सोमवार, बैशाख १७, २०८१

नेपाली चेलीलाई खाडी मुलुक पठाउन मानव तस्करहरू बढ्दो सक्रियता ,दिल्लीमा २८ नेपाली महिला बन्धक

 काठमाडौं कार्तिक ७, आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।  घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ । २१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् ।

प्रहरीका अनुसार उनीहरूलाई जबर्जस्ती बन्धक बनाइएको थियो । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको दाबी गरेको छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । घटना पछाडि मानव तस्करी गिरोहको मुख्य नाइके दिल्लीमै रहेको आशंकासमेत प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  विदेश पठाइदिने भन्दै नेपाली महिलालाई दिल्लीमा बन्धक बनाइएको यो पहिलो घटना भने होइन । यसअघि ८ साउनमा पनि नयाँदिल्लीकै मुर्निकाबाट इराक र दुबई पठाइदिने भन्दै बन्धक बनाएर राखिएका १६ नेपाली युवतीको उद्धार गरिएको थियो । नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ सालमा निर्देशिका जारी गर्दै प्रतिबन्ध लगाएको थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीका गिरोहले भारतका दिल्लीलगायतका विभिन्न सहरबाट नेपाली युवतीलाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउँदै आएका छन् । त्यसका लागि विशेषगरी सडकमार्ग हुँदै युवतीलाई दिल्लीलगायतका सहरमा पुर्‍याउने गरिएको छ । अधिकांश भिजिट भिसामा जाने गरेका थिए ।  यो क्रम बढेसँगै नेपाल सरकारले भारतका सहरबाट विदेश जान खोज्ने नेपालीलाई भारतस्थित नेपाली दूतावासबाट जारी भएको एनओसी अनिवार्य गरेको छ । एनओसी अनिवार्य गरे पनि कहिले नक्कली एनओसी त कहिले भारतका दिल्लीलगायतका एयरपोर्टमा ‘सेटिङ’ मिलाएर नेपाली चेलीलाई खाडी मुलुक पठाउन मानव तस्करहरू सक्रिय छन् । कान्तिपुरबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।