शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस जातीयताको नाममा भुगोल र क्षेत्रलाई विभाजन गर्ने पक्षमा छैन

-मोहन बहादुर बस्नेत,क्षेत्रीय सभापति काठमाडौं काँग्रेस क्षेत्र न. ८

जहाँ काँग्रेसको उपस्थिती रहन्छ त्यहाँ नागरिकको मौलिक हकको प्रत्याभूति रहन्छ , महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा जात र व्यक्तिको मुख होइन रुख हेर्नुहुन्छ भन्ने मलाई विश्वास छ

काठमाडौं भाद्र २५, सर्वोच्च नेता एवम् प्रजातन्त्रका पिता स्वःगणेशमान सिंहको आर्दश बाट प्रभावित हुदै करिव ३ दशक यतादेखि काँग्रेस राजनितिमा संगठनका विविध जिम्मेवारी सम्हाल्दै आउनु भएका व्यक्तित्व हो मोहन बहादुर बस्नेत । काँग्रेसको १२ औं महाधिवेसनबाट काठमाडौं क्षेत्र .न ८ को क्षेत्रीय सभापतिमा निर्वाचित बस्नेतले कार्यसम्पादनमा देखाउनु भएको जुझारुपनका कारण आसन्न दोस्रो संविधानसभा निर्वाचनका लागि उहाँलाई क्षेत्र न. ८ को प्रत्यक्ष तर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरिएको छ । यसै प्रसंगमा जुझारु एवम् प्रष्टवक्ता काठमाडौं काँग्रेस क्षेत्र नं.८ का क्षेत्रीय सभापति बस्नेतसँग संविधानसभा लगायत अन्य विविध सवाल सहित गरिएको घनिभूत साक्षात्कारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ  

  • जनमुखी संगठनको ऐतिहासिक एवम् सामरिक महत्व नै  मेरो चुनाव जित्ने आधार हुन्
  • नेता र कार्यकर्ता विच सम्बन्ध भएन भने संगठन प्रभावित हुन्छ
  • काँग्रेसले मात्रै केहि गर्छ भन्ने जन विस्वास छ
  • यो सब म विरुद्ध फैलाइएको नियोचित प्रचार मात्र हो
  • मुलुकमा व्याप्त यावत अराजक स्थितिका वावजुद पनि त्यस बेला धेरै मुद्दामा काँग्रेसले काम गरेको छ
  • उहाँहरुको भाषामा नै भन्ने हो भने यो त हलो अड्काउने अनि गोरु चुट्ने दाउ मात्र हो
  • साँच्चै उहाँहरु राष्ट्रिय स्वाधिता, जनताको भविष्य प्रति उत्तरदायी हुनुहुन्छ भने पक्कै निर्वाचनमा आउनु हुनेछ भन्ने  विश्वास छ
  • निर्वाचनको विरोध गर्नु निर्वाचन हुन दिन्नौ भन्नु बेतुकका कुरा मात्र हुन्

मुलुक दोस्रो संविधानसभाको निर्वाचनमा होमिएको अवस्था छ । यसलाई कसरी लिनु भएको छ ?

पहिलो कुरा ०६२।०६३ को जन-आन्दोलनको मूल उपलब्धि भनेकै संविधान सभा हो । तर दुर्भाग्यवस आन्दोलन पछि गठन भएको पहिलो संविधान सभामा तत्कालीन राजनैतिक दलहरुबीचको तछाडमछाडका कारण जनताले ठोस उपलब्धिलाई साक्षात्कार गर्न पाएनन् । मुलुक अनिर्णयको बन्धक बन्न पुग्यो । लामो समयदेखि अनिर्णयको बन्धक रहेको मुलुकलाई निकास दिन फेरि दोस्रो संविधानसभाको निर्वाचन हुन गईरहेको छ । यो निर्वाचनले यावत संक्रमणको समुल अन्त्य गर्दै समग्रमा नेपाल र नेपालीको हक अधिकार रक्षाको ग्यारेण्टी गर्ने भएकोले प्रस्तुत निर्वाचन आफैमा महत्वपूर्ण रहेको छ ।

  • आसन्न निर्वाचनलाई लिएर आम जनमानसमा अझै पनि आशंका रहेको अवस्था छ नी त ?

मुलुकमा विकसित घटनाक्रमलाई विश्लेषण गर्ने हो भने निर्वाचन वेगर कुनै पनि अवस्थामा यहाँ विद्यमान सवैखालका अस्थिरता, अराजकता र अन्यौलतालाई सम्बोधन गर्न सक्ने अवस्था छैन । त्यस अर्थमा पनि निर्वाचन आफैमा जरुरी रहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ विधान सभाको निर्वाचनबाट राज्यमा विद्यमान राजनैतिक शुन्यतालाई सम्बोधन गरि छिटो भन्दा छिटो संविधान लेखनको कार्यलाई पूर्णता दिनुपर्ने हुन्छ । मुलुकको भविष्यका लागि संविधान सभाको निर्वाचनलाई सफल बनाउँनु पर्ने हुन्छ । यसबाट मात्रै नेपाल र नेपालीको सुनिश्चित भविष्यको मार्ग प्रसस्त गर्नका लागि पनि यत्र तत्र सर्वत्र निर्वाचनको माहौल सिर्जना गर्नु आम नेपालीको दायित्व पनि हो । समग्रमा निर्वाचनको कार्य तालिका समेत प्रकाशित भईसकेको अवस्था छ । यस्तो अवस्थामा निर्वाचन हुन्छ हुन्न भन्ने आशंका गर्नु हुँदैन ।

  • निर्वाचनको माहौल विरुद्ध केहि दल विपक्षमा उभिएको अवस्था छ नि त ?

अहिले चुनावको विपक्षमा नेकपा माओवादी लगायतका केहि दल देखिएको छ । यस प्रसंगमा मेरो प्रष्ट विचार भनेको नेकपा माओवादी जस्तो जन अधिकारको वकालत गर्ने पार्टीले मुलुकमा जनताको अधिकार सुनिश्चित गर्नका लािग हुन गइरहेको निर्वाचनको विरोध गर्नु आफैमा प्रासंगिक विषय होइन । उहाँहरुको भाषामा नै भन्ने हो भने यो त हलो अड्काउने अनि गोरु चुट्ने दाउ मात्र हो । यदि साँच्चै उहाँहरु राष्ट्रिय स्वाधिता, जनताको भविष्य प्रति उत्तरदायी हुनुहुन्छ भने पक्कै निर्वाचनमा आउनु हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ । त्यस्तै मुलुकका निर्वाचनमय भईसकेको अवस्थामा एकाध दलले निर्वाचनको विरोध गर्नु निर्वाचन हुन दिन्नौ भन्नु बेतुकका कुरा

  • चुनावी माहोलका  लागि दलहरुले आ–आफ्नो उम्मेदवार छनौटको प्रक्रिया शुरु गरिसकेको नि होइन ?

 मात्र हुन् ।

  • हो, मैले अगाडि पनि भनिसकें निर्वाचनको विकल्प छैन । निर्वाचनले नै मुलकको अस्थिर भविष्यलाई दिशानिर्देश गर्ने हुँदा सबै राजनैतिक पार्टीहरु अहिले उम्मेदवार छनौटमा जुटेको अवस्था छ ।
  • काठमाडौं काँग्रसको क्षेत्र नं.८ बाट तपाई पनि उम्मेदवारको लागि सिफारिस भएको छ होइन र ?

हो, अबको नेतृत्व युवाको भन्ने भावनालाई आत्मसात गर्दै काठमाडौं काँग्रेसले क्षेत्र नं. ८ का आम काँग्रेस कार्यकर्ता, प्रजातन्त्र प्रति विश्वास राख्ने शुभेच्छुक लगायतका मित्रहरुको आग्रह अनुरुप आसन्न संविधानसभा निर्वाचन प्रयोजनार्थ विधिगत रुपमा मेरो नाम सिफारिस भएको अवस्था छ ।

  • विधि र प्रक्रियाको कुरा गर्दै गर्दा आफ्नो नाम सिफारिसका लागि तपाईले एकाधिकार लाड्यो भन्ने आरोप छ नि त ?

हेर्नुस् यो सब म विरुद्ध फैलाइएको नियोचित प्रचार मात्र हो । उम्मेदवार सिफारिसको लागि पार्टीको निर्देशन अनुरुप वडा इकाई समितिबाट छनौट गरि पठाएको नामलाई कार्यकताको भावना अनुरुप पटक पटकको कार्यकर्ता भेला, क्षेत्रीय भेला र छलफलको निष्कर्ष अनुसार उम्मेदवार सिफारिस भएको छ । यसमा त्यस्तो एकाधिकार भन्ने सवाल नै छैन । त्यस्तै यसै क्रममा म तपाईलाई के पनि स्पष्ट पार्न चाहन्छु भने काँग्रेस क्षेत्र नं.८ मा जहाँसम्म मेरो उम्मेदवारी सिफारिसको कुरो छ । त्यो पनि कार्यकर्ताको भावना र सहमतिमा नै भएको हो ।

  • उम्मेदवारी छनौटको क्रममा क्षेत्रीय सभापतिहरुलाई पद बार्गेनिङ्गको अवसर पाएकोछ भन्छ नी ?

उम्मेदवार सिफारिस क्षेत्रले सिधै गर्ने हो भने त्यस्तो अवस्था रहला । तर काँग्रेसमा उम्मेदवार सिफारिसका लागि पहिलो वडा इकाईबाट भएको सिफारिस उपर वृहत छलफल त्यसपछि क्षेत्रीय भेलाको म्यान्डेटलाई क्षेत्रीय समितिको बैठकबाट अनुमोदन भएपछि अनुमोदित नामावली जिल्ला समिति हुँदै केन्द्रमा जान्छ । यस विचमा सबै तह र तप्कामा मोनिटरिङ्ग भएको हुन्छ । अब तपाई नै भन्नुस् कहाँ कसरी क्षेत्रीय सभापतिहरुले पद बार्गेनिङ्गको कुरा गर्छ ।

  • भोलिका दिनमा चुनाव जित्ने तपाईका आधार के हो त ?

हेर्नुस् मेरो होईन काँग्रेसको जित्ने आधार भनेको यस क्षेत्रमा काँग्रेसको गरिमा छ । काँग्रेसले मात्रै केहि गर्छ भन्ने जन विस्वास छ । त्यस्तै, काँग्रेसको इतिहास हेर्ने हो भने राणा, पञ्चायती हुकुमी शाहीलाई पराजित गर्ने शक्ति हो काँग्रेस । जहाँ काँग्रेसको उपस्थिती रहन्छ त्यहाँ नागरिकको मौलिक हकको प्रत्याभूति रहन्छ । हामी जनमुखी संगठनमा विस्वास राख्ने भएका कारण जनमुखी संगठनको ऐतिहासिक एवम् सामरिक महत्व नै  मेरो चुनाव जित्ने आधार हुन् ।

  • काँग्रेसको ऐतिहासिकताको कुरा गर्दा गर्दै काँग्रेसमा अन्तर्निहित अन्तर्घातको रोगलाई कसरी हेर्नु भएको छ ?

त्यो विगतमा होला । ०६२।०६३ को आन्दोलन पछि काँग्रेसले व्यक्ति भन्दा संगठनको मर्मलाई आत्मसात गरेका कारण अवका दिनमा त्यस्तो स्थिति रहन्न र रहने पनि छैन भन्ने मेरो बुझाई रहेको छ ।

  • हिजोका दिनमा काँग्रेस प्रतिनिधि निर्वाचित क्षेत्र नं. ८ काठमाडौंमा जनसरोकारका मुद्दालाई तत्कालीन प्रतिनिधिले सम्बोधन गर्न सकेनन भन्ने जनगुनासो छ नी ?

यहाँले भन्नु भए जस्तै यस विषयमा एकाध प्रसंग मैले पनि अनुभूत गरेको अवस्था हो । यद्यपी जनसरोकारका कुनै पनि मुद्दालाई सम्बोधन नै नगरेको भने होइन । मुलुकमा व्याप्त यावत अराजक स्थितिका वावजुद पनि त्यस बेला धेरै मुद्दामा काँग्रेसले काम गरेको छ ।

  • क्षेत्र नं.८ का क्षेत्रीय सभापति र तत्कालीन सभासदवीचको सम्बन्ध चिसिएको अवस्था छ भन्छ नी त के हो ?

एकदमै अप्ठेरो प्रसंग उठाउनु भो, तत्कालीन सभाभसद अहिले काँग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ र म बीच एकाध प्रसंगमा बाहेक त्यस्तो सम्बन्ध नै चिसिएको अवस्था होइन र छैन पनि । उहाँ मेरो नेता हो । नेता र कार्यकर्ता विच सम्बन्ध भएन भने संगठन प्रभावित हुन्छ । त्यस अर्थमा पनि हामीबीच सुमधुर सम्बन्ध छ । कार्यगत एकता छ । यसमा शंका गर्नु पर्ने अवस्था छैन ।

  • निर्वाचन क्षेत्र नं.८ मा प्रायः नेवार समुदायको वर्चश्व रहेको अवस्थामा गैर नेवार व्यक्ति उम्मेदवार हुँदा असहज हुँदैन र ?

जातीयताको कुराले गर्दा हामीले हिजोका दिनमा संविधान पाउन सकेनौ । अझै पनि जातीयताको सवालमा हामी उल्झने हो भने स्थिति झन् विकराल बन्न सक्छ । त्यसैले काँग्रेस जातीयताको नाममा भुगोल र क्षेत्रलाई विभाजन गर्ने पक्षमा छैन । त्यस्तै हाम्रो निर्वाचन क्षेत्र नं. ८ का नेवार समुदायका दाजु भाई दिदी बहिनी तथा बाबा आमा सबै चेतनील हुनुहुन्छ । यहाँ जातीय विभेद छैन । उहाँहरुले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा जात र व्यक्तिको मुख होइन रुख हेर्नुहुन्छ भन्ने मलाई विश्वास छ । त्यसमाथि पनि काँग्रेसले कहिले पनि जातीयताको सवालमा विभेद गर्दैन । ऊ सँधै हरेक जातीको समान हक र अधिकारका लागि वकालत गर्दै प्रतिबद्ध रहेको पार्टी हो भन्ने सबै जनसमुदायले बुझेका छन् ।

  • अन्तमा,

मुलुकको भविष्य रक्षाका लागि काँग्रेसका सम्पूर्ण उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी बनाई लोकतान्त्रिक संविधान बनाउने अभियानमा आफुलाई समर्पित गर्नुस् । त्यस्तै मुख हैन रुखलाई रोज्नुस्। भन्ने आग्रह गर्दै झिना मसिना उल्झनमा नअल्झि पार्टीको निर्देशन र संगठन प्रति उत्तरदायि भई देश र जनताको सार्वभौमिकताको रक्षा एवम् यसको प्रत्याभूतको लागि हातेमालो गरौं । संविधान लेखनका लागि काँग्रेसलाई पूर्ण बहुमतका साथ विजयी गराउँदै सम्पूर्ण बेठिती र अराजकताको समुल अन्त्य गर्ने महासंग्राममा प्रतिवद्धरुपमा लाग्न आग्रह गर्दछु ।

                                                                                                                                                                    – श्रीजन झा