सोमवार, बैशाख १७, २०८१

समाचार साभार नगर्न काउन्सिलको ध्यानाकर्षण

काठमाडौं जेठ १,   प्रेस काउन्सिल नेपालले बिनाअनुमति तथा विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार र समाचार सामग्री साभार नगर्न/नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ ।  काउन्सिलका सूचना अधिकारी दीपक खनालले सोमवार जारी गरेको ध्यानाकर्षण पत्रमा कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताकोतस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति  लगायतका माध्यमबाट पर्ने गरेको उल्लेख गरिएको छ ।  

त्यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको जनाउँदै यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता जगत्प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको काउन्सिलको ठहर रहेको जिकिर गरिएको छ ।

साथै प्रेस काउन्सिलको पछिल्लो अनुगमन र अभिलेखअनुसार समाचार सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएको जनाउँदै यस्तो कार्य पत्रकार आचारसंहिता २०७३ विपरीत रहेको जनाउँदै  पत्रकार आचारसंहिता २०७३ को दफा ८ (२)अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपभोग गर्दा मूल स्रोत उद्धृत गरी पुनःप्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।