शुक्रबार, बैशाख १४, २०८१

प्रदेश ,स्थानीय सरकार र साझा यातायातवीच बिजुली बस सञ्चालन गर्ने सहमति 

साझा यातायातलाइ प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरको तर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख लगानी जम्मा गरेर एकमुष्ठ विजुली बस किन्न ४५ करोडबाट बिजुली बस खरिद गर्ने

काठमाडौं असार १६ , नगरहरुलाई धुँवा धुलोमुक्त बनाउने लक्ष्य सहित काठमाडौंमा बिजुली बस चलाउन साझा यातायात प्रा. लि. मा करीब ४५ करोड रुपैयाँको शेयर लगानी थप हुने भएको छ । प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरकातर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी थप गरेर एकमुष्ठ ४५ करोड रुपैयाँबाट बिजुली बस खरिद गरिने भएको  छ   ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘युरो ४ मापदण्डका सहरी बस सेवा शुभारम्भ र बिद्युतीय बस सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर’ कार्यक्रममा हस्ताक्षरपछि प्रदेश नं. ३ का तर्फबाट ३० करोड रुपैयाँ हस्तान्तरण गरियो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस्तै त्यस अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोही प्रयोजनका लागि २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ  ।

कार्यक्रममा, काठमाडौं महानगरको ५ करोड तथा ललितपुर महानगरको १ करोड रुपैयाँ शेयर लगानीबाट प्राप्त भएको रकमबाट २० वटा युरो ४ मापदण्डका २० वटा सहरी सवारी सेवा पनि शुभारम्भ गरियो । मुख्य मन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, साझा यातायात प्रा. लि. सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितसहित प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुले संयुक्त रुपमा रिवन काटेर सेवा सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले, बिद्युतीय रकम भुक्तानी (इपेमेन्ट) का लागि ‘यात्रा कार्ड’ को शुभारम्भ गर्नुभयो भने काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले जारी गरेको ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गर्नुभयो ।

बिजुली बस सञ्चालन गर्ने सहमतिपत्रमा प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गर्नुभएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।