सोमवार, बैशाख २४, २०८१

विपद् व्यवस्थापनका लागि स्थानीय तहलाई सजगता र समन्वय बढाउन गृहको आग्रह

काठमाडौ असार २८ , गृह मन्त्रालयले अविरल वर्षाका कारण सिर्जना भएको बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको चपेटमा पर्न थालेपछि आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।

त्यस्तै विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न/गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

  त्यस्तै विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका सहित विभिन्न प्रभावित जिल्लाका बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।