सोमवार, बैशाख १७, २०८१

सम्पादक दवाडीलाई ज्यान मार्ने धम्की , धम्की दिने भण्डारी र खड्कालाई तत्काल कारबाहीको माग सहित सञ्चार सम्वद्ध संस्थाद्दारा भत्सर्ना

 काठमाडौं जेठ ९, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाई सोमबार नयाँ विकल्प साप्ताहिकमा प्रकाशित र नयाँ विकल्प डट कममा प्रशारित समाचारको बिषयलाई लिएर झापास्थित गौरादह नगरपालिका वार्ड नं एकका वडा अध्यक्ष नगेन्द्र भण्डारी र स्थानिय सडक उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खड्काले ज्यान मार्ने धम्की दिइएको छ ।

‘अर्थमन्त्रीको गृह नगरमै अनियमितता छचल्कियो’ भन्ने समाचारमा गौरादह बजारदेखि बैगुनधुरा जाने सडक पिच गर्नको लागि ग्राभेल नगरेको र पुरानो पिचमाथि बालुवा हालेर सडक पिच गर्न खोजेपछि स्थानीयले बिरोध गरेको बिषयमा समाचार प्रकाशित भएपछि आत्तिएका वडा अध्यक्ष भण्डारी र उपभोक्ता समितिका अध्यक्ष खड्काले सम्पादक दवाडीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

पूर्वसभासद दिपक कार्की र वडा अध्यक्ष भण्डारीले समाचारको स्रोत खोल्न दबाब दिँदै समाचारको स्रोत नखोले र संवाददाताको पहिचान नखोले राम्रो नहुने भन्दै धम्क्याएको दवाडीले बताएका छन्। खड्काले ‘राजा ज्ञानेन्द्रलाई त फालियो, तिमीहरु जस्ता पत्रकारलाई कहाँ फाल्नु पर्छ, हामीलाई थाहा छ । एक महिना भित्र काठमाडौं आएर देखाई दिन्छौं’ भनेर ज्यान लिने समेत धम्की दिएका हुन् ।

यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव  श्रीजन झाले विज्ञप्ति जारी गर्दै समाचार प्रकाशन भएकै आधारमा समाचार संस्थाहरुमा फोन गरि सम्पादक तथा पत्रकारको ज्यान लिने धम्की दिने कार्यप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा घटनाको भत्सर्ना सहित स्वतन्त्र प्रेसमाथिको नाङगो प्रहार र कानुनी राज्यको उपहास तत्काल रोक्न र आफ्नो कर्तुत लुकाउन पत्रकारहरुलाई धम्क्याउने कार्य बन्द गर्दै पत्रकारको ज्यान लिने धम्की दिने भण्डारी र खड्कालाई तत्काल कानुन बमोजिम कारबाही सहित पत्रकार दवाडीको जीउधनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।