शुक्रबार, बैशाख १४, २०८१

हृदय र बुद्धि..

-उमेश भण्डारी-

व्रह्माण्ड चेतनाका आधारमा आध्यात्मिक र भौतिक दुई बराबर भागमा विभक्त छ । आध्यात्मिक चेतना आन्तरिक पक्ष हो भने भौतिक चेतना वाह्य पक्ष हो । समग्र स्वरुपमा सशरीर पक्षलाई हेर्दा बाह्य शरीर भौतिक र आन्तरिक मन मस्तिष्कलाई आध्यत्मिक पक्षको रुपमा बुझिन्छ । यसरी नै आन्तरिक पक्षभित्र पनि दुई पक्षहरु हुन्छन हृदय पक्ष र मस्तिष्क पक्ष । आन्तरिक जीवनका दुई पक्ष हृदय आध्यात्मिक र मस्तिष्क भौतिक पक्ष हो । भौतिक र अभौतिक अवस्थामा रहेका सजीवता भित्र हरेक का हरेक रूप, स्वरूप र अवस्थामा आध्यात्मिक र भौतिक यी दुई पक्ष हरू अध्यावदिक हुन्छन् । आध्यात्मिकता र भौतिकता चेतना र रचनाका मुलआधार हुन् । यीनै दुई पक्षका आधारमा हरेक कृयात्मक अवस्थाको सञ्चालन हुन्छ । आध्यात्मिकता स्थायी, निरन्तर र मौलिक पक्ष हो भने भौतिकता अस्थायी, निश्चित र कृत्रिम पक्ष हो ।

प्रकृतिको सुनियोजित चाहनाको अधिनस्थ रहेर परमात्माको कल्पना अनुरूप सृजित हरेक व्रह्म वीजहरूमा वुद्धि(मस्तिष्क) र हृदय (भाव) एक अर्कोका परिपुरक भएर रहेका छन् । यीनिहरूको संयोजनले नै मायावी संसारमा हाम्रो सजिव मानव जीवन सञ्चालित छ । मानव जीवन आध्यात्मिकता र भौतिकताको अन्योन्यास्रित संयोजन हो । आध्यात्मिकता हृदय पक्ष हो भने भौतिकता वुद्धि पक्ष हो । जीवहरूमा वुद्धि (मस्तिष्क) र हृदय (भाव) पक्ष विद्यमान हुन्छन् । आध्यात्मिकता सत्य र भौतिकता तथ्य हो । आध्यात्मिक पक्षको प्रवलताले मात्र पनि जीवन सफल हुन सक्दैन भने भौतिक पक्षको प्रवलताले मात्र पनि जीवन सरल वनाउन सकिदैन । जीवन सफल र सरल वनाउन दुवै पक्षको एकसाथ विकास र विस्तार गर्नु अति आवश्यक छ । सनातन देखि आज सम्म भए गरेका सुकृत्यहरू स्वचालित सहृदयी मानव मन र मस्तिष्कको सवल प्रयोगका उपलव्धि हुन् भने कुकृत्यहरू सञ्चालित सहृदयता विहीन मानव मन र दुर्वल मस्तिष्कको उपज हो ।

मेरो पतनको कारण म स्वयम् हुँ , उसको पतनको कारण उ स्वयं हो !  यो सवै कर्म फल को उपज हो । अर्थात, प्रारव्धको निर्देशन हो भन्ने स्वभाव वा मनोभाव हृदय पक्ष हो । यदी, आफ्नो मन मस्तिष्कमा मेरो पतनको कारण स्वयम् ’म ’ होईन , अरू कोही छ र कोही हो भन्ने सोच लिएर संञ्चालित हुनु नितान्त वुद्धि पक्ष हो ।  हरेक कृयात्मक अवस्थाहरु कहिल्यै पनि एकै पक्ष वाट स्वचालित र सञ्चालित हुदैनन ।  जहिले पनि सजिवता का हरेक क्रियाकलाप भित्र आध्यत्मिक (हृदय ) र भौतिक (बुद्धि ) पक्ष एक समान अवस्थामा सकृय हुन्छन् । आन्तरिक जीवनलाई सक्रिय वनाउने दुई पक्ष हृदय पक्ष र मस्तिष्क पक्षबाट दुई फरक भाव पैदा हुन्छन् । हृदयबाट करुणा र मस्तिष्कबाट बुद्धि भाव प्रकट हुन्छ । हृदय र मस्तिष्कको सुचालकको रुपमा मनको सकृय निर्देशन र नियन्त्रण हुन्छ ।

मानवको आन्तरिक जीवनभित्र निहित हृदय र मस्तिष्कबाट नै करूणा र बुद्धिको प्रकट हुन्छ । करूणा भाव सर्वोत्तम भाव हो । यो पूर्णता कल्याण र पूर्ण त्याग र प्रेम पूर्ण आनन्द भाव हो । मस्तिष्कले बुद्धिको प्रकट गराउँछ, बुद्धि नितान्त स्वार्थजनित र जिद्दी पूर्ण खुशी भाव हो । जव हृदय पक्ष र मस्तिष्क पक्षको कुशल संयोजन हुन्छ त्यहाबाट दया भाव प्रकट हुन्छ । दया भाव आफु बाँचौ र अरुलाई पनि बचाउ भन्ने आधि दैविक र आधि भौतिक भाव हो । धर्तिमा सफल महापुरूष दया भावले युक्त हुन्छन् भने करूणा भाव ले युक्त माहात्मा हुन्छन् । संसारमा जतिपनि हट, अहंकार र धन, बैभब र बंशको घमण्ड वुद्धि पक्ष को उपज हो । वुद्धि र विद्या को कुशल संयोजन नै पुरुषार्थ हो ।

सफल जीवन भनेको पद, प्रतिष्ठा र पैसाले युक्त भएर खुशी र सुखी रहुनु मात्र होईन जीवनको हरेक पल मा प्रसन्न रहेर आनन्दको अनुभूति लिनु पनि हो । आजको मानव र मानवता वुद्धिको वोधगम्य प्रयोग भन्दा पनि वोधविहिन वुद्धिको प्रवलता ले ग्रस्त र संक्रमित छ । परिणामत समस्थ मुक्त आत्मा देखी ईश्वर र परमेश्वरको समेत मनोरम लोक पृथ्वी तल विवेकहिन व्यापारिक वुद्धियुक्त दयाले आक्रन्त छ । हृदय र मस्तिष्कको सन्तुलित भावबाट पैदा हुने सोच वा मत नै विवेक हो । कुनै पनि मानव पूर्ण जानकार हुदा हुदैँ पनि नियतवस नितान्त स्वयंको ईच्छा, आकाँक्षा र आसक्ति पूरतालको लागि अपराध कर्म गर्न पुग्दछ । आफ्नो अपराध कर्मवाट उन्मुक्ति पाउन विभिन्न प्रकारको जाल झेल र षड्यन्त्र रच्दै जान्छ तर, नियतिले अपराधि स्वयम्लाई आफ्नो अपराध लुकाउन रचेका षड्यन्त्रको सिकार वनाई दिन्छ । जुनसुकै प्रकृतिको अपराध होस् अपराध गर्ने अपराधिलाई एक दिन उसले गरेको अपराधको दण्ड भोग्नै पर्दछ ।

युग युगान्तर देखी आज सम्म व्यक्ति, समाज र शासकबीच जति पनि संघर्षहरू भए । ति सवै द्वन्द र संघर्ष शासक र सम्भ्रान्त वर्गहरूको वुद्धि पक्षको प्रवलताले गर्ने भ्रम पूर्ण निर्णयका उपज सावित भएका छन् । हरेक मनुष्य जीवनभित्र विद्यमान चेतनाका दुई पक्ष हृदय(भाव) र मस्तिष्क (वुद्धि)  पक्षको सवल र समान प्रयोग ले नै हरेक क्रिया लाई पूर्णता दिन्छ । हृदय पक्षको प्रवलताले जहिले पनि समानता र स्वतन्त्रताको वकालत गर्दछ भने वुद्धि पक्षको प्रवलताले सधै भ्रम पूर्ण निर्णय गरि समाज लाई निरासाको जीवन जीउन विवस वनाउँछ ।  फलस्वरुप आजको विश्व हृदय(भाव) र मस्तिष्क(वुद्धि) पक्षको वियोग र द्वन्धले ग्रस्थ छ । सनातनदेखि वर्तमान सम्मको ईतिहासमा हृदय पक्ष र वुद्धि पक्षको टकरावले नै युग रूपान्तरणको अवस्था सृजना गरेको छ । अन्तत हृदय पक्षले नै सवै युगमा विजय प्राप्त गरेको छ र भविष्यमा पनि विजयी हुने निश्चित छ ।