शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री मोदीले दिए मानसीलाई अटोग्राफ

काठमाडौं श्रावण १८, “नानु ! ठूलो भएपछि मानव सेवा गर्नु यही नै उत्तम कार्य हो, सेवा नै धर्म हो …” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।  दश वर्षीया मानसी शर्माको कलिलो दिमागले झट्ट यो कुरा बुझिनन् होला । तत्कालै सोधिन्– “म हजुर जस्तै बन्न चाहन्छु ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो “गुड ।”

भारतीय प्रधानमन्त्री मोदीसंँग उहाँ रहनुभएको राजधानीको हायात होटलमा मोदी प्रवेश गर्नासाथ पहिलो अटोग्राफ लिन बालिका शर्मा सफल भएकी थिइन् । आफ्ना बाबा रजनीश शर्मासंँग उनी प्रधानमन्त्री मोदीलाई हेर्न होटल हायातमा पुगेकी थिइन् ।

काठमाडौं नरदेवीमा विगत दश वर्षदेखि परिवारसँगै बस्दै आएका भारतीय मूलका रजनीश परिवारको करिब तीन दिनको प्रयासपछि उनीहरूले होटल छिर्ने अनुमति पाएका थिए । दुई दिने भ्रमणका क्रममा काठमाडाँ ओर्लनेबित्तिकै प्रम मोदी होटल हायात जानुभएको थियो । प्रधानमन्त्री मोदीले मुस्कुराउँदै बालिका शर्मालाई अटोग्राफ दिनुभएको थियो ।

होटलको मूलढोकामा प्रधानमन्त्री मोदी आज बिहान करिब ११ः३० बजे पुग्नेबित्तिकै ती बालिका अटोग्राफ लिन सफल भएकी थिइन् । केन्द्रीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत ती बालिकाले केही दिनअघि नेपालको भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसित पनि अटोग्राफ लिएकी थिइन् । हालसम्म उनले नेपाल भ्रमणमा आएका विश्व चर्चित व्यक्तित्वहरूसित अटोग्राफ लिइसकेकी छिन् । राष्ट्रपति प्रणव मुखर्जी (भारतका तत्कालीन अर्थमन्त्री), भारतीय स्थलसेनाका प्रमुख विक्रम सिंह, नेता जगन्नाथ पहाडियादेखि चर्चित क्रिकेट खेलाडी महेन्द्रसिंह धोनी, कलाकार विनोद खन्ना, गोविन्दा, रकस्टार ब्रायन एडम्सलगायतसित उनले अटोग्राफ लिइसकेकी छिन् । आफ्नो शौखका कारण उनले नेपाल भ्रमणका क्रममा ती विशिष्ट व्यक्तित्वहरूको अटोग्राफ लिएकी हुन् ।

त्यसैगरी राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, कलाकार मनिषा कोइरालासित पनि मानसी शर्माले अटोग्राफ लिने अवसर पाइसकेकी छन् । ‘‘किन अटोग्राफ लिएको ?’’ भन्ने प्रश्नमा शर्माले भनिन्, “म विश्वका चर्चित व्यक्तिहरूको अटोग्राफ लिनेमा विश्वमा नयाँ रेकर्ड बनाउन चाहन्छु ।” यही कार्यलाई अघि बढाउँदै मानव सेवामा लागिपर्ने आफ्नो धोको रहेको उनले बताइन् । रासस (सूर्यचन्द्र बस्नेत/विष्णु नेपाल)