बुधबार, बैशाख १२, २०८१

भन बाबुराम, लोकतन्त्र कुन चराको नाम ?

  pen-copy-gift-150x15022 -राजन कार्की
एमाले लिङ्ग नछुट्टिएको भनेर उडाउने डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी घोषणा गरेर ‘वाम लोकतन्त्र’ पार्टी नीति सार्वजनिक गरेका छन् । यो वाम लोकतन्त्र भनेको के हो ? उत्तर कोरियाको जस्तो प्रजातान्त्रिक जनवादी गणतन्त्र जस्तै हो कि ? आज विश्वबाट एक्लिएको उत्तर कोरियाको लिङ्ग पहिचान गर्न राष्ट्रसंघले कडा नाकावन्दी गरेर परीक्षण गरिरहेको छ । नयाँ शक्तिको वाम लोकतन्त्र त्यस्तै परीक्षणमा उभिन आइपुगेको त होइन ?
२०५२ साल फागुन १ गते डा.बाबुराम भट्टराई नै हुन् जसले ४० बुँदे मागपत्र लिएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेका थिए । मागको सुनवाई नभएपछि सत्ता र शक्ति बन्दुकको नालबाट निस्कन्छ भनेर संसदको ढोकाबाट निस्केर जंगल पसेका थिए । १० वर्षे जनयुद्धमा १७ हजारभन्दा बढी लोक मारिए, लाखौं अपाङ्ग बने, हिटलरको ग्यास चेम्बरलाई बिर्साउने खालको चितवनमा गुडिरहेको यात्रुबसलाई बम हानेर उडाइएकै हो । हजारौं बेपत्ता पारिए । बेपत्ता पारिएका र मारिएका परिवारजन २३ वर्षपछि पनि न्याय पाइरहेका छैनन् । बाबुराम भन्छन्– नयाँ शक्ति नेपालले २५ वर्षभित्र समृद्ध नेपाल निर्माण गर्छ । अन्यायको बज्रपातमा परेको लोकले न्याय नपाई कसरी लोकले समृद्धि प्राप्त गर्लान् ? यसको जडी ओषती डाक्टर बाबुरामसँग के छ ? छ भने त्यो चमत्कार हुनेछ । छैन भने चटकेले दर्शकको आँखामा छारो हालेजस्तो नयाँ शक्ति नेपाल बाबुरामको चटकमा सिमित हुनेछ ।  लोकको भत्किएको मन नयाँ शक्तिले बनाउँछ कि बनाउन्न ? च्यातिएको लोकको मन वाम लोकतन्त्रले टाल्छ कि टाल्दैन ? अन्याय भयो भनेर बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अपराधी पहिचान गरेर न्याय सम्पादन गर्न दिएका लोक निवेदनमा कारवाही हुनैपर्छ भनेर वाम लोकतन्त्रको मुख्य सिद्धान्त बोकेको नयाँ पार्टीले भन्छ कि भन्दैन ? दशरथ रंगशालामा बोल्दा यस विषयबारे किन बाबुरामको जिब्रो तालुमा टाँस्सिएको हो ?

डा.बाबुरामले भनेका थिए– सम्पूर्ण पुराना संरचना नभत्काई नयाँ निर्माण हुनसक्दैन । १० वर्षे जनयुद्धले सम्पूर्ण पुराना संरचना भत्कायो, नयाँ निर्माण गर्ने बेलामा नयाँ सिद्धान्त बोकेको बैकल्पिक पार्टी यही हो भनेर जेठ ३० गते दशरथ रंगशालाबाट सार्वजनिक गरेका छन् । मान्छे पुरानै छन्, उही पूर्वसचिव, पूर्वकर्मचारी, पूर्वलडाकु, पूर्वहिरोइन, पूर्व भ्रष्टाचारी, पूर्वराजनीतिज्ञ, थोत्रे र धोत्रे व्यक्तिहरु समेटेर नयाँ शक्तिको न्वारान गरियो । कसरी नयाँ शक्ति ? पुष्टि हुँदैन । न्वारान हुनुपूर्व ५० लाख खर्च गरेर पत्रिका, रेडियो, पर्चा, पोष्टरबाट प्रचार गरियो र ५० करोडभन्दा बढी खर्च गरेर देशभरिबाट लोकलाई राजधानी उतारियो । खेताला लगाएर राजनीतिक असारको भेल त छोपियो, नयाँ शक्तिको बीउ त रोपियो तर त्यो बीउ हाइब्रिड होइन, राजनीतिक पुरातनवादी नै भएकाले नयाँ शक्ति नेपालको राजनीतिक उत्पादकत्व बढ्ने सम्भाबना कम छ ।
किनभने घर बलियो हुन जग बलियो चाहिन्छ । २१ वर्ष अघि खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने संसदबादबाट देश विकास हुन्न, समानता आउँदैन भन्दै क्रान्तिको बिगुल फुकेर जंगल पसेका बाबुराम अन्ततः लोकतन्त्र संसदबाटै आउने रहेछ भनेर थकित गलित भएर जनताका माझमा प्रकट भएका थिए । जनताले पनि उनलाई भोट दिए, विश्वास गरे, सांसददेखि प्रधानमन्त्रीसम्म पनि बनाए । माओवाद पढेका बाबुरामले धर्मलाई अफिम भनेका थिए, धर्म त अन्तरआत्ममा टाँस्सिएकै रहेछ र उनले बाबुआमालाई मनकामनादेखि मानसरोवरसम्मको तीर्थ गराए । धर्म कमाए । जनयुद्धकालमा गरेका गम्भीर अपराधकर्म धुने प्रयत्न पनि गरे । छोरी मानुषीलाई उच्चशिक्षा दिलाए । बिहेदान पनि गरे । लोकमाथि भए गरेका पापकर्मको मोचन लोकको क्षमादानबाट मात्र सम्भव छ भन्ने अन्तरआवाज उनले अझैसम्म सुन्न सकेनन् ।
उनले सडकमा रोइकराई गरिरहेका बेपत्ता परिवारजनको आर्तनाद सुनेनन् । जनयुद्धमा मारिएका परिवारजन र अङ्गभङ्ग भएका लोकले न्याय पाइएन भनेर आँसु झारिरहेको देखेनन् । जिउँदा सती र सहिदहरुको छटपटीको पनि बाबुरामले कुनै मतलव राखेनन् । यी कस्ता डाक्टर हुन्, जो २५ वर्षमा देशको मुहार फेर्ने सपना बोकेर अगाडि आएका छन् र लोकका अर्धमूर्छित अवस्थाको कुनै उपचारविधिबारे केही बोल्दैनन् ? उनी भनिरहेका छन्– अव म वाम लोकतान्त्रिक । वाम लोकतान्त्रिक भनेको यस्तै हुँदो रहेछ ।

बाबुराम भट्टराई देशका सबै नेताहरुको तुलना गर्दा बौद्धिक नेता भनेर चिनिन्छन् । चर्चित छन् । तिनै बाबुरामले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्दा जनयुद्धकालीन दिनहरुमा भए गरेका अपराधकर्मबारे कुनै पछुतो गरेनन् । जनयुद्धकालका बिधवा बुढी आमा भइसके, बालबालिका युवा र युवा प्रौढ बनिसकेका छन् । तिनीहरुसँग डा. बाबुरामले माफी मागेनन् । अपराधवोध गरेर आत्मालोचना गरेनन् । नयाँ मुसलमानले प्याज धेरै खान्छ भनेझैं फुइँकी हाँके, फूर्तिफार्तीसाथ पार्टीको घोषणा गरे । आफ्नो नेतृत्वको पार्टीभित्र लोक रहन्छ, लोकको आस्था धड्किन्छ, लोकपार्टी हो भनेर भन्न सकेनन् । बाबुरामले वाम लोकतन्त्र पार्टीको सिद्धान्त हो भन्न चाहिं बिर्सेनन् । जहाँ लोकप्रति पारदर्शीता छैन, प्रजातान्त्रिक आचरण र जवाफदेहिता देखिएन, त्यो नयाँ शक्ति नेपालको जग कसरी बलियो छ भनेर मान्ने ? यो पार्टीले लोकको परिवर्तन गर्छ कि नेताहरुको ? आशंका गर्न सकिने पर्याप्त आधारहरु विद्यमान छन् ।

बाबुरामलाई थाहा छ– सांस्कृतिक क्रान्तिका दिनहरुमा गल्ती भएकै हो भनेर माओत्से तुङले जनताका सामु घुँडा टेकेर माफी मागेका थिए । हालैका दिनमा चीनभित्र माओले गल्ती गरेका थिए भन्ने आवाज घन्किन थालेका छन् । चीनभित्रै माओको जोगाएर राखिएको शव आलोचनाको केन्द्र भइरहेको स्थितिमा माओवादी नेताहरु काँचुली फेरेर यसरी भड्काउवादको माध्यमबाट परिवर्तनको उद्घोष गरिरहेका छन् । भूकम्पपीडित झरीमा रुझेर छटपटिइरहेका बेलामा पीडितहरुको बास बनाउन खटिएर पार्टी घोषणा गरेको भए बाबुराममा लोकप्रतिको सम्मान झल्किन्थ्यो । सत्ताको झिल्के घरी घरी पल्के भनेझैं नयाँ शक्ति नेपालको सत्तावादी राजनीतिमा आम नेपालीको आकर्षणभन्दा बिकर्षण बढी छ । नयाँ शक्ति नेपालमा युवाशक्तिभन्दा बुढाशक्तिहरुको हालीमुहाली देखिन्छ । कसरी नयाँ शक्ति नेपालले परिवर्तनको सपना पूरा गर्नसक्छ ? यसबारेमा डा.बाबुराम भट्टराईको फर्मूला अर्थ र औचित्यपूर्ण देखिदैन । बोकेको कुकुरले सिकार गर्दैन भनेझैं किनेर ल्याएका भीडले बाबुरामलाई राष्ट्रिय हिरो बनाएर बोक्ला भन्ने विश्वास धेरैलाई छैन । २०७५ मा सत्ता हाम्रो हातमा हुनेछ भनेर कुर्लिने नयाँ शक्ति नेपालका पूर्वअर्थ सचिवबाट राजीनामा दिएर होनहार नेता बनेका रामेश्वर खनालको उद्घोषले पनि यो पार्टी लोकभन्दा सत्ता नपाएको शोकमा चिन्ता गरिरहको छ भनेर बुझ्न आइतवार कुरिरहनु पर्दैन ।

डा.बाबुरामले ०५२ सालमा प्रस्तुत गरेको ४० बुँदे मागपत्र आज उनको पार्टीभित्र अस्तित्वहीन छ । माओवाद पढेका बाबुरामले त्यो वादलाई जडसूत्रवाद, अवसरवाद भनेर धोवी चुटान गरेका छन् । माओवाद त्यही हो भने त्यो बादको ट्यूनिक लगाएर मान्छे मारेर क्रान्ति सफल पार्ने हिटलरी उद्यममा लागेको समयको जिम्मेवारीवोध गरेर बाबुरामले लोकका सामु नतमस्तक हुनुपर्छ कि पर्दैन ? फौजदारी अभियोग लागेर जेल जानु पर्ला भनेर तिनै प्रचण्डसँग घाँटी जोडेर प्रधानमन्त्री ओलीसँग गुहार माँग्न जाने बाबुरामजीहरु रंगशालाबाट न्यायपूर्ण नेपालको झ्याली पिट्न अलिकति पनि हिचकिचाएनन् ? भविष्यप्रति आशा होइन, बाबुराम तमासा बन्न पुगे ।  र, डा.बाबुरामलाई थाहा छ– विज्ञापनले देश बन्दैन, तर उनको पदमार्ग विज्ञापन बन्यो । नेपाली कम्युनिष्टका भिष्म, युधिष्टिर मानिएका क्रान्तिनायकहरु मोहनचन्द्र अधिकारी र मोहनविक्रम सिंह आजकल रुद्राक्षको माला जपेर ज्ञान बाँडिरहेका छन् । अध्यात्मको निकट पुगेका मोहन बैद्य विचारको भारी बोक्दाबोक्दै एक्लिएका छन् र बिप्लव बालहठपूर्ण खेलबाडमा मस्त देखिन्छन् । प्रचण्ड त सत्ताको किरो भइहाले, उनीभित्र राजनेता बन्ने इच्छाशक्तिको चरम अभाव छ । ओलीहरुको कुरा गर्नु त गाईजात्रे जोकरलाई हौस्याउनुजस्तै हो । बाबुरामको पदमार्ग माइकको चर्को आवाजसँगै घनिभूत हुन्छ कि प्रतिध्वनी बनेर बिलाउँछ, अहिले नै नयाँ शक्ति नेपाल पार्टीभित्रको असन्तुष्टि सुन्दा यो पार्टी राजनीतिक बिकल्प होइन, कर्मकाण्डीभन्दा माथि उठ्न नसक्ने झल्काहरु देखिन थालिसकेका छन् ।
बाबुरामले नयाँ शक्ति नेपाललाई लोकवादको अगाडि वामपन्थीको फुँदा गाँस्नु उनको दोधारे चरित्र अथवा जनयुद्धको धङधङ्ी मान्न सकिन्छ । यसकारण बुझ्नेहरुवीच प्रश्न उठेको छ– नयाँ शक्ति नेपाल वामपन्थी हो कि लोकतान्त्रिक ? विश्लेषकहरुको तीतो विश्लेषण छ– राम राम बाबुराम ।  रेडियोमा गीत घन्किरहेको छ– भन बाबुराम, लोकतन्त्र कुन चराको नाम ?