बिहिबार, चैत्र १५, २०८०

नेपाल सम्वतमा नारा एउटा व्यवहार अर्को

बसन्त महर्जन/काठमाडौं कार्तिक १५, नेपालसम्वत निःसन्देह नेपालको राष्ट्रिय सम्वत हो । २०६५ सालमा मन्त्रिपरिषदबाट यसलाई राष्ट्रिय सम्वत भनेर घोषणा गरिएको छ । विगत तीन दशकदेखि यसलाई राष्ट्रिय सम्वतका रुपमा लिइनु पर्ने र सरकारी मान्यता प्रदान गर्नु पर्ने माग हुँदै आइरहेको भद्र आन्दोलनको यो सुखद् उपलब्धी हो । sankhadhar_nov-26राष्ट्रिय सम्वतको घोषणापछि पनि जनस्तरमा मात्रै मनाइँदै आएको नयाँ वर्षको उत्सव अबदेखि राष्ट्रिय स्तरमा मनाउने त भयो तर यसले अझै पनि राष्ट्रिय चरित्र लिन नसक्नु आफैमा उदेकलाग्दो यथार्थ हो ।
नेपालसम्वतको नयाँ वर्ष उत्सव थालनीमा केही स्थानिय संघसंस्थाहरुले मनाउँदै आएपनि कालान्तरमा नेपालभाषा मंकाःखलःले व्यापकता दिई नेतृत्वसमेत गरेको कुरामा दुई मत छैन । तीन दशक लामो आन्दोलन पनि यसैको अगुवाईमा भयो । यसले प्रत्येक वर्ष उत्सव मनाउन एउटा समितिको निर्माण गथ्र्यो भने हाल त्यस्तो नगरी विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरुलाई समेटेर राष्ट्रिय समिति बनाउन थालेको छ । राष्ट्रिय सम्वतका लागि राष्ट्रिय समिति भनेपछि त्यसमा नेवारबाहेक अन्य समुदायलाई पनि समेट्नु पर्ने हो तर त्यसो हुन सकेन । अनि स्वभाविक रुपमा नेपालसम्वत भनेको नेवारहरुको मात्रै सम्वत हो भन्ने धारणा बन्ने त भइ हाल्यो ।
सन् ८७९ देखि सुरु भएको यो नेपालको इतिहासमा अत्यधिक प्रचलित सम्वत हो । सुरुदेखि नै यस सम्वतको नाम नेपाल सम्वत थिएन, व्यवहारमा ‘सम्वत’ मात्रै हुन्थ्यो, पछिमात्रै नेपालसम्वत नाम रहन गयो । इतिहासको एक कालखण्डमा आएर राज्यद्वारा नै यसलाई ओझेलमा पार्ने काम पनि भयो ।

नेपालसम्वत सुरु हुँदाका नेपालीहरु अर्थात् वर्तमान नेपालमा नेवार समुदायले वर्तमानसम्म पनि दैनिक जीवनमा नेपालसम्वतलाई निरन्तरता दिंदै आएको छ । राजनीतिक सत्ता परिवर्तनको क्रमसँगै राजा पृथ्वीनारायण शाहले आफ्नो विशाल राज्यमा तत्कालिन नेपालमा प्रचलित नेपालसम्वतलाई विस्थापन गरी शक सम्वतलाई प्रचलनमा ल्याए भने त्यसको केही वर्षपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम सम्वतको प्रचलनलाई सरकारी मान्यता दिएका थिए । तै पनि नेवार समुदायले चन्द्रमानअनुसारको नेपालसम्वतलाई निरन्तरता दिंदै आएको छ । नेवार समुदायको मात्रै नभएर अन्य समुदायका साँस्कृतिक चाडपर्वहरु चन्द्रमानअनुसार नै चल्ने गर्दछ जसमा नेपालसम्वत आधारित छ । दशैं, तिहारलगायत नेपालका प्रमुख चाडपर्वको गणना नेपाल सम्वतको तिथिअनुसार नै हुने गर्दछ, न कि विक्रमसम्वतको गतेबाट । दशैं तिहारलगायत अन्य चाडपर्वहरु कुनै निश्चित गते नहुने तर नेपालसम्वतअनुसार चाडपर्वहरु निश्चित दिनमा पर्नुका कारण यही हो । नेपाली साँस्कृतिक जीवनसँग यति घनिष्ठ सम्वन्ध रहेको नेपाल सम्वतलाई नेवार सम्वतको रुपमा सीमित गरेर हेर्ने आफैमा उदेक लाग्दो कुरा हो । कुनै पनि राष्ट्रको जाति वा समुदायमा मूर्त वा अमूर्त सम्पदा हुनु सभ्यताको प्रतीक हो र यस्ता कैयौं समुदायहरुको साझा फुलवारीका रुपमा रहेको नेपाल विविधताले भरिपूर्ण छ र सम्पन्नताको यो प्रतीक हो ।

सबै राष्ट्रसँग आ–आफ्नै सम्वत हुनु पर्छ वा हुन्छ भन्ने आवश्यक छैन । नेपालसँग आफ्नै मौलिक सम्वतका रुपमा नेपाल सम्वतलगायत मानदेव सम्वत, अंशुवर्मा सम्वत पनि नरहेको होइन तर तिनीहरु प्रचलनमा छैनन् । यस अवस्थामा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा लिई सरकारी मान्यता प्रदान गर्नु पर्ने माग भएको हो । सर्वप्रथम नेपाल सम्वतका प्रवत्र्तक भनिएका शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने त्यसको ८ वर्षपछि नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा ग-यो । सुरुदेखि नै यस सम्वतअनुसारको नयाँ वर्ष उत्सव जनस्तरबाट देशभर हुँदै आइरहेको थियो भने हाल यसलाई राज्यबाट नै मनाउने भएको छ ।

नेपाल सम्वत नेवार सम्वत नै हो त ?
नेपाल सम्वतलाई नेवार सम्वतको रुपमा लिई यो त नेवारहरुको हो भन्ने धारणा पनि नपाइने होइन । यो धारणा आफ्नो ठाउँमा ठिकै होला तर यससँगै अन्य थुप्रै प्रश्नहरु पनि उठ्ने गर्दछ । नेवार समुदायसँग सम्वन्धित शब्द ‘नेपाल’ सबैको हुने, तिनै समुदायले विकास गरेको संस्कृति, सभ्यता र सम्पदा नेपाली हुने, सम्पूर्ण नेपालीको सम्पदाको रुपमा लिने तर नेपाल सम्वत मात्रै नेवार जातिको हो भन्ने धारणा, तर्क संगत छैन । नेपाल सम्वतलाई नेवार समुदायमा नै सीमित गर्दा यो समुदायलाई खासै असर पर्दैन । अन्य कुराहरुलाई पनि नेवार समुदायमा नै सीमित गर्न ल्याउँदा पनि केही असर पर्ने देखिन्न तर प्रश्न उठ्ने गर्छ, उसो भए नेवारले मात्रै अन्य संस्कृति सम्पदाहरुलाई नेपाली सम्पदाको रुपमा मान्नु जरुरी छ र रु यो सुखद् प्रश्न होइन । एक समुदायको गौवरलाई अर्को समुदायले पनि आत्मसात गर्नुको अर्थ हो, राष्ट्रिय एकताको भावना मजबूत हुनु ।
विश्व इतिहासमा एउटा सम्वतका लागि लामो आन्दोलन अन्यत्र भएको पाइन्न, जुन नेपालमा भयो । अन्य विदेशी सम्वतको ठाउँमा स्वदेशी सम्वतलाई मान्यता दिनका लागि आन्दोलन गरिनु आफैमा राम्रो हो । वास्तवमा यो आन्दोलन राष्ट्रघातविरुद्धको निरन्तर संघर्ष पनि हो । २०४६ सालको राजनीतिक परिवर्तनअघि नेपाल सम्वत पक्षधरहरुलाई साम्प्रदायिक वा अराष्ट्रिय तत्वको दर्जामा दिइएको थियो भने हाल यस सम्वतलाई राज्यले नै स्वीकारेको छ । सारमा यो नेवार समुदायकै सम्वत हो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेवार समुदायमा जातीय सचेतता ल्याउनमा यस सम्वतले ठूलो काम गरेको छ । राष्ट्रले आफ्नो पहिचानका लागि मौलिक कुराहरुलाई प्रतीकका रुपमा केही कुरालाई अगाडि सारेको हुन्छ । राष्ट्रकै नाममा नामाकरण भएको नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा स्वीकारियोस् भन्ने आग्रह वा माग नेवार समुदायको हो र यो माग स्वीकार्नु सिङ्गो राष्ट्रलाई हितबाहेक अहित छैन ।