आइतवार, बैशाख २३, २०८१

महानगरले धरहरा आसपासका होटल र सटर भत्काए

  काठमाडौं जेठ १२,     काठमाडौं महानगरले नेपाल प्रहरीको सहयोग लिएर शनिवार धरहरा क्षेत्रका व्यापारिक संरचना भत्काएको छ । धरहरा सञ्चालन सम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मुल विषय २०७२ सालको महाभूकम्पको क्षतिसँगै समाप्त भएको निष्कर्षसहित जेठ ११ गते बसेको नगर कार्यपालिकाले गरेको निर्णयबमोजिम यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको हो । 

यी टहरा, पसल, रेष्टुरेन्टजस्ता व्यवसायिक कार्य गर्दा प्रयोग भएका सामाग्री हटाउन महानगरले शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो । यो सूचनाबमोजिम शनिवार विहानैदेखि व्यापारीहरु आफ्ना सामान हटाउन थालेका थिए । यस क्षेत्रका संरचना हटाउन आवश्यक रहेको जनाउँदै महानगरले टाँस गरेको पत्रमा आफ्ना सामानको सुरक्षा आफैंं गर्न व्यापारीलाई अनुरोध गरिएको थियो । यदि कसैले ठाउँ खाली गराउन अटेर गरेमा महानगरले सामान हटाउने र यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यापारीबाट असुल गरिने सूचना दिएको थियो । महानगरको सार्वजनिक निजी साझेदारी इकाइ प्रमुख महेश काफ्लेले हस्ताक्षर गर्नुभएको पत्रमा, महानगरले सामान हटाउँदा क्षति भए त्यसको जिम्मेवारी महानगरले लिन नसक्ने र यस उपर उजुर नलाग्ने उल्लेख थियो ।

यसै बमोजिम शनिबार दिनको करीव ३ बजे प्रहरीको टोली टहरा खाली गराउन पुगेको थियो । प्रहरी पुगेपछि पहिले रेष्टुरेन्टका सामाग्री खाली गराएर टहरा भत्काइएको थियो । यस क्रममा रेष्टुरेन्ट सञ्चालकहरु ठाउँ खाली गराउन समय कम भएको गुनासो गरिरहेका थिए भने महानगरका अधिकारी कानूनबमोजिम गर्नु गराउनु भनेको काममा सहयोग गर्न अनुरोध गरिरहेका थिए ।   टहरा पसल कवलबाट हटाइएका सामान व्यापारी आफैंले ओसारेर लगेका थिए भने, अपुग भएको सवारी महानगरले पनि उपलब्ध गराएको थियो ।  यस क्रममा पुगेको स्थानीय सम्पदाप्रेमीहरु महानगरमा जनप्रतिनिधि आएको बल्ल महसुस भएको प्रतिक्रिया दिइरहेका थिए ।  – चन्द्रमणि भट्टराई

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।