सोमवार, बैशाख १७, २०८१

सञ्चारमन्त्री बाँस्कोटाको अभिव्यक्ति आपत्तिजनक : महासंघ

काठमाडौं असोज १९ , नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्को विकास समितिमा पत्रकार र सञ्चारकर्मीविरुद्ध आक्षेप लगाउँदै दिएको अभिव्यक्ति सहित सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी सबै मन्त्रालय, तिनका निकायहरु तथा संवैधानिक निकायहरुमा गरेको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा समितिको असोज १८ गते बसेको बैठकमा मन्त्री बाँस्कोटाले आफू र सरकारविरुद्ध जथाभावी लेखेको भन्दै अभद्र ढंगले प्रस्तुत हुनुको अलावा आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक रहेको जिकिर गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउन’ु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको भन्दै जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आउँनु आफैमा लज्जाको विषय भएको भन्दै महासंघले मन्त्रीको अभिव्यक्तिको कडा शब्दमा भत्र्सना गरेको छ ।

त्यस्तै सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेको बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको भन्दै महासंघले सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर दिनु भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर रहेको बताएको छ । साथै महासंघले सिंगो प्रेसजगत्प्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न र सबै सञ्चारमाध्यमप्रति समान व्यवहार देखाउन सरकारसँग जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।