शुक्रबार, बैशाख १४, २०८१

विद्युतिय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भुमिकामाथि प्रश्न उठेको युनियनको जिकिर

 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियनद्दारा काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल

काठमाडौं असार १४ ,नेपाल प्रेस युनियननले प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई गम्भिरतापूर्वक नियालिरहेको जनाएको छ। प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय नभएको भन्दै यसबीचमा आम नागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुनु दुखद अवस्था भएको बताएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुख थुन्ने हतियारको रुपमा प्रयोग हुँदै आएको विद्युतिय कारोवार ऐनका कारण प्रहरीले कार्वाही गर्ने अवस्थाबाट सञ्चारकर्मी र सञ्चारमाध्यका बिषय प्रेस काउन्सिलमा ल्याउने बारेमा विगतमा प्रेस काउन्सिलको भुमिका सह्रानिय रहेको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काउन्सिलका नेतृत्व तथा पदाधिकारीहरुको भुमिकाको हामी सम्मान गर्दैगर्दा केहि दिनयता नेपाली जनमत नै बाँडिने गरि प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरुले हामीलाई गम्भिर बनाएको जिकिर गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा प्रेस युनियन प्रेस काउन्सिललाई वदनाम गराउने कुराको पक्षमा छैन भने कुनै पनि अर्थमा अराजकताको समर्थन पनि गर्दैन। यसको अर्थ शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट रहेको छ। यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशिल पत्रकारहरु र आम नागरिकहरुलाई उनीहरुले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भिर भएका छौ। सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा समेत नयाँ रहेको हाम्रो समाजमा सबै बिषयको हल प्रहरी प्रसासनको वलमा खोज्ने र तिनलाई विद्युतिय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भुमिकामाथि प्रश्न उठेको छ।   सरकार समेत काउन्सिल तथा यसको नेतृत्व तहलाई प्रयोग गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै निर्देशित लोकतन्त्रतर्फ उद्यत भएको होकी भन्ने आशंका पैदा भएको छ। सामाजिक सञ्जालमा ब्यक्त अभिव्यक्तिसँग जोडिएका सबै बिषयलाई विद्यतिय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले हामीलाई सहि बाटोतर्फ लैंजादैन भन्नेमा युनियन दृढ छ। तसर्थ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियन काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।