शुक्रबार, बैशाख २१, २०८१

प्रदेशको नामाङ्कनको सवालमा निर्णय गर्न माग गरेपछि मार्सल लगाइयो

 विरोध प्रदर्शनलाइ निस्तेज बनाउँन निषेधित क्षेत्र घोषणा

 पोखरा जेठ २७, प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशको नामका सवालमा पहिले निर्णय गरेर बैठक अगाडि बढाउँन माग गर्दै बैठकमा अवरोध गरेपछि बैठक मार्सल लगाएर सञ्चालन गरिएको छ ।

काँग्रेसका सभासदहरुले प्रदेशसभा बैठकमा नियोजित रुपमा दर्ता भएको प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी सहित बैठक अवरुद्ध गरेका थिए । तर पछि मार्सल लगाएर बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आज एक सूचना जारी गर्दै लेखनाथ महानगरपालिका–३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदीपुर चोक, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस जाने मार्गको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजारतर्फको परिसरभन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र त्यस्तै महानगरपालिकाको वडा नं ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी इकाई कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रवेशद्वार, पश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रलाइ प्रदेशको नामाङ्कनको विरोधमा प्रदर्शन हुन थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।