काठमाडौं पौष ७, मधेसी दलको अगुवामा रौतहट जारी आन्दोलनको तनाव पछि स्थानीय प्रशासनले सोमबार बिहान सांढे १० बजेदेखि लगाएको कर्फ्यु मंगलबार ६ बजेदेखि बिहान १० बजेसम्मको लागि खुला गरेको छ । कर्फ्यु हटेसंगै बाक्लो हुस्सु र चीसोकै बीच मोर्चाका कार्यकर्ताहरुले प्रदर्शनसंगै पुन रौतहटको वातावरण अराजक बनेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा आज बिहान ११ बजेदेखि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।
निषेधाज्ञाका वावजुद पनि मोर्चाका कार्यकर्ताले गौरका ठाउं ठाउंमा टायर बालेर प्रदर्शन गर्दै गरेको समाचार प्राप्त भएको छ । प्रदर्शनको क्रममा मोर्चाको कार्यकर्ताहरुले गत आइतवार प्रहरीको गोली लागेर मृत्यु भएका १८ बर्षिय शेख तरबेजलाई शहीद घोषणा गर्न पीडित परिबारलाई क्षतिपूर्ती, घटनाको न्यायिक छानबीन र दोषी प्रहरीलाई कार्बाहीको माग राख्दै प्रदर्शन जारी राखेपछि शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म गौर नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।