शुक्रबार, बैशाख १४, २०८१

 विप्लवलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

वैद्य र विप्लव समूहबीच चारबुँदे कार्यगत एकताको सहमति

काठमाडौं फागुन १६,   मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै ४ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा क्रान्तिकारी माओवादीकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको चारबुँदा सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ । यस्तै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले विप्लव लगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो । भोजपुर अदालतको आदेशानुसार चन्दको कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ चन्द्रौटास्थित घरमा पनि पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभर सर्कुलर जारी गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।