शुक्रबार, बैशाख १४, २०८१

तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी आयोजना गरिने

काठमाडौ जेठ ४,  नेपाल स्काउटको आयोजनामा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने भएको छ । जेष्ठ १६ गते देखि २१ गतेसम्म नुवाकोट ककनी स्थित अन्तर्रा्ष्ट्रिय स्काउट केन्द्रमा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलन जानकारी दिईएको छ ।

नेपाल स्काउटका संरक्षक समेत रहेका प्रम केपी ओलीद्धारा उत्घाटन हुने सो ज्याम्वोरिमा देशभरिका ५ हजार भन्दाबढी स्काउटहरुको सहभागिता रहने प्रचारप्रसार प्रमुख स्काउट लिडर राजिव खत्रीले जानकारी गराए । उनका अनुसार सार्कमुलुकहरुबाट समेत स्काउटहरुको सहभागिता रहनेछ । स्काउटिङ्ग जगतमा ज्याम्बोरीको छुट्टै मौलिक महत्व रहने गरेको छ । यसमा विश्वव्यापी अनौपचारिक शैक्षिक अभियानका माध्यमबाट साहसिक र बौद्धिक क्रियाकलापहरु गरिने खत्रीले जानकारी गराए ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको २ करोड सहयोग र नेपाल स्काउटको १ करोड आन्तरिक स्रोतबाट ज्याम्बोरी आयोजना गर्न लागिएको नेपाल स्काउट तदर्थ समितिका संयोजक चन्दन कौशिकले जानकारी गराए । उनले भौतिक निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको बताए । ज्याम्बोरीमा सहभागीहरुले आफ्नो मौलिक प्रतिभाको प्रस्फुटन गरी सीप, संस्कृति, कलाकौशलको ज्ञान आदान–प्रदान गर्ने संयोजक कौशिकले जानकारी दिए ।

ज्याम्बोरीमा स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तको व्यवहारिक अभ्यास, स्वप्रकृति अध्ययन, मित्रताको विकास, क्याम्प फायर, साहसिक क्रियाकलाप, हस्तकला सिप प्रदर्शन, भेषभुषा तथा संस्कृति प्रदर्शन लगायतका गतिविधीहरु सञ्चालन हुने छ । त्यसैगरी प्रकृतिक अध्ययन अन्तर्गत बनस्पति, बोटविरुवा, चराचुरुङ्गी, जीव जन्तु, फलफूल जस्ता विषयहरु रहेका छन् ।  कार्यक्रम सम्पन्न गर्न २० वटा उपसमिती गठन गरिएको पत्रकार सम्मेलनमा बताईएको छ । विसं २००९ मा स्थापना भएको नेपाल स्काउटले यसअघि २०४३ सालमा प्रथम स्काउट ज्याम्बोरी काठमाडौं स्थित कीर्तिपुरमा गरे यता लामो समयपछि दोस्रो राष्ट्रिय ज्याम्बोरी २०६९ मा चितवनको टिकौलीमा सम्पन्न गरेको थियो । हाल देशको ६५ जिल्लामा ६० हजार स्काउट सदस्यहरु सकृय रुपमा स्वयंसेवीको रुपमा क्रियाशील छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।