शनिबार, बैशाख १५, २०८१

काँग्रेस केन्द्रीय समिति : राष्ट्रियसभा सदस्य उम्मेदवारी र निर्वाचनको तयारीमा केन्द्रीत

पार्टीको आगामी रणनीति तय गर्न पार्टीको महासमिति बैठक आव्हान गरिने

काठमाडौ माघ ४ , नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । मुलत आजको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकको प्रारम्भमा उहाँले सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको जिकिर गर्नु भएको बुझिएको छ । साथै उहाँले पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न पार्टीको महासमिति बैठक आव्हान गरिने भन्दै माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्नेमा जोड दिनु भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिनु भएको छ ।

आजको बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयको समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राख्नुभएको थियो भने पार्टी नेताहरू विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायतले पार्टीको रुपान्तरण आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।