शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रहरीको कार्ययोजना २०७७ सार्वजनिक

काठमाडौं साउन २५ ,

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना २०७७ सार्वजनिक गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी मुख्यालयमा आज एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गर्नुको अलावा कार्ययोजना कार्यान्वयन कक्षको विद्युतीय माध्यमबाट शुभारम्भ समेत गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको बताउदै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको बताउदै विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई निर्देशन समेत दिनुभएको छ ।

त्यस्तै प्रहरी महानिरीक्षक थापाले प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक, र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सहित सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भीडियो कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर समेत गनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।