्यु दण्ड दिए भने जगतप्रसाद शाह लगायत लाई चितवनमा मारेको घट्नाले जुद्ध शम्सेर कै सिको गर्दै क्रुरता देखाएको मान्न सकिन्छ।

२०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बिपीको सरकारलाई अपदस्त गरि सत्ताको बागडोर सम्हाले पश्चात् काङ्ग्रेस कै बिश्व बन्धु थापा,डा. तुलसी गिरि ,ऋषि केश शाह साथ लिई सरकार निर्माण गरेका भएता पनि एजेन्डा चाहिँ बिपीकै आत्मसात गरेको मान्न सकिन्छ। एजेन्डा ,भिजन बिपीकै भए पनि राजा महेन्द्र्को राष्ट्र प्रेम र विकास प्रतिको लगाव तारिफयोग्य रहेको छ । समग्रमा नेपाललाइ नेपाल बनाउँने हो भने महेन्द्र र विपी जस्तो देश प्रति उच्च सम्मान, भाव भएका सपुतको राष्ट्रलाई खाँचो छ।

दृढ संकल्प भए एक ब्यक्तिले नै इतिहास निर्माण गर्न सक्छ। बिश्व इतिहासमा यस्ता थुप्रै उदाहरण छन। गणतन्त्रले खासै उपलब्धी हासिल गर्न सकेन। पहिले भएको एक राजालाई घाँडो सम्झियो। अहिले छोटे राजाहरुले विध्वंस मच्चाउन थालेसंगै सयौं राजा पाल्नु भन्दा बरु एउटै राजा ठिक थिए भन्ने जन आवाज बलियो बन्दै छ।

प्रस्तुत विचार लेखकको नितान्त निजि विचार हो – स