आइतवार, बैशाख २३, २०८१

छिन्नलता गीत पुरस्कारको घोषणा

काठमाडौं बैशाख १३,
छिन्नलता गीत पुरस्कार गुठीले २०७९ /२०८० को छिन्नलता गीत पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको छ । गुठीका सभापति प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न साधारणसभाले २०७९ / २०८० का गीत पुरस्कारहरु एकै पटक प्रदान गर्ने निर्णय गरेको हो ।

२०७९ सालको छिन्नलता गीत पुरस्कारहरुमा गीत रचनामा भूषण खरेल, संगीत रचना मनराजा नकर्मी, गायक शिव परियारलाई जनही एक÷एक लाख पुरस्कार वितरण गर्ने निर्णय गरिएको छ भने लोकप्रिय युवा प्रतिभा पुरस्कारमा मेनुका पौडेल परेलीमा बसुँ कि, कलेजीमा बसुँ बोलको गीतलाई पचास हजार पुरस्कार दिने निर्णय गरिएकोछ ।

त्यसैगरी २०८० को पुरस्कार गीत रचनामा वीरेन्द्र पाठक, संगीत रचना चण्डी काप्mले, गायिका मनिला सोताङलाई एक/एक लाख रुपैयाँ तथा लोकप्रिय युवा प्रतिभा पुरस्कारमा भुपु पाण्डेलाई झट्ट हेर्दा हजुर जिन्दगी दामी छ भन्ने गीतलाई पचास हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको छ ।

२०७९ अघि ५० हजार रुपैयाँ पुरस्कार राशि रहेकोलाई एक लाख र ३५ हजार रुपैयाँ पुरस्कार राशि रहेकालाई ५० हजार पुर्याइएको पनि गुठीले जनाएको छ । उक्त पुरस्कारहरु गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह “छिन्नलता” को जन्ममिति आगामी हरिशयनि एकादशी साउन २ गतेका दिन काठमाडौंमा वितरण गर्ने गुठीले जनाएको छ ।

छिन्नलता गीत पुरस्कार यसअघि क्रमस निर शाह, किरण खरेल ,अम्बर गुरुङ,नारायणगोपाल गुरूवाचार्य,नातिकाजी, दिनेश अधिकारी,क्षेत्रप्रताप अधिकारी,तारादेवी,कोइलीदेवी,ज्ञानु राणा,कुन्ती मोक्तान,पशुपति शर्मा,राजेश पायल राई,रामकृष्ण ढकाल,भीम विराग,ताहिरा निगत नैयर,दैवज्ञराज न्यौपाने,गणेशप्रसाद श्रेष्ठ,भक्तराज आचार्य,राममान तृषित,भैरवनाथ रिमाल कदम,पशुपति शर्मा,सीता केसी,प्रकाश सपुत,शान्तिश्री परियार लगायतले प्राप्त गरिसक्नु भएको छ।