मङ्लबार, बैशाख १८, २०८१

पूजारी हत्या प्रकरण : राज्यको उदासिन प्रवृतिका कारण धार्मिक सहिष्णुतामा खलल पुग्ने महासंघको चेतावनी

काठमाडौं भाद्र ११
विश्व हिन्दु महासंघले भाद्र ३ गते रौतहटको नारायण नपा २ स्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या गरिएको दुःखद् घटनाले महासंघ मर्माहत भएको जनाएको छ ।  महासंघका महासचिव अस्मिता भण्डारीले आज जारी विज्ञप्तिमा  साधु, सन्त, पण्डित र पूजारीको हत्याजस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले नेपाल सरकारसँग माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउदा समेत जो रक्षक उही नै भक्षक भने झैं राज्यको उदासिन प्रवृतिका कारण परिस्थित झन जटिल बनेको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नागरिकको सुरक्षा दिनु राज्यको कर्तव्य हो, दोषीलाई कानुनी कारबाही गर्नु र अपराधलाई निरुत्शाहित गर्नु राज्यको प्रमुख दायित्व हो भन्दै ।
पूजारी हत्या प्रकरणकै सन्दर्भलाई जोडेर गृहमन्त्रालयका शाखा अधिकृत प्रतिक राईद्वारा हस्ताक्षरित च।नं। ५४१, मिति २०७७÷५÷७ को पत्रमा पूजारी श्रीराम साहको हत्याको घटनाको विरोध गर्ने र कारबाहीको माग गर्ने व्यक्ति तथा समूहलाई नै निगरानी र कारबाही गर्ने भनेर सबै प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षकलाई स्पष्ट निर्देशन दिइएको घटनाले थप संसय पैदा गरेको बताउदै विज्ञप्तिमा ८४ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बिको भावनामा कुठाराघात गर्ने, सम्पूर्ण हिन्दु ओमकार परिवारलाई चोट पुग्ने कार्य राज्यबाट नै सिर्जना हुने हो भने यसले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुग्ने निश्चित रहेको उल्लेख गरिएको छ ।

त्यस्तै प्रस्तुत प्रसंगमा गृहमन्त्रीको स्पष्ट जवाफ सहितको सम्बोधन हुन जरुरी रहेको बताउदै अपराधीलाई तत्काल सार्वजनिक गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित न्यायको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दै सम्पूर्ण वैदिक सनातन हिन्दु धर्मावलम्बी, ॐकार परिवार एकाकार हुँदै आफ्नो धर्म, संस्कृति र राष्ट्रियताको हितका निम्ति कटिबद्ध भई अगाडि बढ्न सम्वद्ध सवैमा अपिल समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।