शुक्रबार, बैशाख १४, २०८१

सुकुम्बासी-प्रहरी झडप सत्तरीभन्दा बढी घाइते

 विराटनगर वैशाख २४, वर्षौदेखि आफुहरूले भोगलचन गर्दै आएको जग्गाको धनीपूर्जा पाउनुपर्ने माग राखेर पूर्वपश्चिम लोकमार्ग बन्द गर्दै आन्दोलनमा उत्रिएका सुकुम्बासी र प्रहरीबीच मोरङको पथरीमा मंगलबार दिनभर झडप भएको छ। झडपमा २० भन्दा बढी प्रहरी र ५० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। झडपका कारण पथरी क्षेत्र दिनभर तनाउपूर्ण रह्यो। आन्दोलनकारीहरूले यात्रुबहाक बससहित आठवटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन्। झडपमा इलाका प्रहरी कार्यालय उर्लावारीका दुई प्रहरी निरीक्षकहरू बेदप्रसाद गौतम र इलाका प्रहरी कार्यालय पथरीका रामकुमार यादव सहित २२ प्रहरी घाइते भएको समाचार किशोर बुढाथोकीको वाईलाईनमा आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।

get_img (1)सुकुम्बासीबाट भएको ढुंगामुढाबाट घाइते भएकामध्ये तीन प्रहरीको अवस्था गम्भीर छ। घाइते प्रहरी जवानहरू अंकबहादुर विक, विष्णुकुमार कार्की र दिपेन्द्र महतोको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दोहोरो झडपका क्रममा पचासजनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी सुकुम्बासी पक्षले दिएको छ। सडक बन्द गर्ने, सवारी साधनमा आगजनी गर्ने र प्रहरी माथि आक्रमण गर्ने ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये सुकुम्बासी समस्या पहल तथा संघर्ष समितिका संयोजक जहरमान लिम्वु, सहसंयोजक मेघनाथ लिम्वु सहित २३ जना विरूद्व विभिन्न प्रकृतिका मुद्दा चलाउने तयारी गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए। पोखरेलका अनुसार २३ जना बाहेक अरुलाई आगामी दिनमा अराजक गतिविधिमा नउत्रने सर्तमा मंगलबार साँझ छाडिएको छ। नियन्त्रणमा राखेकाहरूलाई आगजनी, सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरिएको एसपी पोखरेलले बताए। यात्रु बोकेको बसमा आगजनी गरेर यात्रा गरिरहेका यात्रुहरूको ज्यान जोखिममा पार्ने कार्यमा संलग्नलाई आगजनी, ढुँगा मुढा गर्नेहरूलाई सार्वजनिक अपराध र प्रहरीमाथि आकर्मण गरेर गम्भिर घाइते बनाउनेलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी पोखरेलले बताए।

संघर्ष समितिमा रहेकाहरू सबैलाई मुद्दा चलाइने छ, एसपी पोखरेलले भने, ुसंघर्ष समितिमै रहेकाहरूको उक्साहट र निर्देशनमा घटना भएकाले समितिमा रहने कसैलाई पनि छाडिने छैन। ुमंगलबार विहानैदेखि झडप भएर पथरी तनावग्रस्त बनेपछि प्रहरी प्रमुख एसपी पोखरेल र प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की घटना स्थलमै पुगेका थिए। स्थिती अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन घटना स्थलमा सुरक्षा प्रमुख नै पुग्नु परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपनि अवस्था असामान्य बन्दै गएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको थियो। आन्दोलनकारीले दुईवटा यात्रुबहाक बस र दुईवटा ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका छन्। थप एउटा बस, दुईवटा मारुती भेन र प्रहरीको एउटा मोटरसाइकलमा समेत आन्दोलनकारीले तोडफोड गरेर सामान्य क्षति पुस्याएका छन्। आन्दोलनकारीले पथरीबाट दक्षिण तर्फ तीन सय बोरा सिमेन्ट लिएर जाँदै गरेको ना ४ ख ५२०२ नम्वरको ट्रक, पथरी बजारमा रोकेर राखिएको ग १ ख ४१०९ नम्बरको बस र संगै रहेको मे १ ख ११५६ नम्बरको ट्रक तथा यात्रु बोकेर पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ९२४ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। त्यस्तै आन्दोलनकारीहरूले ना ४ ख ७५६१ नम्बरको बस र को १ च ५३८२ तथा को १ च ४२७९ नम्बरको मारूति भेन र इलाका प्रहरी कार्यालय पथरीको बा २ प ११७८ नम्बरको मोटरसाइकलमा तोडफोड गर्दा ती सवारी साधनको सिसा फुटेको प्रहरीले जनाएको छ। आन्दोलनकारीले भने आगजनी र तोडफोडको जिम्मा लिएका छैनन्। आफूहरूको आन्दोलनमा घुसपैठ गर्नेहरूले सवारी साधनमा आगजनी र तोडफोड गरेको आन्दोलनका नेत्रृत्वकर्ता लोककिरण न्यौपानेले बताए। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै लठ्ठी बर्साउन थालेपछि आफुहरूले प्रतिकार गर्दा दोहोरो झडप भएको न्यौपानेको भनाई छ। न्यौपानेले आन्दोलनमा उत्र्रिएकाहरू सिन्द्र लावती, सरोज याक्खा, टंक भण्डारी समेत ५० जना बढी आन्दोलनकारी घाइते भएको दावी गरे।

सवै घाइतेको पथरीका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनको भनाइ छ। पाँच सय बढी सुकुम्वासीहरू मंगलबार विहानैदेखि पथरीको पूर्व पट्टीव्यानर राखेर सडक बन्द गराउँदै आन्दोलनमा उत्र्रिएका थिए। प्रहरीले हस्तक्षेप गरेर सडक खुलाउन थालेपछि दोहोरो झडप सुरु भएको थियो। सो क्रममा प्रहरीले आन्दोलनका अगुवाहरूलाई पक्राउ समेत गरेको हो। पक्राउ परेकालाई तत्काल छाड्नु पर्ने माग गर्दै सुकुम्वासीहरू तोडफोड र आगजनीमा उत्र्रिएका थिए। यस्तै आन्दोलनरत सुकुम्बासी समस्या पहल तथा संघर्ष समितिले मंगलबार साँझ विज्ञप्ति प्रकाशन गरेर प्रहरीले ज्यादती गरेको भन्दै विरोध जनाएको छ। प्रहरी ज्यादतीकै कारण सवै घटना भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा पक्राउ परेका आन्दोलनका नेत्रृत्वकर्ताहरूलाई तत्काल छाड्नु पर्ने र घाइतेहरूलाई उपचारको व्यवस्था गर्नु पर्ने माग गरिएको छ।