भैरहवा अषाढ२५, बेरोजगार युवालाई स्थानीय युनिभर्सल साइन्सेज अफ मेडिकल कलेजमा जागिर लगाइदिने भन्दै रकम असुलेर नक्कली नियुक्ति पत्र बाँडेका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । युवालाई ठग्न उनले आफूलाई कलेजको चिकित्सक भएको बताएका थिए । प्रहरीका अनुसार आनन्दवन-२ मणिग्रामस्थित शेष मेडिकल नामको औषधी पसलका सञ्चालक ४२ वषर्ीय झिनक धुनिया पक्राउ परेका हुन् । उनले आफूलाई डाक्टर शेष भन्दै चिनाउँथे । ठगीमा संलग्न उनका साथी नवलपरासीको सुक्रौली-२ का राममिलन सैथावार फरार छन् । उनीहरूले कलेजको नक्कली लेटर प्याड र छाप तयार पारी युवालाई नक्कली नियुक्ति पत्र थमाएको खवर कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ।
आनन्दवनकै सागर केसी, दीपेन्द्र गुरुङ, सुष्मिता चौधरी, बालकृष्ण पौडेललगायतसँग उनले १ लाख ५० हजारदेखि २ लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ । कलेजको लेखा शाखाका नाममा नियुक्ति दिएका थिए । अंग्रेजीमा लेखिएको पत्रमा १६ हजार ८ सय ७५ रुपैयाँ तलब तोकिएको छ । त्यसबारेमा जानकारी पाएपछि कलेज प्रशासनले पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरीमा निवेदन दिएको थियो । उनीहरूबाट ठगिनेको संख्या यकिन छैन ।
‘मलाई नोकरीमा लगाइदिने भन्दै झिनकले ६ महिनाअघि १ लाख ५० हजार लिएका थिए,’ पीडित बालकृष्णले भने, ‘आफू डाक्टर भएको विश्वास दिलाउन साँझ ५ बजेमात्र पसल खोल्थे ।’ उनका अनुसार रकम लिएको धेरै महिना बितिसक्दा पनि धुनियाले स्थायी पत्र दिएका थिएनन् । पछिल्लो पटक सोधखोज गर्दा उनले असार ११ मा अन्तर्वार्ता दिन कलेजमा बोलाएका थिए । कलेज पुग्दा उनी त्यहाँ थिएनन् । फोन गर्दा उनले नियुक्तिपत्र लिन भैरहवाको नारायणस्थानस्थित साथीको एक पसलमा बोलाएपछि शंका उत्पन्न भएको थियो । युवाहरू कलेजमा पुगेपछि उनीहरूको धन्दा सार्वजनिक भएको हो । पीडितले उनलाई राति ११ बजे घरमा पुगेर हप्कीदप्की गरेपछि केहीलाई पैसा फिर्ता गरेका थिए । कलेजका कर्मचारी बताउने राममिलन सिंह नामको व्यक्तिले आफूलाई फसाएको धुनियाको दाबी छ ।