सोमवार, बैशाख १७, २०८१

लोकराज किन जंगलराज जस्तो देखियो ?

r karki – राजन कार्की

वर्षको एकदिन टुडिखेलमा घोडेजात्रा देखाउने राज्यमा प्रत्येकदिन राजनीतिक दलहरुको घोडेजात्रा देखिन थालेको छ। पञ्चायतको कूदिन फालेर आएको बहुदलीय सुदिन कालरात्रिबाट शुभरात्रि हुनसकेन, भ्रष्टाचारी प्रजातन्त्रलाई लोकतन्त्रको नामाकरण गरेर न्वारान गरेको ११ वर्ष भइसक्यो, लोकतान्त्रिक संविधान जारी भएको पनि ११ महिना लागिसक्यो, काल बित्यो, कलंकपूर्ण कालखण्डको कालो छायाूले देश र जनतालाई छाडेन। लोकतान्त्रिक मैदानमा नेताहरु, नेता प्रभावित प्रशासकहरु, नेता र प्रशासकलाई लठ्याउने भ्रष्टाचारको भाङ बोकेर माफियातन्त्र चलाउनेहरु मंगलसेन बनेर घोडेजात्रा देखाइरहेका छन्। खानु खुट्नु केही नपाउने आमजनता दर्शक बनेर लुटिनु, कुटिनु, चुटिनु, फुटिनुको बेथा पालेर व्यथित भइरहेका छन्।  मानौं टुडिखेलको दक्षिणी कुनामा थान्को लगाएर राखिएको गुरुमापा भनेका हाम्रा नेताहरु हुन्, प्रशासकहरु हुन् जसले जनतालाई टुडिखेलबाट उठेर निरन्तर तर्साइरहेका छन्। आमनागरिक शान्ति र सम्पन्नताको कामना गरेर बस्ने प्राणीमात्र हुन् जसको प्राणपखेरु प्राकृतिक प्रकोपले लुट्छ, त्योभन्दा ज्यादा नेता र प्रशासकको कूशासनले लुट्छ। साँच्चै भन्ने हो भने लोकतन्त्र शोकतन्त्रमा परिणत भएको छ।

डाक्टरले राजनीति गर्ने वकिलले कानुनको नौसिङ देखाउने देश हो यो। तलव खाने कर्मचारी टे्रड युनियन खोल्छन्, शिक्षक करोडमा सभासद किनेर जनप्रतिनिधि बन्छन्। दोहोरो नागरिकता भएका, तस्कर भनेर चिनिएका व्यक्ति सरकार र संसदमा पुग्ने देश, श्रीमती, साली, गर्लफ्रेण्डलाई सभासद बनाउने पार्टीहरुले शासन चलाएको देश पनि यही हो। रेड पासपोर्ट बेच्ने छँदैथिए, दर्जनौं सभासद मानव तस्करी गर्नेमा प्रमाणित नै भइसकेका छन्। हत्या, अपहरण, अपचलन, हिंसा, अमानवीय दाग लागेकाहरु जेल होइन, संसद, सरकारमा देखिन्छन् भने तिनले बनाएको बिधिले बिधिको शासन स्थापित गर्ला कि झिंझाका मंगलसेन हैकमवादरु अनि देशमा हरेक दिन घोडेजात्रा नभए के हुन्छ?  अरु राष्ट्रमा कानुन, इमान, नीति, नैतिकता, लोकलज्जाको डरले विकास दौडिन्छ, नेपालमा सिण्डिकेट र सेटिङमा जे पनि हुने गरेकाले मंगलसेनको घोडामात्र कुद्छ। हाम्रा नेता र प्रशासनको विकास भनेको परीक्षण गर्दा गर्लम्मै ढलेको सिक्टा सिंचाइ आयोजनाको बाँध हेरेपछि थप केही हेर्नै पर्दैन।  ताजा उदाहरण हो– मन्त्रीले सिंचाइ विभागको महानिर्देशक नियुक्त गर्न करोड मागेछन्, त्यसअघि कृषि मन्त्रीले गमलामा धान रोपेर देखाइदिए। गतवर्ष अर्का कृषिमन्त्री रोपाइ गर्न लाठे बनेर खेतमै गएका थिए, महिलाको काखीमुनी छिरेर मन्त्री भनेका पर्खालमन्त्रीबाट बलात्कारी बनिसकेछन् कि भनेर झस्काइदिए। यी केही दृष्टान्तले लोकतन्त्र दबाब, दमन, प्रभाव र बाहुबलले चलेको छ भन्दा फरक पर्दैन। यी सबै घटनाक्रमको निष्कर्ष भनेको नैतिक बन्धन फुस्कदै गएको र शासन सभ्य होइन पशुतन्त्रमा परिणत हुनथाल्यो भन्ने भय हो खतराको घण्टी सुन्नेहरुका लागि।

कसले कसरी रोक्ने लोकतन्त्रमा अनैतिकहरुको जबर्जस्त जमातले चलाइरहेको मंगल सेनतन्त्रलाई?

प्रधानमन्त्री छन् एमालेका अध्यक्ष केपी शर्मा ओली। भूकम्पपीडितको छाप्रो बनाउन नसकेर के भो, उनको शासन भ्रष्टाचारको जगमा उभियो त के भो, वचनको गोली हान्न माहिर ओलीले सम्पूर्ण राजनीतिक दलहरुलाई उछिनेर हावाबाट बिजुलीदेखि भान्सा भान्सासम्म ग्यासको पाइप बिछ्याइदिने, पोखरा–लुम्बिनीसम्म चुच्चेरेलदेखि हिन्द महासागरमा पानीजहाज चलाउनेसम्मका सपना देखाए। मानौं यस्ता विकास भनेको ओलीको आवाजबाटै सम्पन्न हुन्छन्। जब माओवादीले उनको साथ छाडिदियो र कांग्रेससूग मिलेर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइदियो, ओली झल्यास्स हुनपुगे। उनी उभिएको धरातल त बालुवाको महलजस्तो पो रहेछ। स्थानीय, प्रदेश र संसदको चुनाव गराएर माघ ७ गते को बलियो हेरौंला भन्दाभन्दै ओली आफ्नै बोलीमा चिप्लिएर पछारिए। आज संसदमा अविश्वासको प्रस्ताव पेश हुूदा ओलीले जवाफ देलान् र जवाफ दिदादिदै राजीनामा दिनेछन् भन्ने अड्कलबाजी चलेको छ। राजीनामा नदिए उनको सरकार भोटिङबाट सिद्धिनेछ। ओलीले पहिले संविधान संशोधन गर भनेर गरेका जिद्दीयुक्त कूतर्कहरुको अवशान अव केही दिनमै हुनेवाला छ।

ओली कुरा राष्ट्रवादको, काम राष्ट्रियनीति विरोधी र कुरा स्थिरताको व्यवहार अस्थिरताको सावित भएका छन्। भूकम्पदेखि महगीसम्मको चौतर्फी पीडाको पोखरीमा चुर्लम्मै डुबेका आमनागरिक भन्छन्– प्रजातन्त्र कटमीरो थियो, लोकतन्त्र त साह्रै तीतो लाग्यो। तीतो पनि नीमको भए ओखती हुन्थ्यो, केतुकेको अस्वस्थकर तीतो भयो। नेताहरुका बारेमा हलेदो भनेपछि के कोट्याउनुरु छर्लङ्ग छँदैछ। यसको अर्थ लोकतन्त्रलाई अलोकतान्त्रिक, अलोकप्रिय पार्ने जिम्मेवारी पार्टी नेताहरुकै हो। नागा र नांगा अर्थात शिवरात्रिका नागाबाबा र लोकतन्त्रका नेतामा अव तात्वीक भिन्नता देखिन छाड्यो।  लोकतन्त्रका लाखेनाचजस्ता दृश्य ट्रेलरुका रुपमा धेरै देखियो। लोकतन्त्रलाई छोपेको चुँनरी हटेको छैन, यो नहटी लोकतन्त्रको स्पष्ट मुहार देख्न सकिन्न। नेतृत्वको विकास नै हुनसकेन, नेतृत्व नै नभएपछि लोकतन्त्र परिपक्व हुन नसकेको हो। फास्ट ट्य्राकबाट संविधान जारी हुनुमात्र लोकतन्त्र होइन रहेछ। संविधान कागजमा रह्यो, बिधिको शासन होइन मनलागी चलिरहेको छ। लोकतन्त्रलाई प्रहसन बनाए नेताहरुले। अझै लोकतन्त्रका संघीयतालगायतका परिदृश्यका पर्दाहरु उठ्न बाँकी नै छन्। दलहरुले नेपालीपन नेपालीमनमा खोज्न नसक्दा बढेको अवसरवादिताले राष्ट्रलाई जोखिमै जोखिमको चक्रव्यूहमा फसाइसकेको छ।

नेताहरुको सबैभन्दा ठूलो कमजोरी मानवीय धर्मच्यूत हुनु हो। जब मानवीयता जिवन्त रहन्न, विवेकको शक्ति क्षिण हुन्छ। ०६३ सालदेखि ०७३ सालसम्म आइपुग्दा राजनीति गर्नेहरुमा विवेकशून्यता जथाभावी खानपानले रक्तचाप बढेजसरी बढेको छ। महाभूकम्पले ९ हजारको ज्यान लियो, तिनका आफन्तजनले लोकनेताहरुको मलामीसम्म पनि पाएनन्। उल्टै पीडितले पाउने राहत, पाल त्रिपाल, अनुदानमा राजनीति गरेर आफूलाई निर्घिणी स्तरमा उतारे। अव यिनीहरु पूर्व विशिष्टहरुलाई सम्भ्रान्त सुविधा दिनतिर लागेका छन्। चाणक्य भन्थे– शासक महलमा बस्न थाले भने जनताले छाप्रो पनि पाउन सक्दैनन्। आमनेपालीको नियति यही भइरहेछ।  लोक गाउँ गाउँ, कुनाकाप्चा, कन्दरा, मधेसतिर छ, लोकतन्त्र सिंहदरवारभित्रै रङ्मङ्गिरहेको देखिन्छ। सिंहदरवारले गरिखानेलाई हेर्नुपर्थ्यो, हुनेखानेलाई पोसिरहेको छ। गरिखानेहरु अरवको गर्मीको गर्तमा गाडिन बाध्य छन्, लोकनेताहरु युवाशक्तिको खाूचो देखिरहेका छैनन्। राजनीति पत्र पत्र अपराधमा डुब्दै गएको छ, अपराधी नेता र तिनका आसेपासेलाई अपराध गर्ने छुट छ, तिनले दण्डित हुनुपर्दैन।

भनिन्छ, अरु नशाभन्दा लागूऔषधको नशा कडा। लागू औषधभन्दा पनि राजनीतिमा सत्ताको नशा झन कडा। १९३२ को जर्मनको नाजीवाद र नेपालको सत्ता राजनीतिमा कुनै अन्तर देखिन छाड्यो। दम्भ लोकवादको हुनुपर्थ्यो, दम्भ मिलिभगतको भइरहेको छ। ढुङ्गा जुधाउँदा आगोमात्र निस्कन्छ। समयले प्रमाणित गरेको यथार्थ हो– दम्भ कि त जनताले चकनाचूर पारिदिन्छन्, कि त अमानवीय क्रूरतामा भासिन्छ। देशमा यस्तो क्रूरता बढ्दै छ, यो क्रूरतालाई एकतावद्ध खबरदारी गर्न नसक्नाका कारण प्रोत्साहित भइरहेको छ। राष्ट्रिय विवेक पार्टीगत रुपमा विभाजित भएको छ, यसकारण बेइमानीले बाढी बन्ने अवसर पायो र राष्ट्रिय जीवन बाढीमा हेलिएर ढलपलाउन पुग्यो। पार्टीहरु दुर्योधनको अवतार बनेर लोकतन्त्रका मर्म र मर्यादामाथि निरन्तर प्रहार गरिरहेछन्। पार्टीभित्रको मानसिकता सिंहदरवारको सत्ताभन्दा पर देख्दैन। त्यसैले जनताबाट यिनीहरु टाढिदै गएका छन्। यिनले लोकतन्त्र आवरणमा चलाएको मंगलसेनतन्त्रबाट जनता घून पिसिएझैं पिसिदै डाहा र छटपटीमा छटपटाइरहेका छन्। यिनलाई पीडाबाट पार लगाउने अवतार अहिलेसम्म जन्मेको देखिन्न।

सत्ताको तिर्खा जति बढायो बढ्छ। सत्ता राष्ट्र र जनताका लागि होस् भन्ने वोध नगर्दा राष्ट्र संकटको भूमरीमा फस्यो। निकाशशून्य अनेकन राजनीतिक मुद्दाहरु भड्खालो बनिसक्यो। यो भड्खालोको धारमा रेटिएर नेपालीको रगत बग्ने जोखिममा छौं हामी। शान्ति र सम्पन्नताको मार्ग खोल्छु भन्नेहरुको असहज बहाव जारी छ। राजनीतिक अर्धनारिश्वर अनुहारमा अतिवाद, अस्थिरतावाद र आतंकवादको छायाू प्रष्टै देखिन्छ। राष्ट्रमा अहिले जे जति बाद छन्, बाद बोक्ने राजनीतिक व्यक्ति र शक्तिहरु छन्, ती सबै कर्णाली राजमार्गको कच्ची मोटरबाटो जस्तो लाग्छन्, जहाँ घरि–घरि दुर्घटना भइरहन्छ। नेपाली नेताहरुको विश्लेषण गरेर सौरभले देखेको र लेखेको टिप्पणी यस्तो छ– ुआफै माध्यम भएर जनताको छोरालाई शहीद बनाउँछन् र शहीदका नाममा स्मृति प्रतिष्ठान दर्ता गराएर आफ्ना भाइ, भतिजा र रखौटीका नाममा राजधानीमा पाँचतारे शैलीका महल खडा गर्छन्।

लोकतन्त्र न त मंगलसेनतन्त्र बन्नसक्छ, न स्यालहुइया। लोकतन्त्र मीठो लोकबाजा हो, सबै जनता रमाउन सक्ने। वर्तमान नेताहरुले लोकबाजा बजाउन जानेनन्, जान्नेले पनि बजाउनै चाहेनन्। लोकतन्त्रको पारख र लोकतन्त्रमा पौरख गर्न दलीय नेताहरु अयोग्य ठहरिए। लोकतन्त्रको मुक्त वातावरणमा श्वासफेर्ने जनताको धोको, धोको नै रह्यो। लोक रुनुपर्ने दिन पो आयो। लोकतान्त्रिक नेताका दशावतारले देवता होइन, दैत्य रुपमात्र झल्काइरहेको छ। राज्य र जनतावीच खोजेको लोकतान्त्रिक सेतु, पाइयो दुःखदायी राहुकेतु। लोकलाई लोकतन्त्रको मिठासबाट केही समयका लागि बर्जित गर्न सकिएला, सँधैका लागि सकिने छैन। भनिन्छ, लोकलाई एकचोटी, दुईचोटी भ्रमित पार्न सकिन्छ, सधैं झुक्याइरहन सकिन्न।  लोकतन्त्रमा मंगलसेनको घोडेजात्रा देखाइरहेका नेताहरुले ऐनामा आफ्नो अनुहार एकपटक हेर्ने किरु समयले कसैलाई पर्खेन, समयलाई कसैले रोक्न सक्दैन। यो समयले दिएको अवसरको उपयोग गर्ने हो भने नेताहरु अझै सम्मान आर्जन गर्न सक्छन्। समय छँदै विचार गरौं।