शुक्रबार, बैशाख १४, २०८१

प्राकृतिक विपत्तीको यस घडीमा सहयोग र पुनःस्थापना कार्यमा जुट्न प्रधानमन्त्री कोइरालाको अपिल

  काठमाडौ भाद्र २, प्रधानमन्त्री सुशील कोइरालाले अविरल वर्षाले देशका विभिन्न भागमा अकस्मात बाढी पहिरो आएर ठूलो जनधनको क्षति हुन sushil-koiralaगएको घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताउँदै विपत्को यो घडीमा सबैलाई आ–आफ्नो स्थानबाट उद्धार, राहत र पुनःस्थापना कार्यमा जुट्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज एक अपिल जारी गरी ठूलो जनधनको क्षति भएको दुःखको यस घडीमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आफ्नो स्थानबाट उद्धार, राहत र पुनःस्थापना कार्यमा जुट्न आग्रह गर्नुभएको हो ।

“यो राष्ट्रिय दुःखमा समस्त मानवीय उपकारमा समर्पित सम्पूर्ण राजनीतिक दलहरू लगायत सम्वद्ध सवैमा , स्वदेशी तथा विदेशी गैरसरकारी सङ्घसंस्था, सरकारी तथा अर्धसरकारी निकायमा कार्यरत समस्त राष्ट्रसेवकलाई यस कार्यमा उदारतापूर्वक सहयोग गर्न आग्रह गनु भएको छ ।

त्यस्तै उहाँले अपिल मार्फत सरकारले प्राकृतिक प्रकोप पीडितहरूको उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, केन्द्रदेखि स्थानीय प्रशासनको समग्र शक्ति लगाइरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य शीघ्रातिशीघ्र सम्पन्न गर्ने व्यवस्था मिलाइएको र यी काममा ढिलासुस्ती, अनियमितता, अन्याय हुन नदिन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकिएको बताउनुभएको छ ।

सम्पूर्ण कार्यको सम्पादनमा केन्द्रीयस्तरमा समन्वय ल्याउन प्रधानमन्त्रीको सचिवालयअन्तर्गत प्राकृतिक प्रकोप उद्धार नियन्त्रण कक्ष स्थापना गरी क्रियाशील तुल्याइएको र उपयुक्त समयमा म आफैँ पनि यी समग्र प्रक्रियाको स्थलगत अवलोकन गरी उद्धार, राहत र पुनःस्थापना कार्यलाई गति दिन इच्छुक रहेको उल्लेख गर्नुभएको छ । “यो प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन सरकारले आरम्भ गरेको प्रयासलाई सार्थक बनाएर दुःखमा परेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शीघ्रातिशीघ्र सहयोग पु¥याउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः अनुरोध गर्दछु”, प्रधानमन्त्री कोइरालाले अपिलमा भन्नुभएको छ ।

प्राकृतिक प्रकोप पीडितको उद्धारमा खटिनुहुने, उदारतापूर्वक राहत सामग्रीसहित अन्य सहयोग प्रदान गर्नुहुने र पुनःस्थापना कार्यमा समर्पित भइरहनुभएका सम्पूर्ण राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय बासिन्दा, सङ्घसंस्थाका साथै परोपकारी र दानी महानुभावहरूलाई धन्यवाद दिँदै पुनःस्थापनाको काम सम्पन्न नभइन्जेलसम्म समस्त नेपालीको सक्रिय सहयोगका लागि पनि प्रधानमन्त्री कोइरालाले अपिलमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले सिङ्गो राष्ट्र शोकाकुल बनेको यस दुःखद् घडीमा प्राकृतिक प्रकोपमा परी जीवन गुमाउने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री कोइरालाले प्राकृतिक प्रकोपमा परी घरबारविहीन हुनुभएका समस्त नेपालीको दुःखमा सहभागिता जनाउँदै सञ्चालन भइरहेका उद्धार, राहत र पुनःस्थापना कार्यक्रमलाई गति दिएर अझ प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गर्दै दुःखको यस घडीमा म तपाइँहरूसँगै छु र रहिरहने छु भन्नुभएको छ ।