शुक्रबार, बैशाख १४, २०८१

आज महामन्जुश्रीको पूजाआराधना गरी मुलुकभर श्रीपञ्चमी पर्व मनाइदै

स-साना बालबालिकालाई अक्षरारम्भ गराइदै

काठमाडौं माघ ८, आज श्रीपञ्चमी पर्व आज मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरी मनाइरहेका छन् । साथै आज देखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी भन्ने गरिन्छ । श्रीपञ्चमी पर्वका अवसरमा स-साना बालबालिकालाई अक्षरारम्भ गर्ने दिनका रुपमा ग्रहण गर्दै विद्याकी देवी महामन्जुश्रीको श्रद्धाभक्तिपूर्वक पूजा गर्ने प्रचलन छ ।

त्यस्तै आजको दिन श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ । हिन्दू शास्त्रअनुसार ऋग्वेदमा वागदेवीका नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजाअर्चनाले  सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजा गर्ने चलन रहेको छ ।

आजको दिन विशेष गरि काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।