आइतवार, बैशाख १६, २०८१

झापामा दुर्घटना न्यूनीकरण महाअभियान, हजार चालकलाई सम्मान

बिर्तामोड असोज २, झापामा मंगलबार दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको छ ।  पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक प्रहरीसँगै स्थानीय आयोजकको भूमिका नविन युवा क्लवले निर्वाह गरेको थियो । महाअभियानमा जिल्लाका ५० बढी सक्रिय सामाजिक संस्थाले सहभागिता जनाएका थिए ।

महाअभियानमा विभिन्न एक हजार सवारीसाधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो । त्यसक्रममा सबै चालकलाई ‘आजका दिनसम्म राम्रोसँग गाडी चलाउनुभएकोमा धन्यवाद छ । अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउनु हुन अनुरोध छ’ –भनी सम्मानसहित सकारात्मक प्रेरणा दिइएको थियो ।  त्यस्तै, कार्यक्रममा चेतनामुलक विभिन्न नारा लेखिएका तीन हजार स्टीकर टास्नुका साथै ५० हजार पर्चा वितरण गरिएको थियो । महाअभियान अन्तर्गत नै दुर्घटना न्यूनीकरणका लागि चेतनामुलक सडक कविता प्रतियोगिता समेत आयोजना गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको महाअभियानको उद्घाटन १ नम्बर प्रदेश का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले गर्नुभएको थियो । त्यस अवसरमा  प्रमुख अतिथी रिजालले चालकहरुलाई सम्मान गर्दै गाडीमा स्टिकर समेत टाँसेका थिए ।   कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न यो महाअभियान प्रभावकारी भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।