शुक्रबार, बैशाख १४, २०८१

सिक्टा सिँचाइ आयोजनामा व्यापक अनियमितता, पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर

काठमाडौं मंसिर २१, बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको गुणस्तरिय कार्य हुन नसकेको र एक पटकपरीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनस्परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने उजुरीको अनुसन्धान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको अभियोगमा कालिका कन्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेविरुद्ध रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० बराबरको भ्रष्टाचार गरेको अभियोगमा त्यस्तै तत्कालीन आयोजना प्रमुख सरोज पण्डित रु ५९ करोड ३४ लाख ५२ हजार ५४९, दिलीपबहादुर कार्की रु एक अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९, रमेश बस्नेत रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२०, सिडिइ सुइदेव थापा रु २७ करोड २२ लाख ५९ हजार ३२१, योगेन्द्र मिश्र रु २७ करोड २२ लाख ५९ हजार ३२१, श्यामबहादुर कार्की रु ५२ करोड ३६ लाख ६५ हजार १५० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको जनाएको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार सिडिइहरु सुशीलचन्द्र देवकोटा रु ५८ करोड ५९ लाख २४ हजार ७१९, कृष्णप्रसाद सुवेदी रु १७ करोड आठ लाख ४३ हजार ६०५, प्रेमराज घिमिरे रु १० करोड ४० लाख १५ हजार ३४३, प्रकाशबहादुर कार्की रु नौ करोड एक लाख ५२ हजार ७१३, वीरसिंह धामी रु ११ करोड ८५ लाख ५९ हजार ७४५ बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ भने सिँचाइ विभागका वरिष्ठ इञ्जिनीयर कमलप्रसाद रेग्मी, विभागका अर्का सिडिइ रविनाथबाबु श्रेष्ठ, विभागकै सिडिइ आषिशभद्र खनालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

यस्तै कालिकाका आधिकारिक प्रतिनिधि युवराज क्षेत्री, एमएस इआरएमसी आइटइसिओ नेपाल जेभीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईलाई रु दुई करोड ४० लाख ५५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा र एमएस इआरएमसी आइटिइसिओ नेपाल जेभीका आधिकारिक प्रतिनिधि हेमनिधि शर्मा र इञ्जिनीयर अरुणकुमार चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।