मङ्लबार, बैशाख १८, २०८१

अपहरणकारीको मागअनुसार फिरौती रकम बुझाए पनि छोरा फिर्ता भएनन

काठमाडौं साउन १०,  एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।
अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।

भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो ।

ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो । घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ ।

गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते ९मंगलबार० अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको पोखरिया नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ बस्ने रामप्रवेश साह गोढलाई साउन ७ गते पक्राउ गरेपछि अंकित हत्याको रहस्य खुलेको हो । फिरौती रकम माग गर्न प्रयोग गरिएको भारतीय फोन नम्बरको आधारमा साहलाई पक्राउ गरिएको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका साहको बयानपछि बालकको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो । साहले फिरौती रकम लिएपछि अंकितको हत्या गरी पर्साको जगरनाथपुरस्थित गण्डक नहरमा बोरामा हालेर शव फालेको बयान दिएका थिए । साहको बयान अनुसार असार ३२ गते अंकितको हत्या गरी शव फालिएको थियो ।  गुप्ता परिवारले असार ३० गते बेतिया पुगेर फिरौती बुझाएका थिए । फिरौती लिएको दुई दिनपछि अंकितको हत्या भएको हुन सक्ने बताइएको छ । बारा प्रहरी भने गण्डक नहरमा भेटिएको शवबारे अनविज्ञ रहेको थियो । एकअर्कासँग जोडिएको बारा र पर्साका दुई सुरक्षा निकायबीचको समन्वयको अभाव अनुसन्धानमा देखिएको छ ।

करिब डेढ महिनादेखि जीतपुरबाट बालक अपहरणमा परेको विषयमा जानकार पर्सा प्रहरीले बालकको बेवारिसे शव भेटेपछि बारा प्रहरीसँग समन्वय समेत नगरेको देखिन्छ । अपहरणमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्रै अंकितको शवसम्म बारा प्रहरी पुगेको हो ।  पर्सा प्रहरीले बेवारिसे भन्दै नारायणी उपक्षेत्रीय अस्पतालको शवगृहमा बुझाएको शव अस्पतालले वीरगन्ज महानगरपालिकाको सहयोगमा गाडिसकेको थियो । घटनाको रहस्य खुल्दै गएपछि बारा प्रहरीले गाडिएको स्थानबाटै उत्खनन् गरी अंकितको शवको डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । शव पहिचान हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणका गर्न लागेको हो । अन्नपूर्णपोष्टबाट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।