बिहिबार, बैशाख १३, २०८१

मैले चुनाव जित्ने आधार भनेको नै मेरो विगत हो :पवित्र बज्राचार्य (उम्मेदवार)

 काँग्रेसका उम्मेदवारसँग मेरो प्रतिस्पर्धा हुन्छ

काठमाडौं कार्तिक ५, पवित्र बज्राचार्य, आसन्न संविधानसभा निर्वाचनको लागि काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार हुनुहुन्छ । विगतमा काठमाडौं महानगरपालिका वडा नं.२३ समितिमा ३ पटकसम्म वडाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएका ब्रज्राचार्यले हाल खुद्रा व्यापार संघमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । यसै प्रसङ्गमा प्रष्टवक्ता एवम् मिलनशार व्यक्तित्व बज्राचार्यसँग संविधानसभाको निर्वाचन एवम् चुनावी मुद्दा लगायतका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

–जातिय राज्य भयो भने रक्तपात हुन्छ । जातिय द्वन्द मच्चिन्छ भन्ने जस्ता भ्रम फैलाइएका कारण केहि अन्यौलता देखिएको मात्र हो 

–प्रमुख राजनैतिक दलको अकमण्र्यताका कारण जनताले संविधान पाउन नसकेकोमा जनता दुःखी छन् 

–सङ्घीय भयो भन्दैमा पर्खाल लगाएर राज्य गर्ने त होइन

 –एमाले र माओवादीको स्थिति खासै राम्रो छैन

–अनेकन विकृतिको पक्षपोषण गर्ने ठूला भनाउँदा दलहरुलाईजनस्तरबाट डण्डित गर्ने एक  महत्वपूर्ण अवसर हो ।

 

  • चुनावी माहौल निकै तात्तेको अवस्था छ । कसरी बढ्दै छन् चुनावी अभियान ?

चुनावी अभियानको कुरा गर्ने हो भने मेरो बुझाइमा अहिले पार्टी र उम्मेदवारहरुलाई जसरी चुनाव लागेको छ । त्यसको अनुपातमा आम सर्वसाधारण जनता चुनावी प्रसंगमा मौन देखिएको छ । चुनावको प्रसंगमा जनता अझै खुल्न सकेका छैनन् । उनिहरु चुनाव प्रति अनिच्छुक भएको देखिन्छ । यद्यपी चुनावी अभियान भने ठिक ठिकै अगाडि बढ्दै छ ।

  • चुनावी प्रसंगलाई लिएर जनता मौन छ भन्नु भयो । जनता उत्साहित नहुनुमा खास कारण के होला त ?

पहिलो संविधानसभाको निर्वाचनबाट जनताले नयाँ संविधान पाउने जुन आशा र विश्वास गरेका थिए, त्यो विश्वास र जनभावना माथि गरिएको खेलवाडका कारण आज जनतामा निर्वाचनलाई लिएर नैराश्यभाव देखिएको हो ।

  • त्यसबेला जातियताको सवालमा संविधान बन्न नसकेको चर्चा छ । फेरि पनि तपाईहरु जातिय मुद्दा सहित चुनावमा होमिनु भएको अवस्था छ के हो त ?

हेर्नुस् त्यस बेला जनताले चाहना गरे अनुरुपको संविधान बन्न सकेनन् । जनताले जुन आकांक्षा अभिव्यक्त गरेका थिए । अर्थात् चाहे उत्पिडनको, मुक्ति होस वा जातियताको कुरा होस् । तर त्यसबेला जनचाहना अनुरुपको संविधान बनाउनु पर्ला भनेर नै यि र यस्ता मुद्दाको नाममा संविधानसभा नै भङ्ग गरियो । प्रमुख राजनैतिक दलको  अर्कमण्यता का कारण जनताले संविधान पाउन नसकेकोमा जनता दुःखी छन् । यद्यपी अबका दिनमा जनताले चाहेको संविधान बनाउन सङ्घीय समाजवादी पार्टीले प्रस्तुत मुद्दा उठान गरेको हो ।

  • जातिय सङ्घीयता कार्यान्वयनमा अप्ठ्यारा स्थिति सिर्जना हुँन्न त ?

सङ्घीयताको प्रसंगमा अनेकन प्रोपोगण्डा अर्थात सङ्घीयता अन्तर्गत जातिय राज्य भयो भने रक्तपात हुन्छ । जातिय द्वन्द मच्चिन्छ भन्ने जस्ता भ्रम फैलाइएका कारण केहि अन्यौलता देखिएको मात्र हो । यहाँ बुझ्नु पर्ने तथ्य भनेको सङ्घीय भयो भन्दैमा पर्खाल लगाएर राज्य गर्ने त होइन नी । सङ्घीय राज्यमा जुन सुकै राज्य भए पनि त्यस राज्य भित्रका सबै नागकिरले पाउने समान अधिकार, अवसर र राज्यसत्तामा पिछडिएका जनताको समेत पहुँच पु-याउने प्रसंग हो । तर यहाँ सङ्घीयताको अवधारणा नबुझेका व्यक्तिहरुले फैलाइएका भ्रामक प्रचारका कारण केही अन्योलता सिर्जना भएको छ । विद्यमान यि अन्यौलतालाई चिर्दै नेपालमा सङ्घीय राज्य कार्यान्वयनमा कुनै अप्ठ्यारो स्थिति छैन ।

  • सङ्घीयताका साथै अन्य कुन मुद्दा जनतामाझ लाने तयारीमा हुनुहुन्छ त ?

अन्य मुद्दाको विषयमा भन्नुपर्दा जनचाहना, ईच्छा र अभिव्यक्त प्रतिक्रियालाई सम्बोधन गर्दै घोषणापत्र मार्फत नयाँ जनचाहनाका मुद्दालाई सम्बोधन गर्ने तयारी रहेको छ ।

  • निर्वाचन आउन ३० दिन बाँकी छ घोषणा पत्रि सार्वजनिक हुन सकेको छैन नी ?

झुठा आश्वासनबाट झुक्काइएका नेपाली जनताको भावनालाई सम्मान गर्न सङ्घीय समावजादी पार्टी गठन भएको यथार्थ हामीबीच घाम जस्तै प्रष्ट छ । यद्यपी हाम्रो पार्टीको घोषणा पत्र तयारी अवस्थामा रहेको छ जुन घोषणा हुन मात्र बाँकी छ ।

  • क्षेत्र नं. ८ मा चुनाव जित्ने तपाईको आधार के हो त ?

 यो क्षेत्रमा मैले चुनाव जित्ने आधार भनेको नै मेरो विगत हो । मैले वडाध्यक्षको रुपमा लामो समयसम्म गरेको जनसेवा, त्यस्तैगरि कला संस्कृति र भाषाको क्षेत्रमा गरेको योगदानका साथै विकास निर्माणको क्षेत्रमा मेरो तर्फबाट भएको क्रियाकलाप नै मेरो चुनाव जित्ने आधार हो । फेरि पब्लिक प्रेसर अन्तर्गत मेरो उम्मेदवारी रहेका कारण र मेरो नाम अनुसार नै मैले काम गर्छन् भन्ने जनविश्वास जुन मेरा आदरणीय मतदाता माझ कायम छ त्यो नै मेरो निर्वाचन जित्ने आधार हो ।

  • क्षेत्रगत रुपमा तपाईको प्रतिस्पर्धा कुन पार्टीसँग रहन्छ त ?

यहाँका प्रमुख राजनैतिक दलहरु मध्ये नेपाली काँग्रेसका उम्मेदवारसँग मेरो प्रतिस्पर्धा हुन्छ । यहाँ एमाले र माओवादीको स्थिति खासै राम्रो छैन ।

  • तपाईको उम्मेदवारी के का लागि ?

मेरो उम्मेदवारी तत्कालीन समयदेखि राज्यसत्ताबाट उत्पिडित जनजातिको राज्य प्रदत अवसर प्राप्तिको वातावरण निर्माण गर्न, त्यस्तै गरी विगतमा राजनैतिक दलहरुले गरेको जनमतको दुरुपयोगलाई सदुपयोग गर्दै जनचाहना अनुरुपको सङ्घीयता र पहिचान सहितको संविधान लेखनको कार्यभार पूरा गर्नका लागि हो ।

  • अन्तमा ?

विगतमा जनमतको दुरुपयोग गर्दै जनताको आशा र विश्वास माथि खेलवाड गर्ने र बन्दा बन्दैको संविधानलाई यो वा त्यो बाहनामा तुहाउँदै अनेकन विकृतिको पक्षपोषण गर्ने ठूला भनाउँदा दलहरुलाई जनस्तरबाट डण्डित गर्ने एक महत्वपूर्ण अवसर हो । यस अर्थमा पनि प्रस्तुत निर्वाचनको माध्यमबाट विगतमा संविधान नबनाउँने ति दलहरुलाई कारवाही गर्दै जनसंविधान बनाउँने र जनमतको कदर गर्ने सङ्घीय समाजवादी जस्तो नयाँ पार्टीलाई निर्वाचित गराउँन अपिल गर्दछु । साथै आउँदो नेपाल संवत ११३४ तथा दिपावलीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

– श्रीजन झा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2013
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930