मङ्लबार, बैशाख १८, २०८१

पत्रकार कल्याणकोषको उपादेयता र औचित्य

   –pen-copy-gift-150x15022जगत प्रजापति

 नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको केही समय अघि ब्रेन ट्युमरका कारण मृत्यु भयो । उनको उपचारको लागि नेपाल प्रेस युनियनले तत्काल ५० हजार रुपैयाँको कोष स्थापना गरी सहयोग संकलन अभियान सञ्चालन गरे । सो अभियानको पहिलो चरणबाट नै करिव १ लाख ४० हजार रकम संकलन भयो । उनको दिल्लीस्थित विएलके अस्पतालमा शल्यक्रिया समेत सम्पन्न भयो । उनी बिस्तारै रोगबाट टंग्रिदैं थिए अचानक उनको स्वास्थ्यमा पुनः रोगको असर देखा प-यो र केही समय अघि उनको दुःखद निधन भयो ।
प्रेस युनियन अहिले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवलाई रजत महोत्सवको रुपमा वर्षैभरी विविध कार्यक्रमका साथ मनाईंदै छ । यसैक्रममा आफ्ना सचिवको असामयिक निधनले आहत भनेको युनियनले १ करोडको पत्रकार उपचार कोषको स्थापना गर्ने घोषणा गरेको छ र त्यसतर्फ केही कार्य शुरु गरिसकेको छ । कोषमा केही रकम समेत जम्मा भईसकेको अवस्था छ । त्यसैगरी हालै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको ब्लड क्यान्सरका कारण मृत्यु भयो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका शर्माको उपचारकैक्रममा मृत्यु भएको हो । उनको उपचारका लागि पनि नेपाल पत्रकार महासंघ केन्द्रले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । गम्भिर रोग लागेका शर्माको उपचार निजी स्रोतले सम्भव नभएपछि महासंघले एनएमबी बैंकमा खाता खोलेर २५ हजार रुपैयाँ जम्मा गर्दै सहयोगको अपिल गरेको थियो । मोफसलमा बसेर विगत दुई दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकार शर्मा पछिल्लो समय सल्यानी सन्देश र रेडियो शारदामा आवद्ध हुनुहुन्थ्यो ।

नेपाली पत्रकार तथा सञ्चारकर्मीहरु कुन अवस्थामा छ भन्ने ज्वलन्त उदाहरणहरु हुन माथिका दुई परिदृष्य । अहोरात्र समाजका लागि निःस्वार्थ भावले सेवामा तल्लिन पत्रकारहरु कुनै ठूलो रोग लागि हालेमा उपचारसम्म गराउन सक्ने अवस्थामा छैन । यस्ता घटना विगतमा पनि भएका छन । पत्रकारहरु उपचार गराउन नसकेर सबै क्षेत्रमा सहयोगको याचना यस अघि पनि भएका छन । महासंघ केन्द्रकै आव्हानमा महासंघ भक्तपुरले यसअघि पनि पटक पटक सहयोग संकलन गरेर केन्द्रमा बुझाएको छ ।  नेपाली सञ्चारक्षेत्रमा अनेकौं समस्या मध्ये पारिश्रमिक पनि मुख्य समस्या हो । यसलाई समाधान गर्नविगत केही वर्षदेखी केही पहल कदमी भईरहेका छन तर यसले ठोस नतिजा दिन सकेको छैन । नेपाली पत्रकारहरुले तोकिएको पारिश्रमिक नपाउने समस्या त छदैंछ त्यसमा पनि महिनौंसम्म तलव नपाउने समस्या अझ विकराल छ । यस्तो अवस्थामा पत्रकारका सन्ततिको शिक्षा दिक्षा र दैनिक छाक टार्ने समस्याको समाधान कसरी भईरहेको होला ? यो कल्पना समेत गर्न नसकिने काहाली लाग्दो अवस्था रहेको छ । यस्तो परिस्थितीमा क्यान्सर जस्ता रोग लागेमा उपचारको दायरामा आउन सक्ने केहीको बाहेक अरु पत्रकारको हैसियत छैन अनि उनीहरुको नियती क्षेत्री र शर्माको जस्तो हुने गरेको छ र हुने गर्दछ ।

त्यसैले पत्रकार महासंघले पत्रकारको स्वास्थ्य विमाको माग अघि सारेको छ । यसै वर्षको बजेट पूर्व सञ्चारमन्त्रीलाई भेटेर महासंघले यसबारेमा छलफल गरेको थियो । सञ्चारमन्त्रीले सकारात्मक जवाफ पनि दिनु भएको थियो तर बजेट भाषणमा यो विषयले प्रवेश पाएन । भनाई एक थरी गराई एक थरी भएको छ । आम सञ्चारकर्मीलाई सरकारले झुक्याउने कार्य गरेको छ । महासंघले पत्रकारकै कल्याणको लागि पत्रकार कल्याण कोषको स्थापना गरेको छ । महासंघको विधान २०६० (तेस्रो संशोधन २०७१) को परिच्छेद २ दफा ६ को ‘क’ मा सदस्यता शुल्क रु ५ सय तोकिएको छ । नयाँ सदस्यलाई प्रवेश शुल्क वापत थप ५ सय रुपैयाँ लाग्ने व्यवस्था गरेको छ । विधानको सोही दफाको ‘ग’ मा प्रत्येक सदस्यता तथा नविकरण दस्तुरमध्ये सदस्यता शुल्क र प्रवेश शुल्कको ५० प्रतिशत अर्थात २ सय ५० रुपैयाँ केन्द्रीय पत्रकार कल्याण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।  मैले २०६७ सालमा पत्रकार महासंघको सदस्यता प्राप्त गरेको हुँ । त्यस अघिको कुरा छोडेर २०६७ साल यताको मात्र हिसाव गर्ने हो भने नेपालभरीका करिव १० हजार महासंघका सदस्यहरुले वार्षिक २ सय ५० का दरले कल्याण कोषमा वर्षको २५ लाख र २०७२ सालसम्म ६ वर्षमा १ करोड ५० लाख रुपैयाँ जम्मा भईसक्नु पर्ने देखिन्छ । त्यसैगरी सो रकमको वार्षिक १० प्रतिशतले व्याज समेत हिसाव गर्ने हो भने १ करोड ६५ लाख रुपैया जम्मा भईसक्नु पर्ने देखिन्छ । २०६७ साल अघिको हिसाव जोड्ने हो भने यो रकम कति पुग्ने हो लेखाजोखा छैन । तर पत्रकारहरुको स्वास्थ्य उपचारको लागि सो कोषको रकम प्रयोग गरेको पाईंदैन ।

पत्रकार महासंघले आफ्ना जिल्ला अध्यक्षको उपचारमा त्यो कोषको रकम किन खर्च गरेन ? कोषको रकम यस्तो अवस्थामा पनि सदुपयोग हुँदैन र पत्रकारहरु मृत्युसँग जुधिरहँदा पनि उपचारका निमित्त काम आउँदैन भने त्यस्तो कल्याण कोषको उपादेयता र औचित्य के हो ? कुन उद्देश्यले त्यो कोषको स्थापना गरेको हो ? पत्रकार कल्याण कोषको रक�� पत्रकारको स्वास्थ्य उपचारका निमित्त काम आउँदैन भने आगामी दिनमा पत्रकार कल्याण कोषमा रकम जम्मा गर्नुको औचित्य के ? महासंघले स्पष्ट पानु पर्ने बेला आएको छ । पत्रकार कल्याण कोषको रकमका सम्बन्धमा महासंघको अघिल्लो कार्यसमितिले अनियमितता गरेको विषय सार्वजनिक भएको थियो । तत्कालिन अध्यक्ष र कोषाध्यक्षले कोषको करिव २० लाख रुपैयाँ व्यक्तिगत कार्यमा प्रयोग गरेको सार्वजनिक भएको थियो । सो विषयमा व्यापक विवाद उत्पन्न भएपछि कोषको रकम कोषमै जम्मा गरेर विवाद साम्य पारेको थियो । पत्रकार कल्याण कोषको रकम यसैगरी दुरुपयोग भईरहेको त छैन ? सम्पूर्ण श्रमजीवि पत्रकारहरुले गम्भिर ढंगले सोच्नुपर्ने बेला आएको छ ।  (लेखक न्युज अफ साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ भक्तपुरका सचिव हुन ।)