शुक्रबार, बैशाख १४, २०८१

नेपालगञ्ज दङगा : २०६३, नागरिक समाजको निर्णायक भूमिका

   १० पुस बिहानैदेखि पार्टीका नगर कार्यकर्ताहरू लाठी, फलामे रड आदि लिएर होटल, कलकारखाना, यातायात र बजार बन्द गराउन सक्रिय भए ।अघिल्लो समय जस्तै नेपालगंज शहर लगभग पूर्णतः बन्द थियो, तर नेपालगञ्ज नर्सिङहोम अगाडिका साना होटलहरू खुल्लै थिए ।

वसन्त उपाध्याय ,

 नेपालगञ्ज एउटा राजनीतिक पार्टीले आफ्नो अस्तित्व र शक्ति प्रदर्शन गर्न खोज्दा पार्टीका नयाँ कार्यकर्ताहरूबाट हुन गएको दम्भ प्रदर्शनले मध्यपश्चिम नेपालको सदरमुकाम नेपालगञ्जमा देश नै हल्लाउने गरी हिंसात्मक दंगा फैलियो । आठ वर्षअघिको यस दंगामा एक युवकले अनाहकमा ज्यान गुमाए, कैयौं घाइते भए, धेरै भौतिक क्षति भयो । पाँच वटा धर्म मान्ने मानव समूहको बसोबास रहेको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक शहर नेपालगञ्जमा भएको त्यस बर्बादीको कारण भने धार्मिक र साम्प्रदायिक थिएन, राजनीतिक थियो । प्रशासन र प्रहरीले १०÷१२ जना युवाहरूलाई बेलैमा सम्झइ–बुझइ गर्न सकेको भए सम्भवतः त्यो घटना टर्ने थियो । तर नागरिक समाज सचेत र सक्रिय भएकोले घटनाले संहारकारी रूप लिन पाएन । नेपालगञ्जको नागरिक समाजको जस्तै अन्य स्थानका नागरिक समाजले पनि दायित्वबोध गर्ने हो भने हिंसात्मक द्वन्द्व न्यूनीकरण गर्न कठिनाइ हुने छैन ।

८ देखि १२ पुस २०६३ मा नेपालगञ्जमा हिंसात्मक द्वन्द्व भए । स्थानीय राजनीतिकर्मी र प्रशासन तथा प्रहरी संयन्त्रले यस घटनालाई धार्मिक तथा साम्प्रदायिक दंगाको रूपमा लिएर भड्काइदिए । जसको परिणाम नेपालगञ्ज शहर र नगरवासी सर्वसाधारणले ठूलो क्षति बेहोर्नु प-यो । २०६३ सालमा मधेश आन्दोलनले उत्कर्षको रूप लिंदै थियो । नेपालको राजनीतिमा पहाडे—मधेशी मुद्दाले ठूलो आकार लिइसकेको थियो । यस्ता राजनीतिक द्वन्द्वले बाँके जिल्लामा पनि गहिरो प्रभाव पारिसकेको थियो ।

घटनाको बीज :   त्यसबेलाको देशका प्रमुख सात राजनीतिक दलमध्येको एक थियो, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) समूह । यो समूह माउ पार्टीबाट भर्खरै टुक्रिएको थियो । गठन हुनासाथ यस पार्टीले समान जनसङ्ख्या तथा भूगोल र सांस्कृतिक एकरूपताको आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने मुद्दा अघि सारेको थियो । अन्तरिम संविधानमा नयाँ व्यवस्था नभएकोले र पुरानै तरीकाले २०५ निर्वाचन क्षेत्र कायम राख्न खोजेको भनी राजनीतिक असन्तुष्टि जनाएको थियो । त्यसैले नयाँ निर्वाचन क्षेत्र कायम गरी मधेश र मधेशीलाई समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्थाको माग राखेर ३ देखि ९ पुससम्म दबाबमूलक कार्यक्रम गरेर १० पुस मधेश बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसको पूर्वसन्ध्यामा पार्टीका नेपालगञ्ज निवासी नगर कार्यकर्ताहरूले ८ र ९ पुस प्रचारप्रसार गर्दा पनि छिटफुट घटना भएका थिए । जसका कारण शहरमा त्रास फैलिएको थियो ।  १० पुस बिहानैदेखि पार्टीका नगर कार्यकर्ताहरू लाठी, फलामे रड आदि लिएर होटल, कलकारखाना, यातायात र बजार बन्द गराउन सक्रिय भए । अघिल्लो समय जस्तै नेपालगंज शहर लगभग पूर्णतः बन्द थियो, तर नेपालगञ्ज नर्सिङहोम अगाडिका साना होटलहरू खुल्लै थिए । माओवादीले सशस्त्र द्वन्द्व चलाएको समय र कडा भन्दा कडा बन्दका दिनहरूमा पनि यी होटलहरू खुल्थे । किनभने यी होटलहरूले नर्सिङहोमका बिरामी र तिनका कुरुवालाई दूध, तातोपानी र बिरामीको खाना पकाउने सेवा दिन्थे । त्यसदिन मध्याह्नतिर बजार बन्द गराउन हिंडेका सद्भावना पार्टी (आ) का केही कार्यकर्ताहरूले यी होटलहरूलाई पनि बन्द गराउन खोजे ।
बर्दिया पाताभार–८ का नवराज सन्ज्यालले चलाएको सुर्खेती कैलाली होटल, बर्दिया बनियाभार–५ का ठाकुरप्रसाद अधिकारीले चलाएको सुर्खेती बर्दिया होटल, दाङ मानपुर—५ का निमबहादुर केसीले चलाएको दंगाली मामा होटल र बाँके बागेश्वरी—२ का वीरबहादुर रोकामगरले चलाएको खजुरा भूपू सैनिक होटलले अस्पतालका बिरामी र तिनका कुरुवाहरूलाई आवश्यक पर्ने दाल, जाउलो, तातोपानी, दूध र खाना आदि पकाएर राखेका थिए । बिरामी र कुरुवाहरूले आवश्यक सामग्री लिंदै थिए ।
बजार बन्द गराउन हिंडेका पार्टीका कार्यकर्ताहरू नवयुवक थिए । उनीहरूलाई ती होटलहरू खुल्लै रहेको र कारोबार गरिरहेको सह्य भएन । उनीहरू भर्खरै राजनीतिमा आएकाले अपरिपक्व थिए । यी होटलहरू किन सधैं खुला राखिन्छ भन्ने जानकारी उनीहरूलाई थिएन । त्यसैले उनीहरूले चार वटै होटलमा पसेर बन्द गर्न दबाब दिए, केही विवाद भएपछि एकाएक तोडफोड गर्न शुरू गरे ।
बिरामी र कुरुवाका लागि बनेका खाना फालिदिए । पानीका ड्रम फुटाए, भान्साका सामग्रीहरू फालिदिए । दाल–चामल पोखिदिए । मःम पकाउने भाडाहरू कुच्याइदिए । खाना खाने टेबल र कुर्सीहरू तोडफोड गरे । यसै घटनाको मौका पारेर केही उच्छृंखल व्यक्तिहरूले लुटपाट गरे, होटल धनीहरूलाई कुटपीट गरे । यस्ता घटना हुँदा नजिकको प्रहरीले रोक्ने कोशिश गरेन । पीडित होटलवालाहरू भन्छन्, “प्रहरी आएर सम्झइ–बुझइ गरेको भए केटाहरू नयाँ थिए, मान्थे होलान् । तर हेरेर बसिरहे । छाडा केटाहरू उग्र भएर आगो लगाउन थाले ।”
घटनाका पीडितको निवेदन केलाउँदा पहिलो दिनको घटनामा न्यू मामा दंगाली होटल, खजुरा भूपू सैनिक होटल, सुर्खेती कैलाली होटल र सुर्खेती बर्दिया होटल गरी चार वटा होटलमा करीब रु.५० हजार जतिको क्षति भएको थियो । यति क्षति हुँदा नै प्रशासन र प्रहरीले स्थिति सम्हाल्न तदारुकता देखाएको भए अरू क्षति हुन पाउने थिएन ।
दोस्रो दिन भाडाका गाडी, बस र माइक्रो बसमा आक्रमण भयो । तोडफोड, लूटपाट र आगजनी भए । माछा, मासु, मण्डी, फलफूल व्यापारी, फुटकर व्यापारी र निम्नवर्गका व्यापारी लुटिए ।

आगोमा घ्यू :    झुप्रा होटलहरूमा आगो लगाएपछि उन्मत्त भएका युवाहरूले नजिकैको हयात इन्टरप्राइजेजमा पनि आगो झेसिदिए । यो पसल स्थानीय मुसलमान ऐजाज अहमद सिद्दिकीको थियो । ऐजाज सम्झ्न्छन्  “प्रहरीको आँखै अगाडि मेरो पसल लुटियो । कलरपेन्ट पसलमा लूटपाट भयो । त्यहाँ आगो झेसिदिए । म माथि अत्याचार भैरहेको दृश्य प्रहरी र अरू सबैले हेरिरहे । मेरो त सर्वस्व नै पारिदिए । तर कसैले सहायता गरेनन् ।” यसपछि यही समूहले सुर्खेत रोडमा लामो समयसम्म तोडफोड गरे । प्रहरी र प्रशासनको उपस्थिति नदेखेपछि सद्भावना पार्टीका कार्यकर्ताहरूले पहाडे समुदायलाई कुटपीट गर्न थाले । आक्रमणमा परेकाहरूको बचाउ गर्न स्थानीय हिन्दू युवाहरू घटनास्थलमा आए । यसपछि आगोमा घ्यू थपियो । हिन्दू युवाहरूले मुसलमान माथि आक्रमण गरे भन्ने हल्ला फैलियो । अर्कोतिर मधेशीहरूले पहाडियाहरूमाथि आक्रमण गरे भन्ने हल्ला फैलियो । अनि त्रिपक्षीय हिंसात्मक भिडन्त शुरू भयो । हिंसाले धार्मिक र साम्प्रदायिक रूप लिइसक्दा घटनाका मुख्य कारक सद्भावना पार्टीका केही कार्यकर्ताहरूको कर्तुत जति लोप हुन गयो ।

त्यसदिन भीडको आक्रमणमा परेका एनुल जेदा सलमानी भन्छन्, “म मधेशी, मुसलमान माथि आक्रमण हुँदा पहाडे पत्रकारहरू तस्वीर खिच्दै थिए । तीमध्ये कोही पनि मलाई सहायता दिन आएनन् ।”  १० पुससम्मका घटनाहरू सामान्य तहकै थिए । तर घटना नियन्त्रण गर्न प्रहरी र प्रशासनको उपस्थिति नदेखेपछि, दंगाकारीहरू झ्न्–झ्न् उग्र हुँदै गए । भोलिपल्ट, ११ पुस दिनभरि नै हिंसात्मक दंगा भयो । यस दिन चाहिं पहाडे, मधेशी र मुसलमानहरूले भिन्ना भिन्नै मोर्चा बनाएका थिए । नेपालगञ्ज निवासी तीन वटा साम्प्रदायिक समूहमा विभाजित भएर एकअर्कामाथि आक्रमण गर्न लागे । परिमाणतः १२ पुस झ्न् ठूलो दंगा भयो । अतिवादीहरूले नगरमा लूटपाट र आगजनी गरे । द्वन्द्वले हिंसात्मक रूप लियो ।

साम्प्रदायिक मोर्चा:  बाँकेमा केही हिन्दू अतिवादीहरूले विगत दुई दशकदेखि आफ्नो संगठन बढाइरहेका छन् । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको केन्द्रीय तहमा बाँके जिल्लाबाट पनि प्रतिनिधित्व भएको थियो । भारतको हिन्दू अतिवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले बाँकेमा शाखा गठन गरी हिन्दू अतिवादी युवाहरू संगठित गरेर जिल्ला कार्य समिति नै बनाएका छन् । यहाँ अर्जुन शक्ति केन्द्र, रामशक्ति दल र पशुपति लाठी समिति जस्ता हिन्दूवादी संगठन पनि क्रियाशील छन् ।
हिन्दू मोर्चाको प्रतिवाद गर्न मुस्लिम समुदायका कट्टरपन्थीहरूले पनि गोप्य संगठन बनाएका छन् । तर नेपालगञ्जमा सानो घटना हुँदा पनि यिनी मोर्चा बनाएर उपस्थित हुन्छन् । यिनीहरूको मोर्चाले धार्मिक भावनामा खेल्ने गरेका हुनाले जो जतिखेर पनि दंगामा आउन सक्छन् ।  यहाँ मधेशी र पहाडियाका नाममा कुनै संगठन अस्तित्वमा छन । तथापि मधेश आन्दोलन पछि मधेशी र पहाडे छुट्याउने राजनीतिक रागले दुवै समूहलाई भावनात्मक रूपमा अलग्याएको छ ।
पुस २०६३ को दंगामा पनि यी चारवटै मोर्चाको संलग्नता थियो । तर सो दंगाले ‘हिन्दू—मुस्लिम’ समुदायमा सबैभन्दा बढी क्षति पु-यायो । किनभने यी दुवैसँग संगठित लडाकू थिए ।

प्रशासनप्रति आक्रोश :
१२ पुसको बिहानैदेखि उठेको दंगा नियन्त्रण गर्न प्रहरीहरू मोर्चामा आए । भीड बढी भएको हुनाले तितरवितर गर्न गोली चलाउँदा बिहानको ८ बजेतिर नै प्रहरीको गोली लागेर कमल गिरीको मृत्यु भयो । अनि प्रशासनले नेपालगञ्जमा कफ्र्यू लगायो ।  मधेशी युवकको मृत्यु भएपछि, पहाडियाहरूलाई बचाउन प्रशासनले कफ्र्यू लगाएको भनेर मधेशी र मुसलमानहरू उग्र भए । कफ्र्यूपछि साम्प्रदायिक दंगाले पनि उग्र रूप लियो । यस समूहले मृतक गिरीलाई शहीद घोषणा गर्न, उनको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र गैरकानूनी हत्या भएको विषयमा न्यायिक छानबीन गराउन माग गर्दै दंगा बढाउन थाले ।  प्रहरीको गोली लागि मारिएका कमल गिरीलाई ‘शहीद’ सरहको सम्मान र दोस्रो जनआन्दोलनका शहीदहरूलाई दिए सरहको रु.१० लाख दिने सहमति भएको थियो । यस सहमतिलाई प्रशासनले स्वीकार गरिदिएको भए पनि दंगा बढ्न पाउने थिएन ।
यस बाहेक प्रहरीको गोली लागि गम्भीर घाइते भएका पुरैना–२ का हफिज खाँ, वडा नं. १५ की बालिका मानषी लखेर, वडा नं. ९ का सुधीर (पप्पू) लखेर, वडा नं. ४ का मोहम्मद नादिर खाँ र रामदुलारे वैश्य, वडा नं. १० का राजु वर्मालाई उपचारको व्यवस्था मिलाउने सहमति पनि भएको थियो । घटनामा १४ जना गम्भीर घाइते र अंगभंग भएका थिए भने ५२ घर पसल तोडिएका, आगो लगाइएका र लुटिएका थिए । तर यी कसैलाई पनि प्रशासनले सान्त्वना दिने काम गरेन । उल्टो बेवास्ता गरिएपछि दंगाले उग्ररूप लिएको थियो ।

जनताको आक्रोश : पुस ११ मा नेपालगञ्ज नगरभित्र कफ्र्यूको घोषणापछि (दिनको ११.३० बजेपछि) भएका आगजनी, तोडफोड र लूटपाट जस्ता घटनाको जिम्मेवारी तत्कालीन बाँकेका प्रमुख जिल्ला अधिकारी तिलकराम शर्माले लिनुपर्दछ भन्ने माग स्थानीयवासीहरूको थियो । स्थानीय बासिन्दाले प्रजिअलाई शान्ति सुरक्षाको उचित व्यवस्था नगरेको आरोप लगाएका थिए ।  यसैगरी बाँके जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख रमेश भट्टराईको नेतृत्वमा खटिएको प्रहरीले जथाभावी गोली चलाउँदा युवक कमल गिरीको हत्या भएको र अन्य निर्दोष, अबोध तथा दंगामा संलग्न नै नभएका व्यक्ति र बालबालिकालाई समेत गोली लागेको हुँदा निजलाई पनि कारबाहीको माग राखिएको थियो । स्थानीय मो. नादिर खाँले आफूलाई गोली हान्ने व्यक्ति जिल्ला प्रहरी कार्यालय बाँकेका असई प्रमोद क्षेत्री हुन् भनी लेखाएका थिए । तर प्रहरीले वास्तै नगरेपछि दंगाले उग्र रूप लिन थाल्यो ।

नागरिक समाजको भूमिका:
प्रहरी र प्रशासनले दंगा समूहलाई रोक्न र नियन्त्रणमा लिन नसकेपछि स्थानीय आठ राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, नेपालगञ्ज उद्योग व्यापार संघ आदि समाधान खोज्दै अघि सरे । यस समूहले तुरुन्तै बैठक गरेर, स्वतन्त्र र निष्पक्ष छानबीन आयोग गठन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरे । यस समाचारले दंगा गर्ने बीच सान्त्वनाको संचार गरायो । तर दंगा फसाद घटेको थिएन । यसैबीच नागरिक समाजले शान्ति तथा सद्भाव जुलूस निकाल्ने तयारी गरे ।
तर पहाडे समुदायतर्फको आक्रोशित भीडले गिरीमाथि गोली चलाउने प्रहरी र सिडिओलाई कारबाही नगरेसम्म शान्ति तथा सद्भाव जुलूस निकाल्न नदिने बखेडा झ्क्नि थाले । उनीहरूले व्यापार संघको कार्यालयमा ढुंगामुढा गरे ।
यस्तो अवरोधका बीच पनि नागरिक समाजले शहरका गल्ली, चोकहरूमा “हिमाल पहाड तराई, कोही होइन पराइ”, “हिन्दू, मुस्लिम, बौद्ध, शिख, इसाई सबै नेपाली दाजुभाइ” जस्ता नाराहरू लगाएर नगर परिक्रमा शुरू गरे । यो अभियान सफल भयो । नेपालगञ्जका घर–घरमा शान्ति तथा सद्भाव र साम्प्रदायिक सद्भाव कायम राख्नुपर्ने सन्देश पुगे । प्रशासनले कफ्र्यू लगाएको समयमै निकालिएको जुलूसले नगरमा दंगा मत्थर गराउन र शान्ति फर्काउन महŒवपूर्ण भूमिका खेल्यो । यसपछिको दोस्रो दिन नै नेपालगञ्जको जनजीवन सामान्य हुन थाल्यो ।

प्रतिवेदन फालियो : आठ राजनीतिक दलका नेता आठ जना, उद्योग व्यापार संघको कार्य समितिले तोकेको नागरिक समाजको प्रतिनिधि– एक जना, नगरपालिकाका इन्जिनियर, प्राविधिकहरू र नगरविकास समितिका सदस्यसचिव, प्राविधिक इन्जिनियर समेतको ‘क्षति मूल्याङ्कन र निर्धारण समिति’ संयन्त्र गठन गरेर क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिने भनिए पनि त्यस आयोगले कुनै काम गरेन ।
यसपछि सरकारले नेपालगञ्ज घटना (१०–१२ पुस २०६३) जनस्तरीय नागरिक छानबीन समितिको गठन गरी जाँच गरायो । यस समितिका संयोजक अधिवक्ता शालिकराम सापकोटा भन्छन्, “घटना हुनुमा स्थानीय राजनीतिक दलका अगुवा जिम्मेवार थिए । स्थानीय प्रशासनले अवस्थालाई सही रूपमा बुझन नसक्नु नै ठूलो गल्ती थियो ।”
यसपछि पुरुषोत्तम पराजुलीको अध्यक्षतामा द्रोणराज रेग्मी र सुखचन्द्र झ सदस्य रहेको आयोग गठन भयो । यी दुवै आयोगले छानबीन गरी प्रतिवेदन दिए । तर सरकारले कार्यान्वयन गरेन ।
आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको झेंकमा बाँके जिल्लाका पीडितहरूले ११ पुसको दिनलाई ‘कालो दिन’ का रूपमा सम्झ्ने गरेका छन् । सरकारको यस्तो व्यवहारले नेपालगञ्जवासीहरू हिन्दू—मुसलमान र पहाडे—मधिशे दुवै आक्रोशित छन् । यो आक्रोशको आगोले कुनै पनि बेला नेपालगञ्जलाई फेरि जलाउन सक्छ ।

पुरानो तुष : २०४९ सालमा बाँकेसँग सीमा जोडिएको जिल्ला दाङको तुल्सीपुरमा दुई युवा समूहबीच भएको झ्डपलाई पनि हिन्दू–मुस्लिमबीच भएको दंगा भनी प्रचार गरिएको थियो । त्यस प्रचारका कारण नेपालगञ्जका मुसलमान निकै आक्रोशित थिए । सन् १९९० मा भारतीय जनता पार्टीले हिन्दूत्वको राग बढाएर बिहार र उत्तरप्रदेशमा रथयात्रा गरेको थियो । उनीहरूले राम जन्मभूमि निर्माण गर्ने भनी अयोध्याको बाबरी मस्जिद ढालिदिएका थिए । यस घटनाले नेपालका मुसलमान हिन्दू जमातदेखि क्रूद्ध थिए । भारतमा भएको अन्यायको विरोधमा उनीहरूले नेपाली कांग्रेसका नेता तथा वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको नेपालगञ्जस्थित सुर्खेतरोडमा रहेको घरमा ढुंगामुढा गरेका थिए ।  २०५४ सालमा मुस्लिम समुदायको पवित्र चाड मोहर्रमका बेला स्थानीय मुसलमानहरूले ताजिया निकाल्दा अतिवादी हिन्दू युवाहरूले विना कारण विवाद झ्किेका थिए । त्यसबेला हिन्दू र मुस्लिम साम्प्रदायिक झ्डप भएको थियो । जसमा बाँके जयसपुर गाविसका फज्जल कबाडियाको मृत्यु भएको थियो ।

दंगाको असर :  नेपालगञ्ज नगरको भित्री भागमा वर्षौंदेखि ‘हिन्दू–मुस्लिम’ र पहाडे तथा मधेशीको संयुक्त बसोबास थियो । यस पटकको दंगा अतिवादी स्वरूपको हुनाले ‘हिन्दू–मुस्लिम’ र मधेशी—पहाडियाबीच वैमनस्य बढायो । जसका कारण एक हिन्दू होटल व्यवसायीले नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्वार रोडमा सञ्चालन गरिरहेकोे ‘होटल हंगेरी’ बेचेर अन्यत्र जानु प-यो । यसपटक नगरमा स्थायी रूपमा बस्दै आएका स्थानीय हिन्दूहरूमाथि पनि जमेर प्रहार भएको थियो । उनीहरू पनि नगरभित्रै आन्तरिक बसाइँसराइ गर्न बाध्य भए । हिन्दू समुदायका सर्वसाधारणहरूले पुरानो बासस्थान छोडेर नगरकै सुरक्षित स्थानतिर बसाइँ सरे । मधेशी र पहाडिया भन्ने विभेद चलेको हुनाले नगरको तेजनगर, बसपार्क, वाटरपार्क क्षेत्रमा बसेका पहाडेहरू बसाइँ सरेर उत्तरी क्षेत्रमा सर्न बाध्य भए ।
(यूएनडिपी र खोज पत्रकारिता केन्द्रको सहकार्यमा)