आइतवार, बैशाख १६, २०८१

बिर्तामोडमा फोर्स मोटर्सका विक्री केन्द्र खुल्यो

झापा ज्येष्ठ ३१ , झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको विक्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो ट्रेडिङ प्रालिले झापाको बिर्तामोड–७ भद्रपुर रोडमा कार्यालय स्थापना गरी आज सोमवारबाट उक्त गाडीको औपचारिक विक्री शुरु गरेको हो । फोर्स मोटर्स लिमिटेड भारतका इन्टरनेशनल सेल्स डिभिजनका सहप्रबन्धक सुनिल शंकरले रिवन काटेर तथा फोर्स forsमोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले पानसमा दीप प्रज्ज्वलन गरी उक्त विक्री केन्द्रको उद्घाटन गरेका हुन् ।

फोर्स मोटर्सका ब्राण्डहरु ट्याक्स क्रुसर जीप, ट्याक्स कार्गो किङ पिकअप , ट्रोम्प ४०, बलवान ट्याक्टर लगायतका गाडीहरुको लञ्चिङ पनि सो अवसरमा भयो । कार्यक्रममा फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनि बस, ट्याक्स गोर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको बारेमा पनि जानकारी गराइएको थियो ।

त्यस्तै  सिद्धार्थ अटो ट्रेडिङका प्रबन्ध निर्देशक वीरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमकाबीच चारपाने घाग्रापुल नजिकै रहेको फोर्सका गाडीको मर्मत केन्द्रको पनि सोमवार नै उद्घाटन गरिएको छ । फोर्स मोटर्सको विक्रीपछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सिद्धार्थ अटो ट्रेडिङले सेल्स, सर्भिस र पार्टस विक्रीको सेवा पनि शुरु गरेको प्रबन्ध निर्देशक गुरुङले जानकारी गराए । फोर्सको ट्याक्स क्रुसर जीप १४ सिट क्षमताको रहेको र यो नै नेपालमा सबैभन्दा बढी सिट क्षमताको जीप रहेको कार्यक्रममा जानकारी दिइयो ।