शुक्रबार, बैशाख १४, २०८१

महत्वपूर्ण निर्णय गर्ने बेलामा शहीदलाई सम्झिन सासंद श्रेष्ठको आग्रह

प्रजातन्त्रका लागि सहर्ष मृत्युदण्ड स्वीकार गर्ने वीर शहीद श्रेष्ठ र चन्दप्रति श्रद्दासुमन

काठमाडौं माघ १५, सहिद सप्ताह अन्तर्गत आज दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौ महानगरपालिका वडा न १५ स्थित शोभा भगवती मन्दिर परिसरमा आयोजित आयोजित श्रद्धाञ्जली सभामा हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न सहर्ष मृत्युदण्ड स्वीकार गर्ने वीर शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्दासुमन अर्पण गरिएको छ ।

श्रद्धाञ्जली सभामा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका शहीदले देखाएको बाटो हिँड्न सत्ता पक्ष र प्रतिपक्षमा बाँडिनु नहुँनेमा जोड दिदै महत्वपूर्ण निर्णय गर्ने बेलामा सहिदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिने बताउँनु भएको छ ।

स्मरण रहोस,  हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएकालाई पहिले घुँडाभन्दा तल गोली हानिएको र पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

त्यस्तैगरि कामपाका प्रमुख एवम् शहीद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदलाई, सडक दुर्घटनामा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने माग ताडम्यता नमिल्ने बताउँदै आफ्नाले गलत गरे पनि छुट हुने अर्काले सही गरे पनि दोषी बनाउने नजर त्याग गर्न नसकेसम्म सहिदको सपना पूरा हुन नसक्ने बताउँनु भएको छ ।

त्यस्तैगरि श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौं महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायतले शहीदको सपना साकार पार्न योगदान गर्न आवश्यक रहेको बताउँनु भएको छ । त्यसअवसरमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका अधिकारीहरुसँगै स्थानीयबासीको उपस्थिती रहेको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।