मङ्लबार, बैशाख १८, २०८१

बुधबारे जेसीजको नयाँ नेतृत्व चयन

बुधबारे पौष २८,  बुधबारे जेसीजको पाँचौ साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । जेसी हेमन्त वरालको संयोजकत्व , बर्ष २०१६ का अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व तथा रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यमा विहिबार भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । साधारण सभाले रमेश बरालको अध्यक्षतामा नेतृत्व चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा प्रकाश भण्डारी र चन्द्र कटवाल रहेका छन् भने उपाध्यक्षहरुमा दिपेन सिटौला, हेमन्त वराल, ज्योति आचार्य र थेगु साँवा लिम्बू रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ठ अतिथि मातृ शाखा विर्ता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय पदाधिकारी विनोद वस्नेत, अतिथि अर्जुनधारा जेसीजका वर्ष २०१६ का अध्यक्ष सार्दुल ओली, सल्लाहकार मनोरथ तिवारी लगायतले बोलेका थिए । बोल्ने बक्ताहरुले स्थापनाको छोटो समयमा नै बुधबारे जेसीज उत्कृष्ठ शाखाको रुपमा आफूलाई स्थापित गराउन सफल भएको बताएका थिए ।

बुधबारे जेसीजका पूर्व अध्यक्ष फडिन्द्र चापागाईले निर्वाचन मण्डल प्रमुखको भूमिका निभाएका थिए भने मातृ शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय पदाधिकारी विनोद वस्नेतले नयाँ नेतृत्वलाई नेतृत्व विकासका विषय तथा जेसी भईसकेपछि निभाउनु पर्ने भूमिकामा बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सताक्षीधाम जेसीजका बर्ष २०१६ का अध्यक्ष रोसन सुवेदी, सल्लाहकार भिमकुमार नेवार, कुमार श्रेष्ठ, रुद्र चापागाई, ध्रुव ओली लगायतको आतिथ्य रहेको थियो ।