सोमवार, बैशाख १७, २०८१

दुःखदाता बने बिघ्नहर्ता राजनीतिक हनुमानहरु 

unnamed-राजन कार्की 
नेपालको दुर्भाग्य: बुख्याँचा सार्वभौम जनताको द्वारपाले बस्यो, भाग्य र भविष्य बन्यो। नेपालीहरु रगतको आँसु रोइरहेका छन्। चित्कार सुनिन्छ, जता हेर्‍यो उतै चिहान देखिन्छ। बास भग्नावशेष भयो, आस्था तुहिएर गयो, सभ्यता र संस्कृति छिन्नभिन्न पारिदैछन्, यी सबै बेथितिहरु सम्हाल्नका लागि एउटा पनि राजनेता धरहरा बनेर उभिन सकेन।  व्यवस्थामात्र परिवर्तन भएर राष्ट्रिय जीवन परिवर्तन नहुने रहेछ। आचरण, नैतिकता, व्यवहारमा परिवर्तन नभएकाले परिवर्तन नारा, नाटक र नौटंकी बनिरहेको छ। जनयुद्ध, जनआन्दोलन अथवा लोकतन्त्रको यथार्थ यही हो। यही यथार्थले परिवर्तनकारी जनतालाई गिज्याइरहेको छ। सारथी र महारथीहरु चिप्लेकिराजसरी आफ्नै चरित्रमा चिप्लिरहेका छन्। कुनै तात्विक र सार्थक काम देखिदैन। अव त नौ महिने रेट बसेको छ सरकारको। त्यही रेट धान्न आएको छ अर्को सरकार। अवको ८ महिनामा फेरि अदलीबदली हुन्छ र अर्को सरकार बन्छ। सरकार जनताको लागि होइन, सिण्डिकेट सरकार हो। सिण्डिकेट भनेको जनताका लागि सिल्ली सरकार भन्दा हुन्छ।

संसदवादका बिरोधी अटोफन बिस्मार्कलाई आज पनि कट्टर राष्ट्रवादी लौहपुरुष भनेर सम्मान गरिन्छ। बिस्मार्कको जर्मन राष्ट्रवादी रेस र नेपालका पृथ्वीनारायण शाहको नेपाल एकीकरण समान पूजनीय कार्य हुन्। दुर्भाग्य, बिस्मार्क सम्मानको शिखरमा छन्, पृथ्वीनारायण शाहको सालिकको टाउको काटेर क्रान्तिले आत्मरती गर्‍यो। प्रजातन्त्रको बन्दूकले जो मारिन्छन्, तिनीहरु पृथकतावादी, आतंकवादी हुन्छन् भन्ने ग्यारीवाल्डी ‘माटोभन्दा प्यारो कुनै बाद हुन्न’ भन्थे। उनी पनि विश्वका सुपात्रमा गनिन्छन् तर अनेक आरोह अवरोहबाट नेपाललाई यहाँसम्म ल्याई पुर्‍याउने राजतन्त्रलाई राजनीतिक सामुहिक प्रयासले समाप्त पारेको दृश्य बेइजिङ्गको ग्रेटहलमा टाँगिएको नेपाली टोपी लगाएका माओ र महेन्द्रको फोटो ‘यिनलाई दयामात्र गर्न सकिन्छ’ भन्ने भावमा बोकेर टुलुटुलु हेरिरहेका छन्।

अफ्रिकाको क्यामिलियन जातको पशु अथवा नेपालमा छेपारो, एउटै कोटीमा पर्छन्। यिनीहरु समय अनुसार रङ्ग फेर्छन्। नेपालका राजनीतिक नेताहरु समयअनुसार ट्यूनिक परिवर्तन गर्नमा माहिर छन्। अहंकार अज्ञानता र बिनासको धर्ती हो भन्ने मिसाल राजतन्त्र र राजनीतिक दलहरुमा उत्तिकै लागू हुन्छ। तथापि देशलाई हाँक्ने र जनताको प्रतिनिधि हुने दल नै हुन् भने तिनले खलनायकी पाखण्डको प्रदर्शन गरेर राष्ट्रलाई किन संकटग्रस्त पार्दै लगेका हुन्? बुझ्न सकिन्न। धूर्तहरुलाई काखी च्याप्नेहरु पतन हुन्छन् भन्ने उदाहरण नेपाली राजकाज र राजनीति हो। चाणक्यले भनेझैं गल्ती सच्याउने असल हुन्छ, असल जहाू र जहिले पनि असल नै हुन्छ भन्नु आज पनि उत्तिकै सत्य छ। तर यो सत्यका पछाडि अनुयायीको अभाव छ। राजनीतिक दलहरु ‘लाटाले बाउ’ भनेझैं लोकतन्त्र भनिरहेका छन्, लोकतान्त्रिक भएर व्यवहार देखाइरहेका छैनन्। अति भएपछि जनता उठ्छ, उठेको जनताको उबालले धेरै कुरा नष्ट हुनसक्छ भनेर दलहरुले किन बिर्सेका? किन भुलेका? 

यद्यपि परिवर्तन ठेगानमा आउँछ कि भनेर अझै पनि जनताको धैर्यता देखिदैछ। असन्तोषका हजार खाडल खनिसके नेताहरुले, सन्तोषको एउटा पनि बिउ देखिन्न तैपनि मति सुधि्रन्छ कि भनेर आमनागरिक पर्खिरहेका छन्। पर्खनु एउटा कुरा हो, भित्तै पुर्‍याएर जनतालाई निराश बनाउनु अर्को कुरा हो। लाग्छ, नेताहरु एउटा अर्को जनसुनामी नआइ नचेत्ने भए।  नेपालका सन्दर्भमा स्पेनको राजतन्त्रको इतिहास सान्दर्भिक हुनसक्छ। १९३१ म्ाा अलफोन्सो राजालाई गणतन्त्रवादीले लखेटे। तानाशाह रिभेरोले ‘रहरै रहरको माला लगाए’। तर, गृहयुध्द टरेन र १९६९ मा राजतन्त्र पुनस्थापना गर्नुपर्‍यो। स्पेन यस्तो देश हो, जहाू राजतन्त्रमात्र निरङ्कूश हुँदैन, गणतन्त्र झन निरङ्कूश हुनसक्छ भन्ने प्रमाणिक इतिहास छ। नेपालका बुध्दिजिवी र विज्ञ बर्ग १९०३ को कोतपर्वमा थपडी बजाउने जङ्गेका सन्तानभन्दा भिन्न देखिदैनन्। यिनीहरु बितण्डाको मतियार हुनुमा गौरव गरिरहेका छन्। अशिष्टता, अभद्रता, असभ्यता र अत्याचारको पक्षमा वकालत गरिरहेको यो बर्ग लोकतन्त्रको आवाज बन्न सकिरहेको छैन। जनताका पक्षहरु चरु होमिएझैं होमिए। लोकतन्त्रमा लोक छैन, सार्वभौमिकतामा देश छैन, नेपालमा पराधीनता लह–लह मौलाएको छ।
भर्खरै पनि विदेशीको पुच्छर बन्न तैयार भयो सिंहदरवारका लोकतन्त्र। दूतावासको स्तरमा झरेकोसमेत थाहा पाएन यो क्रान्तिकारी परिवर्तनकारीले। ऊ आफैलाई भन्छ– म परिवर्तनका संवाहक हुू। हुटिट्याँउले सगर थामेको कथा जस्तो भयो सिंहदरवारको शासन, अन्तर्राष्ट्रिय भवनको संसद र शीतल निवासको  राष्ट्राध्यक्ष। जनताले हिजो पनि कानै चिरिएका अगुवा झेलेका हुन्, अहिले पनि कानै चिरिएका भ्रष्ट बेहोरिरहेका छन्। योभन्दा ठूलो दुर्भाग्य के हुन्छ?  २०६३ सालको बसन्त ऋतुमा भएको जनआन्दोलनका सामु झुकेर राजकाजबाट पन्छिएको राजतन्त्र बिस्तारै हिन्दूत्वमा स्थापित हुन खोज्दैछ। ४ वर्षअघि ‘जनताले चाहे जे पनि सम्भव छ,..बादलका बीच आशाको किरण छ, आशा गरौं।’ भन्ने पूर्वराजा बिस्तारै धार्मिक मेलाहरुमा नागरिकका हैसियतमा सार्वजनिक हुूदै आफ्नो स्थान खोज्न थालेका छन्। वादी जिन्दावाद भन्दैछन्, प्रतिवादी रिसले तोरीको फूल देख्न थालेको छ। यही अवशरमा पूर्वराजाले राजतन्त्रका लागि जनमत संग्रहको माग गरेका छन्। कार्तिक ३ गते राजधानीमा हुने हिन्दू महासम्मेलनले नेपालको राजनीतिलाई नयाँ दिशा दिने संकेतहरु देखिएका छन्। तरङ्गहरु उठ्न थालिसके, यी तरङ्ग ज्वारभाटा पनि बन्नसक्छ। जे पनि हुनसक्छ किनभने हिन्दूत्वको पनि पहिचान र अस्तित्वको प्रश्न जो उठिसक्यो।

२०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड हुँदा राजधानीबाहिर रहेका अधिराजकुमार ज्ञानेन्द्रलाई राजसभा भन्ने ठगहरुको भेलाले घिसार्दै ल्याएर राजाको पगरी गुथायो र गद्दीमा थचार्‍यो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रतिपक्षीमा एमालेका महासचिव माधवकुमार नेपाल थिए। हनुमानढोका नासल चोकमा गद्दी आरोहण गराएर राजाका पाउमा डबल राखेर ढोक्ने गिरिजा र माधव नेपाल फनक्कै फन्को मारेर २०६३ सालदेखि पक्का गणतन्त्रवादी बन्नपुगे। ग्य्राण्ड डिजाइन मलाई थाहा छ भन्ने कोइरालाले आफूसूगै रहस्य लिएर गए। २०६६ सालको फागुनमा प्रधानमन्त्री माधव नेपालका पिताजीले राजतन्त्र समाप्त पारेकाले यस्तो अराजकता आयो, अझै के के हुन्छ भनेर आवेग पोखेको अर्थ कसले खोज्ने? किनकि यो अर्थ खोज्ने प्रश्न अव सिंगो राष्ट्रभरि उठ्न थालेको छ। नेताहरु नैतिकवान बनेर जनताप्रति जिम्मेवारी बहन गरिदिएका भए, हटाइएका राजालाई कसले सम्झन्थ्यो र? यिनकै जयजयकार सुन्न पाइन्थ्यो। बुझ्नेले नबुझिदिएपछि कसको के लाग्छ? 

घामजत्तिकै छर्लङ्ग छ: ‘समाजबाद’ले निरङ्कूशवादको चोला फेरेको छ। समाजवादको उचाई माओवादको पुच्छरभन्दा माथि देखिन छाडेको छ। जनयुध्द समाप्त गरेका ‘माओवादीले वाईसीएलको बितण्डावाद’को हतियार समातेको छ। अव लडाकुहरु पनि बिस्तारै ब्यूूँताउने काम संसदवादी र अर्काथरि माओवादी कित्ताले गरिरहेकै छन्। भूमिगत समूह सस्त्र थुपार्दैछ। सशस्त्र र अस्त्रको हतियार अरुले पनि बोकेका छन्। हतियार लोकतन्त्र होइन, लोकतन्त्र हिंसातन्त्र बन्दै गएको छ। हिजो गाउूमा मंगलसेनतन्त्र थियो, यतिबेला राज्यस्तरबाटै जङ्गलतन्त्र चल्न थालेको छ। नीति र बिधिको लोक–शासन कोकोहोलो मच्चाएर रोइरहेको छ। देश र जनतामाथिको अत्याचार कोही देख्दैन, कसैलाई दुख्दैन। सरकार छ, राज्य छ, राज्यको उपस्थिति छ भन्ने अनुभूति लोकले गरेका छैनन्। सत्ताको भागबण्डा, राजस्वको ब्रम्हलूट प्रष्ट देखिन्छ, सरकार कहाँ छ? लोकले बेला–बेलामा सरकारलाई लालटिन बालेर खोज्नु कम मार्मिक दृश्य सबैले अनुभूत गरिरहेका छन्।  १९४६ तिर इस्ट इण्डिया कम्पनीले भारतमा मच्चाएको ज्यादतिमा लाज मानेर आज पनि  बृटेनले नैतिक जिम्मेवारी कबूल गरिरहेको छ। यो दृष्टान्तको अर्थ हो– ग्रहण सँधै लाग्दैन, ग्रहणको टाटो पनि सँधै बस्दैन। नदी बेच्ने, नागरिकता बेच्ने, नागरिक र सीमा सुरक्षित गर्न नसक्ने ‘राष्ट्रघात’ कलंक बडे–नेताहरुको निधारमा राष्ट्रघाती भनेर खोपिईसक्यो। यिनीहरुको कालो अनुहारको कालो कलंक लालकिल्लाको डिटरजेण्ट वा युनिलिभरको साबुनले जति घोटे पनि सफा हुनेवाला छैन। भाँडतन्त्रलाई लोकतन्त्र भन्ने हो भने कति टिठलाग्दो परिदृश्य होला यो।
फेरि पनि राष्ट्रघातको आवाज घन्किरहेछ। चारभञ्ज्याङमा त्यो आवाज ठोक्किएर प्रतिध्वनी सबैले प्रष्टै सुनिरहेका छन्। अव पनि जनता नउठ्ने हो भने जता ढल्को उतै मल्को गर्नेेले सिध्याउने छन्। जनताको मत लिनेले जनताको अधिकार कुल्चिए, कुल्चिए, अव जनताको अस्तित्व मटियामेट पारिदिनेछन्। मृत्यघण्ट दिनदिनै बजिरहेको छ, जनता अझै पनि नेतामा विश्वास राखेर पर्खिन्छन् भने कसको के लाग्छ र? जनता उठ्ने कि सिद्धिने?