शुक्रबार, बैशाख २१, २०८१

श्रीमतीको स्वीकृतिविना यौनसम्पर्क गरे ५ वर्ष जेल र गोपनीयताविरुद्धको कसुर गरे २ वर्षसम्म कैद

 काठमाडौं साउन २९, १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ ।

त्यस्तैगरि नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ ।  त्यस्तै नयाँ संहितामा उल्लेख भएअनुसार समूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था गरेको छ ।

त्यस्तैगरि ऐनमा कानुनले अब अनुमतिविना कसैको फोटो खिच्न पनि निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरु फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना गरिएको छ ।

सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने ऐनमा उल्लेख छ । फेसबुकमा विभिन्न नेता, सेलिब्रेटीहरुको टाउको अर्कै फोटोमा जोडेर कार्टुन बनाइने गरेको त हामीले देखेकै हौं । अब त्यस्तो कसुर गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । अपराध संहिताको दफा २९५ ९३० मा लेखिएको छ ‘कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्नुहुँदैन ।’

Publish on: Aug 14, 2018