सोमवार, बैशाख १७, २०८१

दमक नगरपालिका बढ्दो चुनावी सरगर्मी, मेयरमा ७ र उपमेयरमा ५ उम्मेदवार चुनावी मैदानमा

दमक ज्येष्ठ २० , चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा ७ र उपमेरमा भने ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  दमक नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्ने उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार दमकमा dmkभएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले दमक नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् ।

दमक नगरपालिकाको मेयर पदका लागि कांग्रेसबाट ढुण्डीराज भण्डारी, नेकपा एमालेबाट रोम ओली, नेकपा माओवादी केन्द्रबाट गगन पुरी उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट राम थापा, संघीय समाजवादी फोरम नेपालबाट सतिस साह, विवेकशील नेपाली दलबाट सुवास सुवेदी र स्वतन्त्र रुपमा अर्जुन बुढाथोकी पनि दमकको मेयरको रुपमा उम्मेदवार बनेका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई, नेकपा एमालेबाट गीता अधिकारी, नेकपा माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रीता श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालबाट गंगा राई शेर्मा उम्मेदवार बनेका छन् । कांग्रेसका मेयरका उम्मेदवार भण्डारी र माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले आफू विजयी भएका पाँच वर्षसम्म कुनै पनि सरकारी तलबभत्ता नलिने र उक्त रकम विपन्न समुदायको हितमा खर्च गर्ने उद्घोष गरेका छन् ।  भण्डारीले नगरबासीको आयस्तर समेत उल्लेख गर्ने प्रोफाइल बनाएर पाँच वर्षभित्र नगरबासीको आम्दानी दोब्बर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे । एमालेका तर्फबाट मेयरका उम्मेदवार ओलीले रतुवा र मावा नदी तटबन्ध गरी ग्रिडवेल्ड निर्माण लगायतका योजना प्रस्तुत गरे ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले विकासका ठूला परियोजना दमकमा भित्र्याएर नेपालकै पहिलो नमूना शहर बनाउनुका साथै दमकलाई भारत–चीन, पहाड–मधेसको ट्रान्जिट पोइन्टको रुपमा विकास गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, दमकलाई उपमानगर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे । सबै उम्मेदवारले नगरलाई बन्दमुक्त, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् । त्यस्तै महिला सशक्तिकरण, बाल र युवा सशक्तिकरण, बुद्धको अग्लो मूर्ति स्थापना, भ्यूटावर निर्माण, प्लाष्टिकमुक्त नगर, महिलाका लागि हेल्प डेक्स, प्राविधिक शिक्षा प्रदान, व्यवस्थित आर्यघाट निर्माण, विश्वविद्यालय र मेडिकल कलेजको स्थापना, १२ सम्मको शिक्षा निशुल्क, हरित नगरी, चन्दा आतंक बन्द लगायतका एजेण्डा समेत उम्मेदवारले प्रस्तुत गरेका थिए ।
दमक नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको छ बुँदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् । त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहीत बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहीत कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुले को प्रतिबद्धता अभिव्यक्त गरेको उक्त छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  तस्वीर : विनोद पाण्डे