शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक:  प्रम ओलीको चीन भ्रमण नेपालको लागि उपलब्धीपूर्ण भएको ठहर

  •  मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्षको पहिचान 
  •  बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसद्मा पेश गर्न स्वीकृती 
  •  वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ र कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत

काठमाडौ असार १४,  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै गनुृ भएको मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्षको पहिचान गर्दै सम्पन भ्रमण नेपालको लागि उपलब्धीपूर्ण भएको जनाएको छ ।  सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार आजको बैठकले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गर्नुको अलावा कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत समेत गरेको जानकारी दिनु भएको छ ।

त्यसैगरी, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसद्मा पेश गर्न स्वीकृत गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ भने कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।