शुक्रबार, बैशाख १४, २०८१

मोर्चा कार्यकर्ता तथा प्रहरीबीच झडप, एकको मृत्यु ,सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी मालपोत कार्यालय तोडफोड

  रौतहट पौष ५ ,गौर नगरपालिकास्थित बिपी चोकमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिपी चोकमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जनाउँदै मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी गरेको छ । गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।

यसैवीच लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले सिरहा सदरमुकामस्थित मालपोत कार्यालय तोडफोड गरेका छन् । मोर्चाले आह्वान गरेको बन्द उल्लङ्घन गरी मोटो रकम लिएर दलालमार्फत आन्तरिक रुपमा काम गरिरहेको भन्दै मोर्चा कार्यकर्ताले आज मालपोत कार्यालयका सिसा फुटाउँनुको अलावा कार्यालय परिसरमा पार्किङ गरिराखिएको कर्मचारीको को२१प ८१९६ नं को मोटरसाइकलमा पनि तोडफोड गरेको समाचार प्राप्त भएको छ ।