मङ्लबार, जेष्ठ १, २०८१

लोकतन्त्र: मुकुट कि मुखुण्डो? 

unnamed -राजन कार्की 
 चिनियाँ एपेक एफले ३ खर्ब लगानी गर्छु भनेपछि २०६८ साल असोज ३० गते डा.बाबुरामको सरकारले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा लुम्बिनी विकास  निर्देशक समिति गठन गर्न लगाएर अध्यक्ष बनेका हुन् प्रचण्ड। त्यो समितिको आवरणमा बुद्ध बोकेर प्रचण्ड हङकङदेखि न्यूयोर्कसम्म पुगे। वान कि मुनलाई  लुम्बिनी दर्शनका लागि निम्तोसमेत दिए। कुरो दिल्लीमा चिप्लियो, भारतले टाङ् अडाएपछि एपेक लापता भयो। आज न एपेक एफ छ, न प्रचण्ड नै लुम्बिनी  निर्देशक समितिमा छन्। यतिबेला प्रचण्ड देशका प्रधानमन्त्री बनेका छन् र सत्ताबाट खुस्केका बाबुराम बुद्ध र लुम्बिनीको नाम उच्चारणसम्म गर्दैनन्।  किन?  किनभने फरिद जकारिया भन्ने भारतीय अमेरिकामा बस्छन् र उनी बुद्ध भारतमा जन्मेका हुन् भनेर प्रचार गरिरहेका छन्। भारतका पोष्यपुत्रका रुपमा  चिनिएका डा.बाबुराम भट्टराई गोरखाका हुन् तर गोरखपुर रिसाउने भयले लुम्बिनीको उच्चारणसम्म गर्दैन्न। त्यतिबेला प्रचण्डको हुंकार थियो– अव बुद्धको  जन्मथलो विश्वले चिन्छ, शान्ति खोज्नेहरु लुम्बिनी आउनेछन्। एपेक गयो, प्रचण्डले बुद्धमार्ग बिसाए, फेरि हुंकारमार्ग अँगाले।
राजनीतिक अराजकताले सत्ता र शक्ति परिवर्तन हुँदै गयो, खिलराज, सुशील र ओली प्रधानमन्त्री बने। ओलीलाई छिर्की हानेर लडाएनन् मात्रै, प्रचण्ड आफै सत्ताको शिखर आरोहणको मज्जामा छन् आजकल। यति गर्न उनलाई ८ वर्षको समय लागेछ। यिनकै अर्धाङ्ग मोहन वैद्य जनकारवाही र जनसरकार चलाउने कार्यक्रम तय गरेका छन् भने अर्का अङ्ग बिप्लवले भूमिगत सम्मेलनपछि जनविरोधी र भ्रष्टाचारीलाई गोर्खेलौरी कस्ने जनकारवाही सुरु गरिसकेका छन्। प्रचण्ड प्रधानमन्त्री बनेपनि रेमिटान्स अर्थतन्त्रमा कुनै तात्वीक फरक आएको छैन। बुद्ध, बुद्ध शान्ति, बुद्ध गौरव, बुद्ध निर्वाणा फेरि रगतपच्छे हुने हो कि भन्ने खतरा मडारिन थालेको छ।  डलर देखेर लुम्बिनी विकास निर्देशक समितिमा बसेका प्रचण्डको समिति स्वतः खारेज भयो। त्यसपछि प्रचण्डको मुखबाट बुद्ध निसकेको छैन। बुद्धजस्ता सम्पदाको सम्झनासम्म उनले गरेको सुनिन्न। बुद्धको नाममात्रले पनि नेपालको आर्थिक कायापलट गर्न सकिन्थ्यो, त्यो खुबी, कारीगरी प्रचण्डमा पटक्कै देखिएन। न त अर्थमन्त्री बनेका प्रचण्डका दाहिनाहात कृष्णबहादुर महरामा देखियो। आमाको त यो गति, कान्छामामाको कुन गति? यही स्कूलिङका उत्पादित नेता लुम्बिनी विकास कोषका पदाधिकारी छन्। तिनले लुम्बिनीको विकास होइन, आफ्नै र कार्यकर्ताको  विकास गरिरहेका छन्। मानवीय अस्पतालमा एग्रीकल्चरको डाक्टर राखिदिदा के हुन्छ?  युरी गागरिन, प्रथम अन्तरिक्ष यात्री हुन्। उनी फर्केपछि उनलाई जे मागे पनि दिने सरकारले निर्णय गर्दा उनले ‘मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिए मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ’ भन्ने माग गरे। त्यस्तो गर्व गर्नलायक कम्युनिष्टले झापा विद्रोहदेखि जनयुद्धसम्म गरे, कम्युनिष्टहरु सत्तामा पनि पुगे, तर तिनको हालत दयनीय छ। नेपाली कम्युनिष्टहरु ‘दया’ का पात्र बनेका छन्। यिनका हेडमाष्टर मोहनविक्रम सिंह, मोहनचन्द्र अधिकारीहरु रुद्राक्षका गेडा गनेर दिन  बिताउन थालेको देखिनु र हिजोका नौसिखाहरु सुकिला मुकिला खाइखाँदै सामन्त हुनु भनेको कम्युनिष्टहरु कम्युन्यालिस्ट बनेर सर्वहारालाई कसरी घोडा चढ्न थालेछन् भन्ने स्पष्ट हुन्छ। केही समयअघि पोर्चुगल पुगेका मोहन विक्रम सिंहको अभिव्यक्ति सबै कम्युनिष्टले पढ्दा राम्रो। सिंहले भनिदिए– नेपाली कम्युनिष्टको स्कूलिङ साह्रै राम्रो थियो। सत्ता र शक्तिमा चुर्लुम्मै डुबेर मोराहरु बिग्रिए।
भर्खरमात्र मोहनचन्द्र अधिकारीको अभिव्यक्ति सार्वजनिक भएको छ– कसैले वास्तै गर्दैनन्, के गर्नु? पोर्चुगलमा भएको यो सिंहझाप्पु र काठमाडौं नैकापबाट अधिकारीको भनाईले सबैभन्दा बढी पीडा प्रचण्डलाई भएको हुनुपर्छ। किनकि प्रचण्डजस्ता कम्युनिष्ट न पहिले भए, न पछि हुनेछन्। मान्छेहरु अझै प्रचण्डमा ‘राजनेता’ देख्न पाइएला कि भनेर लालायित छन्। यो लालसा आकाशको फल हो किनकि साँढे दुईदशकदेखि उनी कम्युनिष्ट अध्यक्ष हुन् र अध्यक्ष भएरै मर्न चाहन्छन्। कम्युनिष्टमा सम्पत्ति, सत्ता र शक्तिको यतिबिघ्न लालसा जो दिनहुँ बढ्दै  गएको छ।  नेपाली कम्युनिष्टले स्टालिन बुझे अमर हुनसक्थे। स्टालिनका छोरा जेकव बन्दी बनेपछि उनको बदलामा जर्मन सैनिक लेनदेन गर्ने प्रस्ताव आयो। स्टालिनले मलाई पुत्रभन्दा राष्ट्रियता प्यारो छ भनेर सेनाको पक्ष लिए, छोराको पक्ष लिएनन्। छोरा जेकब जेलमै मरे तर स्टालिनले जर्मन मर्न दिएनन् र आज जर्मन त्यो इतिहासलाई गौरव गर्छ। स्टालिनको राष्ट्रवाद जिन्दावाद भन्छ। हामी पृथ्वीनारायण शाह जिन्दावाद भन्न सक्दैनौं, यस्ता वीर योद्धाहरुको सालिक तोडफोड गर्छौं।
बुद्ध नेपाल, शान्त नेपाल, स्वाधीन नेपाल बनाउन सपना मदन भण्डारीमा थियो कि, दासढुंगाबाट नारायणीमा डुबेको २५ वर्ष हुनलागिसक्यो। नेपालको दुर्भाग्य यही हो। कम्युनिष्टहरु देशभन्दा दामलाई महत्व दिइरहेका छन्। सेवाभन्दा सत्ता राजनीति गरिरहेका छन्।

बाबुरामदेखि प्रचण्डको हालैको भारत भ्रमणको विश्लेषण गरौं, यिनीहरुलाई स्टालिनका चेला होइन, लेण्डुपका कार्यकर्ता भन्नुपर्ने हुन्छ। देश भर्सेलै होस्, सत्ता र सुख यिनको प्राथमिकता हो। जनता छटपटिइरहुन्, शक्ति यिनको कमजारी भइसक्यो।  एकीकरण थाल्दा पृथ्वीनारायण शाह २० वर्षका थिए। इच्छाशक्ति थियो र उनले नेपालको एकीकरण सम्पन्न गरे। त्यो दुःखले आर्ज्याको स्वतन्त्र नेपाल आज अघोषित पराधीनता स्वीकार गर्दै अघि बढेको छ। लोकतन्त्र आयो, गणतन्त्र आयो रे, साँचो अर्थमा विदेशतन्त्र हावी भएको छ। देश र जनताको अपमान गरेर केही दल र नेताहरु दलीय र आर्थिक साम्राज्य फैलाईरहेका छन्। मानौं नेपाल भनेको गरीवीको हाटबजार हो र हाम्रा नेताहरु गरिबीलाई थोकमा खरिद गर्ने फौबञ्जार हुन्। राणाकालमा तिहारमा जुवा फुक्थ्यो र दिव्यदेव चमत्कारिक कौडा हान्थे र भूपदेव हिसाव राख्थे। महाभारतको द्युतमा सकुनीले जस्तै कौडा हान्थे दिव्यदेव। २०६३ सालपछि नेपाली राजनीतिमा काटामार र लूटामार चम्किदै गएको छ। विदेशीको चक्रव्यूह र चक्लाबन्दीमा राष्ट्रियताको चौबन्दी च्यात्ने काम तीब्र गतिमा भइरहेको छ। कुवेरका सन्तान नेपाली, भीख माँग्ने दिनमा भोगिरहेका छन्। दैत्यगुरु शुक्राचार्य पनि लज्जाबोध गर्ने खालको राजनीतिक रेडलाइट इलाका पो  बन्यो नेपाल। नेताहरु भन्छन्– नयाँ नेपाल बनाउँछौं, विगत १२ वर्षको यिनका चरित्र र व्यवहार हेरौं, यिनीहरु बनाउने नायक होइन, बिगार्ने खलनायकी गरिरहेका छन्।

०३६, ०४६ र ०६३ सालको आन्दोलन र ०५२ सालदेखिको १० वर्षे जनयुद्धले गरिब मार्‍यो, राष्ट्रिय अर्थतन्त्रलाई धरासायी बनायो। त्यो विध्वंशपछि त निर्माण सुरु गर्नुपर्थ्यो। निर्माणको नाममा गजेट मिलाएर बजेट निकासा गर्ने अनि नाममात्रको असारे विकास भइरहेको छ। आज बनायो, भोलि बिग्रने, भोलि टाल्यो, पर्सि भत्किने। यस्तै भ्रष्टाचारको भाङमा लठ्ठै परेको छ लोकतन्त्र। परिवर्तनपछिको यस्तो दुर्गति र दुर्नामको जिम्मा सत्ताका आकांक्षी कुनै नेता लिन तैयार छैनन्। कूशासन जारी छ। भ्रष्टाचार यत्र तत्र सर्वत्र चलिरहेको छ। नियन्त्रण निकाय र कानुनले कुनै करामत देखाउन सकेका छैनन्। राजनीतिक अराजकताको कूप्रभावले सिंगो मुलुकको जीवनचक्र खलबल्याइरहेको छ। राजनीतिक परिवर्तन अँध्यारो सुरुङयात्रा बनिरहेको छ। विश्व बुद्धशान्ति खोजिरहेको यो बेला, बुद्धको देशमा बुद्ध आफै रगतको आँसु रोइरहेका छन्।  बुद्ध शान्ति: मानव जीवनशैली सामरिककरण, धार्मिक प्रतिद्वन्द्विताकरण हुँदै सभ्यताको चरमोत्कर्षमा पुगेको वर्तमान समयमा शान्ति साझा र अपरिहार्य आवश्यकता बन्न पुगेको छ। बुद्ध धर्माबलम्बी देशहरु ८ (भुटान, बर्मा, कम्बोडिया, चीन, चाइवान, श्रीलंका, थाइल्याण्ड र जापान) मात्र छन् तर बुद्ध, बुद्धत्व, परिनिर्माण र शान्तिको खोजमा विश्व नै छटपटाइरहेको कालखण्ड हो यो। बुद्ध नेपालमा जन्मे, नेपाल हिन्दूराष्ट्र (२०६३ साल जेठ ४ गते राजनीतिक सहमतिमा धर्मनिरपेक्षता घोषणा गरिएको) कसरी कायम भयो र १२५ जाति तथा अनेक धर्माबलम्बीहरु कसरी प्रत्येक कालखण्डमा कसरी सद्भावपूर्ण रुपमा बसे होलान्? विश्वकै लागि नेपाल आकर्षक मुुलुक हुनुको अर्को कारण यो पनि हो। नेपालमा जन्मेका बुद्ध आज विश्व आकर्षणको केन्द्रमा छन्। जापानले लुम्बिनीलाई जोड्दै बौद्धतीर्थहरु सारनाथ (धर्मचक्रवर्तन), राजगृह, नालन्दा (बौद्ध शिक्षालय), बुद्धगया (बोधीज्ञान), कुसीनगर (महापरिनिर्माण) जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव गरेको छ।
हामी नेपाली आर्थिक सम्पन्नताको डोरेटो कोर्ने बेलामा असंलग्न कूटनीतिलाई कुनै दल यता, कुनै दल उता र कुनै दल अर्कैतिर संलग्न भएर कसैको पिछलग्गु मुलुक बनिरहेका छौं। पृथ्वीनारायण शाहले नेपाल त दुई ढुंगाको तरुल रहेछ भनेका थिए। त्यही हो हाम्रो परराष्ट्रनीति। राम्रो कुरा, उचित निर्णयलाई कुल्चनु क्रान्तिकारिता, नयाँ नेपाल हो र?  एउटी भृकुटी तिब्बत पुगिन् (सोनगनसान– श्रङचङगम्पोसँग विवाह गरेर बुद्धधर्म प्रचारक बनिन्) र हरिततारा बनेर चम्किइन्। हामी सीमापारि नक्कली लुम्बिनी बनाइरहँदा त्यसको संगठित प्रतिकार होइन, त्यही अन्तर्राष्ट्रिय नीतिहरुमा भारतसँग एकैविचार लिएर हिड्न, सुरक्षा परीषदमा भारतलाई समर्थन गर्न र नेपालको संविधान संशोधन गर्न भारतको सहयोग चाहियो भनेर दिल्ली दगुरिरहेका छौं। सार्वभौम संसद कति सार्वभौम छ, ६ सय १ सांसदले अझै आफ्नो अनुहार ऐनामा हेरेका छैनन्। उनीहरु संंविधान संशोधन गरेर अंगीकृतलाई राष्ट्रपति बन्न दिनुपर्छ, सिमा विवाद हुँदैमा बिस्तारवाद भन्नु हुन्न भन्ने एकथरि र अर्कोथरि नेपाल भारतको दास बनेको हो? भन्ने बाझाबाझ गर्न थालेका छन्। जनप्रतिनिधिहरु न देशका, न जनताप्रति नै इमान्दार बन्नसके।   हामी आफ्नै नाइटाको कस्तुरीको बासना खोज्न विश्वभरि भौंतारिइरहेका छौं। के छैन यहाँ? पहिले जंगल थियो, कृषि थियो। अव पानी र युरेनियमको भण्डारको कुरा गरिरहेछों। अरु खनिजको खेाज त बाँकी नै छ। तर, सुगरकोटेड साइनाइडजस्तो ठूला दलको सहमति र शासक–प्रशासकको सिण्डिकेट र विदेशी र आइएनजीओको पछि लागेर नेपाललाई खोक्रो पार्दैछौं। आत्मनिर्भरता, बहुमुखी अर्थतन्त्रको सोधखोज, विधिको शासन र यथार्थपरक लोकतन्त्र नेताहरुको दिमागमा छिरेकै छैन। राष्ट्रवाद भाषणमा सिमित भयो, व्यवहारमा देख्न सकिएन।
राजनीतिक अराजकता र प्रशासनिक अन्यौलता रोक्न सकिएन भने ढाक्रेहरुले नेपाल राष्ट्रलाई ध्वस्त पार्न लामो समय लगाउने छैनन्। लोकतान्त्रिक सिन्धुमा नेपालीत्वको विन्दू खोज्ने अन्तिम अवसर यही हो। लोकतन्त्रको मुकुटलाई मुखुण्डो बन्नबाट रोकिहालौं।
प्रतिक्रियाका लागिः