सोमवार, बैशाख २४, २०८१

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सुझाव दिन वरिष्ठ पत्रकार त्रिपाठीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन

काठमाडौ भाद्र २६,  गत भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी ,देवानी संहिता २०७४) तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै आन्दोलित हुँदै आएको नेपाल पत्रकार महासंघको मागलाइ सम्बोधन गर्दै अन्तत सञ्चार मन्त्रालयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सुझाव दिन १५ सदस्यीय कार्यदल गठन गरेको छ ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेका सञ्चार क्षेत्रलाई मर्यादित, उत्तरदायीपूर्ण र जिम्मेवार बनाउनेबाहेक सङ्कुचन गर्ने वा कुनै प्रकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय नभएको सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको जनाउ सहित सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिस्तरीय निर्णयबाट संहिताका कारण अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए तिनको विकल्पबारे सुझाव दिन वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयका सहायक प्रवक्ता मुकुन्द शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुझाव प्रतिवेदनका लागि ४५ दिने कार्यादेश सहित गठित कार्यदलमा क्रमस पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस इन्स्टिच्यूटका अध्यक्ष तीर्थ कोइराला, मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, ब्रोडकास्टिङ एशोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालका अध्यक्ष सुवास खतिवडा, अनलाइन सञ्चार माध्यमका तर्फबाट पूर्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ पत्रकार टीकाराम राई र पत्रकार डा राजेश अहिराज सदस्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यदलले अन्तर्राष्ट्रिय मान्यता प्रचलन र मौलिक अभ्यास तथा सम्बद्ध क्षेत्रसँग समेत परामर्श गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।