शुक्रबार, बैशाख १४, २०८१

सरोकारवाला संस्थाले पनि नगर्ने कामपाले गर्छु भन्दा पनि नदिने प्रवृतिका कारण संरक्षण कार्यक्रमले आशातित उपलब्धी हासिल गर्न सकेको छैन : हरिकुमार श्रेष्ठ

काठमाडौं असोज २२, हरिकुमार श्रेष्ठ काठमाडौं महानगरपालिका अन्तर्गत राजधानीको ऐतिहासिक मूर्त तथा अमूर्त कला, संस्कृति सम्पदाको संरक्षण एवम. यहाँको आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धनका लागि संचालित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हुनुहुन्छ । दरबार क्षेत्र संरक्षण कार्यक्रम लगायत अन्य विविध प्रासङ्गिक महत्वका विषयमा कार्यक्रमको तर्फबाट हुँदै गरेको कार्यसम्पादनका विषयमा केन्द्रीत रहेर उहाँसँग गरिएको कुराकानी  ।

  • कामपाले दरबार बेच्न खोज्यो भन्नु नै हाँस्यास्पद तर्क हो
  • महानगरिय प्रहरी, विश्वविद्यालयलाई अन्य क्षेत्रमा विकल्प सहित स्थानान्तरण गर्ने प्रसँग चलिरहेको अवस्था छ

  • संरक्षण कार्यक्रम कसरी अगाडि बढ्दै छ ?

काठमाडौं महानगरपालिकाको प्रस्तुत संरक्षण कार्यक्रम अन्तर्गत यहाँको ऐतिहासिक सम्पदाको जिर्णोद्धार गर्ने काम देखि, जुद्ध सडकमा ग्रिनरी पार्कको निर्माण, नारायण मन्दिरको जिर्णोद्धारका साथै सिंहसत्तलको जिर्णोद्धारका साथै गुठी संस्थान सँगको सहकार्यमा निकट भविष्यमानै सिहसत्तलको जिर्णोद्धार गर्नेजस्ता महत्वपूर्ण कार्य गर्नुको अलावा मठमन्दिरमा रङ्गरोगन र अन्य भौतिक निर्माणका कार्यहरु भइरहेका छन् ।

  • सहकार्यको कुरा गदै गर्दा गुठी संस्थाले काम गर्ने बेलामा कामपाले बल मिच्याई गर्छ भन्ने आरोप लगाएका छन् नी ?

हेर्नुस् यहाँका मठमन्दिर उहाँहरुको दायित्वभित्रका सम्पत्ति हो । यद्यपी सार्वजनिक महत्वका ति सम्पति र सम्पदाको संरक्षणका लागि (सिंहसत्तल) कामपाले ६०/४० को समझदारीमा जिर्णोद्धार गर्ने सहमति भएको हो । तर टेण्डर प्रक्रियामा जाँदा भएको केहि असमझदारीका कारण प्रस्तुत मन्दिरको जिर्णोद्धार कार्य अगाडि बढ्न नसकेको अवस्था हो ।

  • के उसो भए सरोकारवाला निकायबीचको असमझदारीका कारण जिर्णोद्धार नै रोकिने भयो त ?

होइन हामी कदापी त्यस्तो हुन दिन्नौ । जिर्णोद्धार प्रसंगलाई लिएर हामीले संस्थानमा पत्राचार गरिसकेको अवस्था छ । यदि यस बीचमा पनि उहाँहरुबाट यथोचित सम्बोधन भएन भने कामपाले यस सम्बन्धमा नयाँ निती अख्तियार गर्नेछ ।

  • कामपाले दरबार क्षेत्र संरक्षणको लागि फ्रि–भेहिकलका योजना कार्यान्वयनमा ल्याउँन सकेन नी किन?

काठमाडौंको दरबार क्षेत्र भक्तपुर, ललितपुरमा जस्तो चौतर्फी घेरिएको अवस्थामा छैन । अझ भनौ याँहाको दरबार क्षेत्र मेन हाइवेमा छ । न्यूरोड देखि ताहाचलसम्मको सडक दरबार क्षेत्रसंग जोडिएको अवस्था एकातर्फ छ भने अर्को तर्फ महानगरीय प्रहरी परिसर पनि यस क्षेत्रमानै भएका कारण प्रहरी कार्यालयमा आउने सवारी त्यस्तै गरी यहाँका स्थानीयमा रहेका विकल्पको शुन्यता जस्ता कारणले गर्दा योजना कार्यान्वयनमा केही व्यवधान देखिएको हो ।

  • के त्यसो भए फ्रि–भेहिकल जस्ता योजना योजनामा नै सिमित हुने भयो त ?

प्रस्तुत योजना कार्यान्वयामा कामपा एकदमै सकारात्मक छ । तर कोरसिटी त्यसमाथि पनि विद्यमान चुनौतिका कारण केही अलमलिएको मात्र हो । त्यस्तै निकट भविष्यमा नै महानगरिय प्रहरी, विश्वविद्यालयलाई अन्य क्षेत्रमा विकल्प सहित स्थानान्तरण गर्ने प्रसँग चलिरहेको अवस्था पनि छ । त्यसपछि केही गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं ।

  • दरबार क्षेत्र कार्यक्रम कला संस्कृति भन्दा पनि संस्थामुखी भएको आरोप छ । यथार्थ के हो ?

हेर्नुस् वास्तवमा भन्ने हो भने कामपाले संरक्षण कार्यक्रम यहाँको पौराणिक कला संस्कृतिक सम्पदाको संरक्षणको लागि सुरु भएको हो । तर तपाईले भन्नु भए जस्तै स्थानीय केहि संघसंस्थाहरुले प्रस्तावित काम कारवाही हामी गर्छौं भनेर अगाडि आएको छ । यसवीचमा कतिपय संघ संस्थाले राम्रा कार्य सम्पादन पनि नगरेका होइनन तर केही संघ संस्था कागजी प्रक्रियामा सिमित भएको अवस्था पनि छ । तसर्थ त्यस्ता संस्थाको पहिचान गरी संस्थागत रुपमा कार्यक्रमको तर्फबाट नै कार्य सम्पादन गर्ने लक्ष्य कार्यक्रमको रहेको छ । र त्यस्ता संस्था उपर अबका दिनमा कडा अनुगमन गरिने छ ।

  • भावी योजनाहरु ?

नयाँ योजना अन्तर्गत न्यूरोडको महाँकाल भैरव मन्दिर परिसरमा ढुङ्गा छाप्ने काम शुरु गर्दैछौं यो योजना कार्यान्वयमा गुठी संस्थासँग कुराकानी भइरहेको छ । त्यस्तै यहाँका मठमन्दिर बिहानदेखि निश्चित समयसम्म खोल्ने प्रबन्ध मिलाएका छौं । अन्य थुप्रै विकास निर्माणका योजना पनि पाइपलाइनमा रहेका छन् ।

कामपाको सरोकारवाला निकाय जस्तै गुठी संस्थान, पुरातत्व सँगको समन्वय हुन नसक्दा आशातित उपलब्धि प्राप्त हुन नसकेको देखिन्छ नि ? के भन्नु हुन्छ ?
एकदम सही कुरा गर्नुभयो । यहाँका कतिपय मठमन्दिर गुठी संस्थाको क्षेत्राधिकार भित्र छ, कतिपय सम्पदा निजी गुठी भित्र रहेका कारण कामपाले केहि गर्न खोज्यो भने विविध व्यवधान आउन थाल्छ । सरोकारवाला संस्थाले पनि नगर्ने कामपाले गर्छु भन्दा पनि नदिने प्रवृत्तिका कारण संरक्षण कार्यक्रमले आशातित उपलब्धी हासिल गर्न सकेको छैन ।

  • केहि समय अगाडि दरबार क्षेत्रमा दरबार क्षेत्र बेच्न पाइदैन भन्ने आशयका पप्लेटिङ्ग भएको थियो । के हो ? कामपाले दरबार बेच्ने योजना बनाएको नै हो त ?

कामपाले दरबार बेच्न खोज्यो भन्नु नै हाँस्यास्पद तर्क हो । वास्तवमा भन्ने हो भने दरबार क्षेत्रलाई विस्तारित गर्ने लक्ष्य अनुरुप साइड वाकर्स सँगको सहकार्यमा एकद्वार टिकट प्रणालीमा महाँकाल–भद्रकाली–रानीपोखरी हुँदै सुन्धारा र टेकू दोभानसम्म पु-याउने लक्ष्य लिइएको हो । तर अनावश्यक रुपमा भएको प्रोपोगाण्डाका कारण सफल हुन सकेन ।

  • अहिले के हुँदैछ त एकद्वारा टिकट प्रणालीको प्रसँग ?

एकद्वार टिकट प्रणाली पूर्णत रोकिएको छ । त्यसैै गरी कामपाले दरबार बेच्न खोजेको आरोप सहितको मुद्दा अदालतमा विचाराधित रहेको अवस्था छ ।

  • अन्तमा,

नेपाली मात्रको महान चाड विजया दशमी, दिपावली, नेपाल सम्बत् ११३४ (न्हूँदया भिन्तुना), छठ पर्वको अवसरमा समस्त महानगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै महानगर बनाउने अभियानमा सहकार्यको लागि अपिल चाहन्छु ।

–श्रीजन झा