मङ्लबार, बैशाख १८, २०८१

धुर्मुस र सुन्तलीको अभियानमा झापालीले १० लाख सहयोग गर्ने

बिर्तामोड चैत २० ,  वीरता जेसीजले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गर्ने २०७३ को उत्कृष्ट नागरिक सम्मानको तयारी संगै प्रस्तुत bb vvअभियानमा झापाबासीको तर्फबाट सघाउन रकम जुटन थालेको छ ।  झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्प पीडितको घर निर्माण अभियानमा अनुकरणीय योगदान गरेबापत धुर्मुस सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान सहित अभियानका लागि १० लाख रुपैया भन्दा बढी नगद हस्तान्तरण गर्ने तयारी भएको हो ।

वैशाख ३ गते बिर्तामोडमा विशेष कार्यक्रमकाबीच उनीहरुलाई उत्कृष्ट नागरिक सम्मान र नगद प्रदान गर्न लागिएको बताइएको उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए । आयोजक समिति सहित झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्थाका प्रतिनिधिहरुको शनिबार बिर्तामोडमा भएको वैठकले झापालीको तर्फबाट अधिकतम आर्थिक सहयोग जुटाउने निर्णय गरेको वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।

वीरता जेसीज र भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको छ । यो वर्षको कार्यक्रम अलि फरक र उत्कृष्ट बनाउन लागिएको बताइएको छ । धुर्मस–सुन्तली फाउण्डेशनले भूकम्प पीडित असहाय गरीबको घर निर्माणमा अनुकरणीय काम गर्दै आएको हुनाले उक्त अभियानमा आम झापालीको तर्फबाट पनि सहयोग पु-याउन उत्कृष्ट नागरिकको रुपमा उनीहरुलाई सम्मान गर्न लागिएको वीरता जेसीजका अध्यक्ष सञ्जु भारतीले बताए । उक्त अभियानमा सहयोग गरिदिन आयोजकले झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्था, दानवीर सवैमा आह्वान गरेको छ । सम्मानपत्र, स्वर्णपदकसहित धुर्मुस–सुन्तलीको अभियानमा सहयोग र उर्जा प्रदान गर्न करिब १० लाख रुपैयाँ प्रदान गरिने संयोजक बस्नेतले बताए । मानवीय सेवामा झापालीको योगदान समर्पित गर्न उक्त कार्यक्रममा प्रदान गरिने रकम सहयोग गर्नका लागि सबै दाताहरुमा वीरता जेसीजले आह्वान समेत गरेको हो । दाताहरुले वीरता जेसीजको संयोजनमा उक्त रकम सोझै कार्यक्रममा उपस्थित भएर धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्न सक्ने तथा उनीहरुको फाउण्डेशनमा नाम लेखाउन सकिने व्यवस्था मिलाएको बताइएको छ ।