काठमाडौँ अषाढ २८, नेकपा–माओवादीमा कार्यदिशाको विषयमा विवाद बढ्दै गएपछि सो पार्टीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेको छ । यही असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव पेस 20गरेपछि विवाद समाधानका लागि विशेष महाधिवेशन बोलाउने तयारी भएको हो । यसअघिको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशासहितको प्रस्तावमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेपछि पार्टीमा वैचारिक विवाद बढेको थियो ।
केन्द्रीय समितको बैठकको निरन्तरतामै आजदेखि सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा यसअघिका दुवै प्रस्तावलाई थाती राख्दै अध्यक्ष वैद्यले एक वर्षभित्र महाधिवेशनमा जाने छुट्टै तेस्रो प्रस्ताव पेस गर्नुभएको छ । तीनवटै प्रस्ताव बैठकका सहभागीलाई दिइए पनि पछिल्लो प्रस्तावमा मात्रै केन्द्रित भएर धारणा राख्न केन्द्रीय सदस्य र सल्लाहकारलाई निर्देशन दिइएको छ ।
अध्यक्ष वैद्यले प्रस्तुत गरेको तेस्रो प्रस्तावमा तत्काललाई महाधिवेशनको कार्यादेशअनुरुप आन्दोलनका कार्यक्रमलाई तीव्र बनाउँदै लैजाने र महाधिवेशनमा मात्रै फरक मतबारे छलफल गर्ने उल्लेख छ । आजको विस्तारित बैठकमा प्रस्ताव मात्रै पेस गरिएकामा आइतबारदेखि बैठकमा प्रस्तावबारे केन्द्रीय सदस्य र सल्लाहकारले धारणा राख्ने क्रम सुरु हुनेछ । चारवर्षे कार्यकालका लागि २०६९ पुस २५ देखि माघ ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गरेको माओवादी डेढ वर्ष नपुग्दै फेरि महाधिवेशनको तयारीमा लागेको छ ।