शुक्रबार, मंसिर २३, २०७९

 मानिसमा कमजोरी हुन्छन् त्यसलाई स्वीकार गरौ

pen-copy-gift-150x150

 -शोभाकर पराजुली

 कहिलेकाँहि हामी भावनामा बढी बगेर नेताहरूलाई भगवान सरह मान्छौं । कसैलाई साह्रै ठूलो मान्छौं र विश्वास गर्दछौंं , पछि त्यसको फल भोग्दछौं । मानिस, मानिस नै हो । ऊ साह्रै इमान्दार भएर पनि उसलाईसमेत नियममा बाँधेर के बिग्रन्छ रु भन्ने सोच राख्नु पर्ने हो । कुनै व्यक्तिको कुरा होइन सिस्टम बसाल्ने कुरा हो भन्ने हामीले सोच्न सक्नु पर्दछ । एक पटक रामसँग हनुमान साह्रै दुखी भएको कथा आउँदछ । रामको मन्दिरमा भक्तहरू जान्छन् । रामको पूजा गर्दछन् । पूजाको लक्ष्य त अन्त्यमा स्वर्ग नै पाउने हुन्छ भन्ने हामी सबैले बुझेको कुरा हो । त्यसैले रामले भक्तहरूले रामको पूजा गरेर पनि जिउँदै स्वर्गमा नलगेको नै हनुमानको दुखेसो हुन पुग्दछ । हनुमानले रामलाई भने पनि रामले मान्नु भएन तर जब हनुमानले ठूलो आग्रह गरे तब उहाँले हुन्छ भन्नु भयो । हनुमानको खुसीको सीमा रहेन । उनले सबै भक्तजनहरूलाई बोलाएर स्वर्गमा रामलाई भेट्न पाइने बताए ।book

पछि उनले आफ्नो पुच्छर लामो बनाएर सबैलाई त्यसमा समात्न भने । त्यसबाटै स्वर्गमा लग्ने उनको योजना थियो । उनी रामका भक्तहरूलाई रामसँग भेट गराउन पाउने भएँ भनेर खुसीको कल्पनामा मस्त थिए । जब मानिस पुच्छर समात्न थाले । हनुमानले करीब छ फिट उचाइमा पुच्छरलाई राखेका थिए । सबै भक्तहरूबीच कुरा हुन थाल्यो । सबैले रामसँग के माग्ने भन्नेबारे कुरा गर्न थाले । कसैले छोराछोरीको पढाइ र स्वास्थ्य, कसैले सम्पति, कसैले जागिर, कसैले राम्रो उद्योग, कसैले आफ्नो स्वास्थ्य आदि धेरै कुरा रामसँग माग्ने विचार सुनाए तर सबैको राम्रो मापन भएन । त्यसपछि एक जनाले रामसँग सुन माग्ने बारेमा कुरा गरेपछि धेरै माग्ने भन्ने होडमा दुवै हातले यति भनेर देखाउँदा उनीहरूको हात हनुमानको पुच्छरबाट फुस्क्यो । हनुमान दुखी हुदैँ राम भएको ठाउँमा माफ माग्न गए । उनले रामलाई भने–भगवान मलाई माफ गर्नु  होस् । म भ्रममा रहेछु । मानिसहरू तपाइँलाई पाउन होइन, सांसारिक सुखको लागि तपाइँको पूजाआजा गरेका रहेछन् । रामले भन्नु भएछ– त्यो मैले बुझेको थिएँ र उनीहरूको इच्छा पूरा गरेको पनि थिएँ । तर तिम्रो इच्छा पूरा गर्न मात्र मैले भक्तहरूलाई ल्याउन अनुमति दिएको हुँ । मानिसमा कमजोरी हुन्छन ।

ती कमजोरीहरू पद, पैसा, सम्बन्ध, शक्ति आदिसगँ सम्बन्धित छन । ती कमजोरीहरू मानवका साझा कमजोरी हुन भन्ने कुरालाई आत्मसात् गर्न सक्नु पर्दछ । ती कमजोरी हटाउने कमजोरी भए पनि आउन नदिने वातावरणको आश्यकता नै प्रमुख आवश्यकता हो । त्यसलाई सबैभन्दा बढी रोक्ने काम लोकतन्त्रले गर्दछ । सीता हराएपछि राम र लक्ष्मण सीताको खोजीमा गएछन् । बाटोमा हार, चुडी आदि भेटिएपछि रामले लक्ष्मणलाई यी सीताका हुन् कि होइनन रु भनेर सोधेकोछन । लक्ष्मणले जवाफ दिएछन–मलाई थाहा छैन । वास्तवमा गहना कसैको हुँदैन । चोरले लगाए चोरको हुन्छ र साधुले लगाए साधुसगँ सत्संगमा रहन्छ । यसको गुणको महत्व हो, यसलाई कसले लगायो भन्नु भन्दा सदुपयोग भयो भएन भन्ने प्रमुख हो । सुनको गुण छ, यो गल्दैन ।

यो आँफै नराम्रो हुँदैन । यसको मुूल्य राम्रै हुन्छ । तर यसको अवगुण पनि छ । त्यो हो, यसको चोरी हुन सक्दछ र नराम्रोको हातमा पर्न सक्दछ । लोकतन्त्र पनि नराम्राहरूको हातमा परेपछि यसको विरोध अर्थात् लोकतन्त्रको विरोध होइन नराम्राहरूको विरोध गर्न सक्नु पर्दछ । लोकतन्त्रलाई दुरुपयोग गर्नेहरूलाई देखाएर लोकतन्त्रको विरोध गर्ने होइन बरु आफूहरु लोकतन्त्रवादी र समाजवादी बनेर लोकतन्त्र र समाजवादको सदुपयोग गर्न सक्नु पर्दछ ।  राम्रो  वस्तु गलतको हातमा छ भनेर वस्तुको विरोध होइन, लिनेको विरोध गरेर त्यसलाई आफूले लिन प्रयास गर्नु पर्दछ । लोकतन्त्र र समाजवाद मान्नु होस , यसलाई लिनको लागि पैसा तिर्नु पर्दैन, जनतालाई विश्वासमा लिएर मत लिए पुग्दछ । त्यसैले लोकतन्त्र अरु व्यवस्थाभन्दा रामा्रे व्यवस्था हो । एकपटक माओवादी नेता प्रचण्ड प्रधानमन्त्री हुदाँ लोडसेडिङ्ग भएकोमा उहाँले लोडसेडिङ्ग हटाउन निर्देशन दिनु भएको थियो । जलविद्युत आयोजनाबाट नै कम विद्युत उत्पादन भए पछि विद्युत कहाँबाट ल्याउने रु बरु मैले त आदेश दिएकै हो भनेर जनतालाई मुर्ख बनाउन सजिलो हुन्छ ।

पहिला विद्युतगृहमा आँफैले बम हानेर विद्युत उत्पादन हतोत्साहित भएकोले विद्युत कम भएको बताउनु गैह्रलोकतान्त्रिक शक्तिको धर्म पनि होइन । त्यसो भन्न सक्ने भए उहाँ लोकतन्त्रको पक्षमा आउनु हुने थियो । लोकतन्त्रमा जनताले भाषण र कार्यको बारेमा पारख गरेर राजनीतिक दलहरूका बारेमा निर्णय गर्न पाउँदछन् । एउटा ऋषिले आफू पक्का ब्रम्हचारी भएको र आफूलाई कुनै महिलाले पनि आकर्षण गर्न नसक्ने बताएछन् । उनको कुरालाई धेरैले ठीक ठान्दै तर त्यति बढी दृढ कुरा गर्न भने नहुने हो कि रु भनेछन् । पछि उनको परीक्षा गर्न एक जना विद्वान सुन्दरीको भेषमा ऋषिको कुटीमा गएछन् । ऋषिले आफू ब्रम्हचारी भएकोले र मनलाई नियन्त्रण गर्न सक्ने भएकोले कुटीमा जोडिएको कोठामा बस्न भनेछन् । पछि रातमा उनको इच्छा फरक भएपछि ती सुन्दरीलाई कोठा खोल्न भनेछन् । धेरै प्रयत्नबाट पनि सुन्दरी तयार नभएपछि यिनलाई जसरी पनि वसमा पार्छु भनेर उनी कुटीको छाना उठाएर भित्र पसेछन् । उनको कामवासनाले उनलाई त्यहाँसम्म पु¥याएछ । सुन्दरी उठ । म जस्तो ऋषिलाई पाएपछि के दुविधामा पर्दछ्यौ भने पछि त सक्कली पुरुष र त्यसमा पनि चिनेका मानिस नै देखेपछि उनको लाजले सीमा नाघेछ । त्यसैले हामीहरू हामीमा हुने मानवीय कमजोरीलाई सिद्धान्तमा नै स्वीकार गरौं । हामीमा कमजोरी आएमा त्यसलाई हटाउने भित्री र बाहिरी माध्यमहरूलाई आत्मसात् गरौं । त्यो हटाउने माध्यम लोकतन्त्र नै हो र यसबाट नै समाजवादमा पुग्न सकिने सबैभन्दा राम्रो संभावना हुन्छ । कमजोरी देखाउने प्रक्रियाबाट टाढा भाग्न नखोजौं अर्थात् एकदलीय सर्वसत्तावादी अधिनायकवादलाई फाइदा हुने र जनतालाई दुख हुने, दास बनाउने सम्भावनालाई बल नदिऊँ र सहयोग नगरौं ।

क्रमश……..