शुक्रबार, बैशाख १४, २०८१

संस्था सुधारमा ध्यान नदिए आन्दोलन: टेलिकम वर्कर्स युनियन

काठमाडौं असार २६ , नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकमको व्यवस्थापन पक्ष प्रविधिको गुणस्तर विकास गर्न र कर्मचारीको दक्षता अभिबृद्धि गर्न तयार नभएको बताएको छ ।   भद्रकाली स्थित केन्द्रिय कार्यालयमा भएको साक्षात्कारमा बोल्दै युनियनका केन्द्रिय अध्यक्ष राजेन्द्र दाहालले टेलिकमको व्यवस्थापकीय समूह कर्मचारीको वृति विकास र प्रविधिको गुणस्तरीयताको विषयमा जिम्मेवार नदेखिएको बताए ।  ‘प्रतिस्पर्धाको समयमा सरकारी स्वामित्वको टेलिकमलाई व्यवस्थापन पक्षले गुणस्तरहीन बनाएको छ, कर्मचारीको वृती विकास गर्न तर्फ व्यवस्थापनको कुनै चासो समेत छैन,’ अध्यक्ष दाहालले साक्षत्कारमा बोल्दै भने ।

उनले संचालक समितिको लापरवाहीका कारण संचालमा आएका टेलिकमका सेवाहरु पनि प्रभावकारी हुन नसकेको आरोप लगाए ।
टेलिकमले संचालन गरिरहेको मोबाइल सेवा, इन्टरनेट सेवा लगायतमा चरम लापरवाही देखिएको भन्दै उनले जनताले गुणस्तरीय सेवा पाउनबाट समेत बञ्चित भइरहेको बताएका हुन ।   यसैगरी कर्मचारीको सरुवा, तालिम लगायतमा समेत संस्थाको सुधारमा आवाज उठाउँनेहरुलाई सरुवामा फरक फरक मापदण्ड बनाएर बञ्चित गर्ने गरिएको उनले जानकारी दिए । यसैगरी टेलिकम भित्र काम गर्ने कर्मचारीहरु न्यूनतम ज्यालाबाट समेत बञ्चित रहेको उनले बताएका हुन ।

युनियनले सो बारेमा पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गर्दै आएको बताइएको छ । युनियनले ११ असार देखि २५ असारसम्म संस्था भित्रको बेथिति सुधारको माग गर्दै कार्यालय अगाडी केही समय धर्ना समेत दिएका थिए ।  उनीहरुले कर्मचारी र संस्थाको सुधारमा व्यवस्थापन पक्षले ध्यान नदिए देशभरका टेलिकमका कार्यालयमा आन्दोलनका कार्यक्रम पुर्याइने जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।