शनिबार, बैशाख ८, २०८१

सार्वजनिक रूपमा बेहुला खरिद बिक्री हुने सौराठ सभा सुरु

वीरेन्द्र कर्ण /जनकपुरधाम आषाढ १९, परम्परागत रूपमा प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा सुरु हुने बेहुला खरिद बिक्री हुने सौराठ सभा सीमावर्ती विहारको मिथिलाञ्चलमा सुरु भएको छ । खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी यस प्रथा सीमावर्ती मिथिलाञ्चलअन्तर्गत भारत मधुवनीको सौराठ गाउँमा देख्न पाइन्छ । यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक d m m ke  dulhaरूपमा बेहुला खरिद बिक्री हुने गर्छ ।

सौराठ सभाको सुरुवात १४औँ शताब्दीतिर कर्नाटक वंशका राजा हरिसिंह देवले गरेका हुन् ।  सन् १३२६ इस्वीमा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म चल्ने त्यो प्रतियोगितामा वेद, वेदान्त, योग, न्याय आदि विषयमा गहन चर्चा परिचर्चा हुने गर्दथ्यो ।  त्यस प्रतियोगितामा भाग लिएका मैथिल ब्राह्मणको विद्वता देखेर राजा निकै प्रभावित भई सहभागी सबै ब्राह्मण युवकलाई उपहारस्वरूप एक–एक कन्या दिए । भनिन्छ, त्यही बेलादेखि प्रत्येक वर्ष सौराठ सभाको आयोजनाले निरन्तरता पाइआएको छ ।

केटी पक्षका मानिसहरू आफ्ना छोरीका लागि योग्य बरको खोजीमा सौराठ सभामा आउने गर्दछन् । केटाको योग्यताअनुसार बर–बधुको मेल यहाँ हुन्छ । तर समयको परिवर्तनसँगै यो परम्परामा रूपान्तरण भई सौराठ सभा अब मैथिल कन्याका लागि बेहुला खोजी गर्ने एउटा प्रमुख केन्द्र बनेको छ ।

सौराठ गाउँमा पोखरी किनारमा रहेको प्राचीन पिपलको रुखमुनि मेला लाग्दछ । पोखरी नजिकै महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । सौराठ सभामा विवाह गर्न चाहने बेहुला मैथिली वेशभूषा धोती, चन्दन, टीका, गाजल तथा रातो टोपी (पाग) लगाएर अभिभावकसँगै भूइँमा ओछ्याएको दरीमा बसेका हुन्छन् । यदि कुनै केटी पक्षले केटा मन परायो भने बेहुलाको खानदान, उमेर, आर्थिक हैसियत र सम्भावित (दाइजो) बारे कुराकानी हुने गर्दछ ।

समयसँगै पञ्जिकार (केटाकेटी दुवै पक्षबीच कुरा मिलाउने मुख्य व्यक्ति)को भूमिकामा परिवर्तन आएको छ । केटा र केटी पक्षबीच दाइजोका लागि हुने सौदाबाजीमा उनको प्रमुख भूमिका हुन्छ । पञ्जिकारले रकम पाए कुरूप केटीलाई बत्तीस लक्षणले युक्त रहेको कन्या र केटालाई महापण्डित बनाएर सौदाबाजी गर्ने गर्दछन् ।

परापूर्वकालमा सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिबबीचको भेदभाव हटाउने प्रथाका रूपमा रहेको थियो तर कालान्तरमा आएर यो अहिले दुलहा बिक्री केन्द्र र दाइजो प्रथालाई संस्थागत गर्ने थलोका रूपमा विकसित हुन थालेको छ ।  केटाको मोल उनको पारिवारिक हैसियत, शैक्षिक योग्यता र पेसाअनुरूप लाग्ने गर्दछन् । सरकारी जागिर भएका, डाक्टर र इन्जिनियर रहेका केटाको मोल रु १५ लाखदेखि रु २० लाखसम्म हुने गर्दछ । बेहुला खरिद बिक्रीमा लमीको भूमिका निर्वाह गर्ने पञ्जिकारको कमिसन भने सुरक्षित रहने गर्दछ ।

आषाढको द्वितीयदेखि दशमी तिथिसम्म नौ दिन चल्ने यो सौराठ सभाको आकर्षण अहिले केवल गरिब ब्राह्मण परिवारमा सीमित हुन पुगेको छ । केही वर्षअघिसम्म हजारौँको सङ्ख्यामा मैथिली ब्राह्मणहरूले भाग लिने यो सभामा अहिले सहभागीहरूको सङ्ख्या घटेर गएको छ । प्रतिष्ठित ब्राह्मण समाजका अगुवाहरू भन्दछन् – सभा अविवाहित मैथिल युवकको बिक्री केन्द्रका रूपमा बदनाम भएकाले यसलाई परिवर्तन गर्न र विशुद्ध सांस्कृतिक रङ्ग दिन आवश्यक भएको छ । रासस